काठमाडौं । उपत्यकाबाट मात्र नौ हजार ६ सय प्रहरी उपत्यका बाहिरका विभिन्न जिल्लामा खटिएका छन् । प्रहरी प्रधान कार्यालय र प्रत्यक्ष मातहत रहने निकायबाट करिब पाँच हजार र उपत्यका प्रहरी कार्यालय मातहतबाट चार हजार ६ सय जनशक्तिलाई थप जनशक्ति अपुग जिल्लाहरुमा पठाइएको छ ।
प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, विभिन्न गणहरु, संगित बिद्यालय, सिआइबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लागु औषध नियन्त्रण ब्यूरो, साइबर ब्यूरो, मानब बेचबिखन अनुसन्धान ब्यूरो लगायत निकायमा करिब १० प्रतिशत जनशक्ति मात्र राखेर चुनावमा खटाइएको छ । उपत्यकाका तीन जिल्लाबाहेक अन्य सबै जिल्लामा थप मद्दतमा खटिएका छन् ।
मधेसमा मात्र चार हजार थप प्रहरी
समग्रमा ९ हजार ७ सय ६६ प्रहरीलाई थप मद्दतमा खटाइएको गृह स्रोत बताउँछ । कर्णाली र सुदुरपश्चिम प्रदेशको हकमा भने त्यहाँ कार्यरत जवान तथा हवल्दारको संख्या बढी भएकाले अन्य प्रदेशमा खटाएर त्यहाँ जुनियर तथा सिनियर प्रहरी अन्य प्रदेशबाट लगिएको छ । कर्णालीबाट सात सय ५४ तथा सुदुरपश्चिमबाट एक सय ६५ जवान तथा हवल्दारलाई अन्य प्रदेशमा खटाइएको हो । सबैभन्दा धेरै मधेस प्रदेशमा तीन हजार नौ सय २६ प्रहरीलाई थप मद्दतका लागि पठाइएको छ । मेधसमा मतदानस्थल धेरै भएको र संवेदनशील मतदानस्थल पनि धेरै भएकाले त्यहाँ थप मद्दतका लागि धेरै प्रहरी खटाइएको हो ।
सप्तरीमा ५ सय ९३, सिराहामा तीन सय ४७, धनुषामा चार सय १०, महोत्तरीमा दुई सय ८, सर्लाहीमा ६ स ८५, रौतहटमा पाँच सय ७४, बारामा ६ सय २२ तथा पर्सामा ३७ जना थप मद्दतका लागथ प्रहरी खटाइएको छ ।
विमानस्थल र कारागारमा सेना
देशभरीका विमानस्थल र कारागार कार्यालयको सुरक्षा जिम्मेवारी सेनाले लिएको छ । त्यहाँ कार्यरत करिब दुई हजार प्रहरीलाई निकालेर चुनावमा खटाई त्यहाँ सेनालाई जिम्मेवारी दिइएको हो ।
न्यूनतम जनशक्ति मात्र राखेर बाँकीलाई चुनावमा खटाइएको हो । करिब दुई साता विमानस्थल र कारागारको सुरक्षामा सेना खटिएको छ ।
निर्वाचनका लागि करिब ७१ हजार सैनिक तयारी अवस्थामा छन् । सेनालाई प्रहरीको सहयोगीको रुपमा सरकारले खटाउँदैछ । सेनाले निर्वाचनमा पट्रोलिनङ र स्ट्राइकिङ गस्ती गर्नेछ ।