ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट उपप्रमुखमा बाबुराज बज्राचार्य उम्मेदवार छन् । सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार ललितपुर महानगरमा प्रमुख नेपाली काँग्रेसका चिरिबाबु महर्जन र उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का बाबुराज बज्राचार्य प्रत्यासी छन् । उपप्रमुख पदमा उम्मेदवारी दिएसँगै बज्राचार्यले चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । उनै बज्राचार्यसँग चुनावी कार्ययोजनाको बारेमा गरिएको कुराकानीको सम्पादित अंशः
तपाई ललितपुर महानगरपालिकाको उपमेयरको उम्मेदवार किन ?
म यहीको बासिन्दा । लामो समय यही राजनीति गरें । यहाँका स्थानीयलाई आइपर्ने कठिनाइमा सधैं नजिक भएर हातेमालो गरेँ । ललितपुरको राजनीतिक परिवर्तन र विकास निर्माणमा म चार दशकदेखि सहभागी हुँदै आएको छु । स्थानीय स्तरमा आफूले गरेको भूमिका र राजनीतिक पृष्ठभूमिका आधारमा मलाई पार्टीले उम्मेदवार बनाएको हो ।
तपाईलाई महानगरवासीले उपमेयर किन बनाउने ?
म ललितपुरकै विकास र परिवर्तनको लागि लड्दै आएको एउटा सिपाही हुँ । म १२ वर्षको उमेरदेखि नै बहुदलीय व्यवस्थाको लागि निलो झण्डा बोकेर हिडेको व्यक्ति हुँ । सानै उमेरदेखि सामाजिक र राजनीतिक क्षेत्रमा लागेको थिएँ । पार्टी र समाजको तल्लो तह र तप्कामा बसेर अनवरत खटिइरहेको छु । मैले २०३५ सालयताका राजनीतिक घटनाक्रममा प्रत्यक्ष रुपमा सामेल हुँदै आएको छु । २०४५ सालमा म तत्कालीन ललितपुर नगरपालिकाको नगर कमिटीको सदस्य बनें । २०४६ को जनआन्दोलनमा नगर कमिटीको सल्लाहकार बनेँ । त्यतिबेला कमिटीको प्रचार प्रसार विभाग सम्हालेको थिएँ । त्यस्तै, नेपाल भ्रमण वर्ष १९९८ मा पनि नगरपालिकाको सचिवालय सदस्य भएर काम गरेँ । २०४९ सालको स्थानीय तहको निर्वाचनमा वडा नं. १८ को सदस्य भएँ । त्यतिबेला म नेकपा एमाले र तत्कालीन मालेबाट राजनीतिक प्रतिनिधित्व जनाएको थिएँ । त्यसपछि २०५३ सालदेखि २०५६ सालसम्म तत्कालीन ललितपुर नगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको स्वकीय सचिव बनेँ । त्यहाँ मलाई काम गर्ने सहज वातावरण भएन । त्यसपछि मैले २०५६ सालमा उक्त स्वकीय सचिवको काम छाडिदिएँ । अनि माओवादीसँग नजिक हुन पुगेँ ।
तपाई एमाले र तत्कालीन माले पार्टीमा बसेर लामो समय काम गरेपछि नेकपा माओवादीमा किन प्रवेश गर्नुभयो ?
तत्कालीन ललितपुर नगरपालिका प्रमुख बुद्धिराज बज्राचार्यको सचिवालयको काम छाडेपछि म माओवादी सर्कलका नेतासँग संगत बढाउन थालेँ । उनीहरु पनि मलाई नजिक ठान्न थाल्नुभयो । मलाई पार्टी प्रवेश गर्न आग्रह गर्नुभयो । २०५६ सालमा म माओवादीमा प्रवेश गरँे र २०५७ सालमा सदस्यता पनि लिएँ । म २०५६ सालमा माओवादीमा प्रवेशको केही समय अर्ध भूमिगतजस्तै बनेँ । २०६२/०६३ को जनआन्दोलनपछि प्रचण्ड भूमिगत जीवनबाट बाहिर आएपछि माओवादीको पहिलो बैठक पाटनस्थित मेरो घर बुवहालमा बसेको थियो । त्यतिबेला नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तीन दिने बैठक बसेको थियो । भूमिगत अवस्थाबाट बाहिर आएपछि बाबुराम भट्टराईले मेरो घरबाट पहिलोपटक अन्तर्वार्ता दिनुभएको थियो । त्यतिबेला म पनि भटट्राईको साथमै थिएँ ।
राजनीतिक र सामाजिक संगठनमा आवद्ध हुनुको कारण के हो ?
मैले पाटन क्षेत्रका थ्रुपै संघ संगठनमा बसेर काम गरेँ । २०५६ सालमा मैले नेवाः खल कमिटीमा बसेर काम गरेको थिएँ । तर त्यो कमिटीको काम कारबाही भने मलाई त्यति याद छैन । मैले पार्टी र समाजको विभिन्न तहमा बसेर भूमिका निभाउँदै आएको छु ।
तपाई पार्टीमा अहिले कस्तो भूमिकामा हुनुहुन्छ ?
हाल म पार्टीको महानगर कमिटी अध्यक्ष पनि हुँ । माओवादीमा प्रवेश गरेपछि मैले नेवाः राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य र महानगर अध्यक्ष पनि भएर काम गरेँ । २०७० सालमा म माओवादी केन्द्रको महानगर कमिटीको अध्यक्ष भएँ । त्यसपछि पार्टी एकता र गठबन्धनपछि म जिल्ला कमिटीको सदस्य भएँ । २०७८ सालको कमिटीको निर्वाचनमा म पुन निर्वाचित भएर नगर कमिटी अध्यक्ष बनँे ।
तपाई पार्टीमा लागेको र समाजमा सक्रिय र काम गरेको धेरै समय भएछ, तर जनप्रतिनिधि बन्न यो भन्दा अघि किन उम्मेदवार बन्नु भएन ?
यो पटक धेरैको साथ र हौसलाले म उपमेयरको उम्मेदवार बनेको हुँ । यो भन्दा अघिको बागमती प्रदेश सभा चुनावमा पनि म सदस्यमा आकांक्षी थिएँ । तर एमालेसँग गठबन्धन भएपछि ओलीले आफ्नो घर व्यवहारमा समस्या हुने भएको भन्दै मलाई त्याग्न आग्रह गरेपछि मैले त्यागेँे । त्यतिबेला एमालेका ज्ञानेन्द्र शाक्य निर्वाचित भए ।
उम्मेदवारी दिएर जित्न सक्छु भन्ने आधार के छ ?
यहाँ लामो समय काम गरेको अनुभव नै जित्छु भन्ने आधार हो । मैले आजसम्म यस क्षेत्रमा गरेको कार्य र भूमिकाको निष्कर्ष चुनावमा निस्कने छ ।
तपाई समाजसेवा र राजनीति दुवै क्षेत्रमा सक्रिय व्यक्ति, यी क्षेत्रलाई तपाई कसरी लिनुहुन्छ ?
मेरो बुझाइमा राजनीति र समाजसेवा दुइटा पाटो हो । यद्यपि मैले यी दुवैलाई सँगसँगै अघि बढाएँ । न त समाजसेवामा कमजोर देखिएँ न त स्थानीय राजनीतिमा नै । मलाई समाजमा राजनीतिक र समाजसेवी दुवै व्यक्तिका रुपमा चिन्छन् । समाजमा काम गरेको व्यक्तिले त्यो समाजको नेतृत्व पनि गर्न पाउनु पर्छ भन्ने मान्यता मेरो हो ।
२०४९ सालको स्थानीय तहमा एमालेबाट वडाध्यक्षको टिकट तपाईलाई दिइएको थियो तर त्यतिबेला तपाईको उमेर नपुगेका कारण त्यसै छाडिदिनु प¥यो होइन ?
हो, २०४९ सालको स्थानीय तहमा एमालेबाट वडाध्यक्षको टिकट मलाई भाग लागेको थियो । तर त्यतिबेला मेरो उमेर २४ वर्ष मात्रै पुगेको थियो । त्यसैले आएको अवसर पनि गुमाउनु प¥यो । वडाध्यक्ष बन्नको निम्ति त्यतिबेला २५ वर्षको पुग्नु पर्दथ्यो । त्यसबेला मैले उक्त वडाको टिकट ज्ञानेन्द्र शाक्यलाई दिएँ । त्यस्तै २०५४ सालमा पनि मैले तत्कालीन ललितपुर नगरपालिकाको १८ नम्बर वडामा वडाध्यक्ष दाबी गरेँ । म र ज्ञानेन्द्र मध्ये को उम्मेदवार बन्ने भन्नेबारे रस्साकस्सी नै चल्यो ।
तपाईले राजनीति र सामाजिक क्षेत्रमा लाग्नुअघि हस्तकला व्यवसाय गर्नुहुँदो रहेछ ? राजनीतिमा लाग्नलाई किन व्यवसाय नै छाड्नुभएको ?
हो, म राजनीतिमा लाग्नुअघि मेरो व्यवसाय थियो । मैले हस्तकलाको व्यवसाय गर्थे । राजनीतिमा लागेपछि उक्त व्यवसाय पनि चौपट बन्यो । राजनीतिक र समाजिक काममा व्यस्त हुन थालेपछि मैले व्यवसाय छाडेँ ।
तपाई सानैदेखि राजनीतिक क्षेत्रमा लागेको व्यक्ति, राजनीतिप्रति किन यति ठुलो मोह ?
२०३६ सालको कुरा हो म भर्खर १२ वर्षको थिएँ । उमेर सानै भए पनि मैले त्यतिबेला सिद्धिलाल सिंहलाई बुझ्न र जान्न भ्याइसकेको थिएँ । म उहाँको फ्यान नै थिएँ । सिद्धिलाल भाषण वा कार्यक्रम छ भन्ने सुन्नेबित्तिकै म हेर्नलाई पाटनतिर पुग्थँे । २०३६ सालको कुरा हो, सिद्धिलाल अब बाहिर आउने भने भनेर हल्ला चल्यो । म पाटनको भिमसेन मन्दिर पुगेको थिएँ तर त्यतिबेला नराम्ररी लाठी खाएँ । केटाकेटी उमेरमा लाठी खाएपछि मलाई झन् राजनीतिमा लाग्ने जोस जाग्यो । त्यसपछि झन् म राजनीतिक कार्यक्रममा हिड्न थालेँ । एकदिन गाःवहालको पानी ट्यांकीमा तुलसीलाल र सिद्धिलालले भाषण दिए । उनीहरु दुई मिनेट आएर भाषण दिएर गायब भइहाले । त्यतिबेला म भाषण सुन्न त्यहाँ पुगेको थिएँ । मेरो राजनीतिक इच्छा यी दुई व्यक्तिलाई देखेर आएको हो । यी दुवैको भाषण सुन्दा अब राजनीति गर्नुपर्छ भन्ने लागेको थियो ।
कसरी सम्झिनु हुन्छ विगतलाई ?
मैले २०४० सालदेखि समाजसेवाको यात्रा सुरु गरेँ । म बौद्ध बिहार संघमा ६ वर्ष काम गरे (२०६४ देखि २०७० सम्म) । त्यस्तै अक्षश्वर महाविहारमा पनि ६ वर्ष काम गरँे । हाल यशोधर महाविहार टोलमा १७ वर्षदेखि निरन्तर रुपमा मैले नेतृत्व गर्दै आइरहेको छु । म बुद्ध जयन्ती टस कमिटीको सदस्य र नेको जात्रा मतयाको सल्लाहकार हुँ । म बौद्ध विहार र अक्षश्वर विहारको संरक्षकको रुपमा रहेको छु ।
ललिपतुर पाटन क्षेत्रका संस्कृति संरक्षणमा तपाईले कस्तो भूमिका निभाउँदै आउनु भएको छ ?
मलाई नेवारी संस्कृति र सम्पदाको राम्रो ज्ञान छ । पाटन क्षेत्रका सांस्कृतिक पर्वहरु सञ्चालन र संरक्षणमा म लाग्दै आइरहेको छु । मेरै सक्रियतामा पाटन क्षेत्रका १३ वटा विहार निर्माणाधीन अवस्थामा रहेका छन् । त्यसमध्ये केहीको काम सकिएको छ । मैले नै १४ करोड बजेट माग गरेर सम्पदा क्षेत्रमा खर्च गरेको छु । सांस्कृतिक प्रशिक्षणको लागि रकम पनि हामीले तोकेको छौं । नीतिगत रुपमा नै पर्यटक आउँदा उठेको रकम सम्पदा पूर्वाधार निर्माणमा खर्च गर्ने भनेर यसअघि निर्णय पनि गरेका थियौं ।
तपाईले चुनाव जित्नु भयो भने पाँच वर्षमा के के गर्नुहुन्छ ?
मैले लामो समय पाटन क्षेत्रमा सामाजिक काम गर्दै आएँ । यहाँको विकास निर्माण, सम्पदा संरक्षण र पूर्वाधार क्षेत्रको बारेमा पनि म अवगत छु । हिजोको दिन हुन नसकेका नयाँ एजेण्डा मैले अघि सारेको छु । समग्रमा भन्दा ललितपुर सुहाउँदो विकास गर्ने मेरो लक्ष्य छ ।
प्रस्तुति : रामहरि कार्की