काठमाडौं । नबिल बैंकको हालै सम्पन्न विशेष साधारणसभाले नेपाल बंगलादेश बैंकलाई एक्विजेशन (प्राप्ति) गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
नेपाल बंगलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मूल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार नेपाल बंगलादेश बैंकका शेयरधनीहरुले नेपाल बंलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।
उक्त साधारणसभाले नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले प्राप्ति गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मूल्यांकनकर्ता पिकेएफ टीआर उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन समझदारीपत्र तथा अन्तिम सम्झौता पत्रलगायतका सम्पूर्ण काम कारबाहीहरुलाई अनुमोदन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
२०७८ चैत मसान्तको बित्तीय विवरणअनुसार बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पूँजी रू. २२ अर्ब ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम रू ३०९ अर्ब र निक्षेप रकम रू. ३२० अर्ब पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार रू. १४५ अर्ब पुग्नेछ ।
प्राप्तिपश्चात नबिलको शाखा सञ्जाल वृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी नौ महिनाको संयुक्त खुद मुनाफा रू चार अर्ब ४६ करोड हुने जनाएको छ । नबिल बैंकले बजारमा आफ्नो नविन सेवा र थप शाखा सञ्जालमार्फत नयँ रणनीतिअनुसार बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने भएको छ ।