काठमाडौं । श्रीलंकामा सरकार समर्थक र विरोधीबीच हिंसात्मक झडप भएको छ । उक्त झडपका क्रममा सत्ताधारी दलका एक जना सांसदले आत्महत्या गरेका छन् ।
बीबीसीका अनुसार सत्ताधारी दलका सांसद अमरकीर्ति अथुकोरालले सोमबार सुरुमा सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएपछि आफूले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् । यो घटना राजधानी कोलम्बोको बाहिरी इलाकामा भएको हो ।
प्रहरीले अमरकीर्तिले निट्टामबुआमा उनको कार रोक्ने कोसिस गरेका दुई जनामाथि गोली चलाएको समाचार एजेन्सीले जनाएको छ । उनले हानेको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
बीबीसीका अनुसार आक्रोशित भिडबाट जोगिने प्रयासमा उनी नजिकको एक भवनमा लुकेका थिए । सो भिडले उनी लुकेको भवनलाई घेरा हाल्यो । त्यसपछि उनले आफैंलाई गोली हानेका थिए ।
श्रीलंकामा सोमबार सरकार समर्थक र विरोधीबीच झडप हुँदा पाँच जनाको मृत्यु र १३८ जना घाइते भएका छन् । यसैबीच श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन् ।
श्रीलंकामा आर्थिक संकट चुलिएपछि आक्रोसित नागरिक अभावबाट गुज्रिरहेका छन् । उनीहरुले सरकारविरुद्ध दिनहुँ विरोध प्रदर्शन गर्दै आएका छन् ।