Logo
Logo

जेठदेखि विद्यालयमा पनि सातामा दुई दिन बिदा


504
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठदेखि विद्यालय आइतबार बिदा दिने निर्णय गरेको छ ।

मन्त्रालयले बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर आइतबार पनि बिदा दिने निर्णय गरेको हो । गत वैशाख १३ गते मन्त्रिपरिषद् बैठकले जेठदेखि सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

शिक्षा मन्त्रालयले सोमबारदेखि शुक्रबारसम्म १० बजेदेखि ४ बजेसम्म विद्यालय समय कायम गरेर वार्षिक २० दिन अन्य बिदा कटौती गरे पाठ्यक्रम तोकेको पाठ्यघण्टा पूरा गर्न सकिने निष्कर्ष निकालेको छ ।

स्थानीय तहले आफू अनुकूल बर्खे, हिउँदे, स्थानीय, दसैं, तिहारलगायत चाडपर्व बिदाको दिन विद्यालय खोलेर पठनपाठन गराउन सक्ने मन्त्रालयले जनाएको छ । हिउँदे, बर्खे गरेर ४५ दिन र स्थानीय बिदा ५ दिन दिइँदै आएको छ ।

माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहले पाएपछि यी बिदालाई पालिकाहरुले आफू अनुकूल प्रयोग गर्दै आएका छन् ।

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई पठाएको पत्रको पूर्णपाठ

विषयः सार्वजनिक बिदा र शैक्षिक सत्रको व्यवस्थापन सम्बन्धमा ।

श्री शिक्षा विकास तथा समन्वय इकाइ (सबै)

प्रस्तुत विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विद्यालय शिक्षा शाखा) को च. नं. ३८३ मिति २०७९।०१।२७ को प्राप्त पत्रबाट नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७१।०१।१३ मा परीक्षणको रुपमा मिति २०७९ जेठ १ गते देखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएकाले र सो निर्णय कार्यान्वयनको सन्दर्भमा शिक्षण संस्थामा हने क्रियाकलापलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तथा विदा सम्बन्धी निर्णय कार्यान्वयनमा एकरुपता कायम गर्न समेत देहाय बमोजिम हुने गरी गर्न गराउन मिति २०७९।०१।२७ (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार लेखी आएकाले देहाय अनुसार गर्नका लागि आवश्यक समन्वय एवम् सहजीकरण गर्नु हुन निर्देशानुसार अनुरोध छ ।

तपसिल

१. विद्यालयहरुले साविक बमोजिम नै विहान १०ः०० बजे देखि अपरान्ह ४ः०० बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्ने ।

२. शुक्रबार दिनको १ः०० बजेसम्म पठनपाठन सञ्चालन हुँदै आएकोमा सो दिन पनि अन्य दिनहरुमा जस्तै अपरान्ह ४ः०० बजेसम्म पठनपाठन सञ्चालन गर्ने गराउने ।

३. राष्ट्रिय पाठ्यक्रम प्रारुप– २०७६ ले निर्दिष्ट गरे बमोजिमको पाठ्यघन्टा र कार्यघन्टामा नघट्ने गरि पठनपाठनका कार्यहरु सञ्चालन गर्नका लागि आइतवार सार्वजनिक विदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा बर्षे वा अन्य विदाबाट कटाई पूर्ति गर्ने । यसो गर्दा वर्षभरिमा अधिकतम ३० दिन सम्म एकैपटक वा पटक पटक गरेर विदा दिन सकिने गरी स्थानीय तहले विदा समायोजन गर्ने ।

४. विद्यालयहरुले यसै अनुसार बार्षिक क्यालेण्डर तयार गरी कार्यान्वयन गर्ने गराउने ।

बाधार्थ/कार्यार्थ श्री स्थानीय तह (सबै) श्री विद्यालयहरु (सबै)

रामचन्द्र शर्मा
निर्देशक

प्रतिक्रिया दिनुहोस्