Logo
Logo

टेलिकमका फोरजी सेवाका ग्राहक एक करोडभन्दा बढी


378
Shares

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या एक करोडभन्दा बढी पुगेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार एक करोड ४ लाख २१ हजार ९७६ पुगेको हो ।

यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार ७८५ भएकामा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक रहेको छन् । अघिल्लो महिना अर्थात २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको टेलिकमले जनाएको छ ।

टेलिकमले नेपालमै पहिलोपटक २०७३ पुस १७ गतेबाट काठमाडौं र पोखराबाट सुरु गरेको फोरजी÷एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ । फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिमकार्ड पनि सेवा चल्ने हुनुपर्ने र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी रहेको छ । ्

कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक छ । मोबाइल सेट खरिद गर्दा उक्त सेटको प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी थाहा पाउन सकिन्छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्ने टेलिकमको भनाइ छ ।

मोबाइल इन्टरनेटको क्षेत्रमा एलटिई फोरजी प्रविधि मोबाइलमार्फत उच्च गतिको इन्टरनेटका साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा पनि उपयोग गर्न सकिने अत्याधुनिक प्रविधि हो । यसबाट तीब्र गतिको इन्टरनेट प्राप्त हुने भएकाले गुणस्तरीय श्रव्य–दृश्य सामाग्री, गेमलगायत बढी ब्याण्डविथ आवश्यक हुने सामग्रीहरु सजिलै प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्