काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले लेनदेन केस मिलाई दिने भनी सेवाग्राहीसँग ३८ हजार घुस लिएका थिए । घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले उनलाई गत ६ बैशाखमा पक्राउ गरेको थियो ।
अनुसन्धानको सिलसिलामा गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद् व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई पदीय हैसियतको दुरुपयोग गरी लेनदेनको मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग रु.३८,०००।–घुस÷रिसवत लिएको पुष्टि हुन आएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएकोले निज प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई विगो रु.३८,०००।– (अठ्तीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई आइतबार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।