यतिबेला काठमाडौंको वातावरण उकुसमुकुस छ । चर्को घाम, बादल र वर्षाका बीच बालेन शाहको चर्चाले सिर्जना सिंह र केशव स्थापितको जग हल्लाएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार सिंह र एमालेका उम्मेदवार स्थापितले ल्याएको मतभन्दा बालेन एक्लैले ल्याएको मतको छुट्टै अर्थ छ ।
बालेनको मतले आजको युवाको सोचलाई प्रतिनिधित्व गरेको छ । राजनीतिक विकृति, विसंगतिविरुद्ध ‘लौरो’ ठडिएको छ । यो मत राजनीतिक दलहरुका लागि चुनौती हो ।
राजनीतिमा हार, जीत स्वभाविक भए पनि राजनीतिक दलहरुले आफूलाई सुधार्न सकेनन् भने स्वतन्त्ररुपमै युवा राजनीतिक दलका लागि चुनौती बनेर आउँछन् भन्ने शिक्षा पनि हो ।
नेपाली कांग्रेसले बिपी कोइरालाको र नेपालका कम्युनिष्टहरुले पुष्पलालको नाम बेचेर राजनीति गर्ने जमाना गयो । बिपी र पुष्पलालले जुन उद्देश्यले पार्टी स्थापना गरेका थिए, त्यो उद्देश्य प्राप्तिका लागि कांग्रेस र कम्युनिष्टहरु किन विफल भए भन्ने कुराको समीक्षा पनि गर्नुपर्छ ।
बालेनको मतले आजको युवाको सोचलाई प्रतिनिधित्व गरेको छ । राजनीतिक विकृति, विसंगतिविरुद्ध ‘लौरो’ ठडिएको छ । यो मत राजनीतिक दलहरुका लागि चुनौती हो ।
बिपी र पुष्पलालका लागि राजनीति भनेको त्याग, बलिदान, आदर्श र नैतिक शिक्षा थियो । त्यही शिक्षाबाट उदाएका आजका उनका अनुयायीहरु भ्रष्ट, बिचौलिया, माफियामा परिणत भएका छन् ।
राजनीति सेवा हो भन्ने आदर्श बिर्सिएर राजनीतिलाई कमाइखाने भाँडो बनाइरहेका छन् । त्यसैले नेताहरुबाट काठमाडौंवासी पीडित छन् ।
महंगी, भ्रष्टाचार, कमिशनतन्त्र, बढ्दो प्रदूषण आदि कारणले काठमाडौं उकुसमुकुस बनेको छ । त्यसबाट मुक्ति पाउन विगतमा कांग्रेस, कम्युनिष्टलाइ भोट हाल्ने जमातको रोजाइ अहिले ‘लौरो’ बनेको छ । ‘लौरो’बाट कांग्रेस–कम्युनिष्टका उम्मेदवार तर्सिएका छन् ।
विगतमा पनि स्वतन्त्र उम्मेदवारहरुले ‘विद्रोह’को आगो नओकलेका होइनन्, तर तिनको त्यो आगोलाई निर्वाचित दलका जनप्रतिनिधिहरुले वास्ता गरेनन् ।
निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचनमा जे गर्छु भनेर जनतासँग वाचा गरेका थिए, त्यसपछि तिनीहरु पनि ‘जुन जोगी आए पनि कानै चिरेका’ जस्तै भए । यो राजनीतिक विकृति हो ।
राजनीतिमा विकृति, विसंगति नमौलाओस् भन्ने चेतावनी दिनकै लागि ‘लौरो’ले राजनीतिक दलका नेता, कार्यकर्ताहरुलाई खबरदार गरिरहेको छ ।
दलीय राजनीतिमा स्वतन्त्र उम्मेदवारहरुले जित्ने सम्भावना कम भए पनि आगामी दिनमा राजनीतिक दलले आफूलाई सच्याउन सकेनन् भने जनता ‘लौरो’ लिएर उठ्ने छ ।
बालेनले जितुन् वा हारुन् त्यो बेग्लै कुरा हो । तर, उनले राजनीतिक विकृति र विसंगतिविरुद्ध जुन ‘लौरो’ उठाउने हिम्मत गरे, जसलाई युवाले साथ दिए– त्यो नै उनको विजय हो ।