दूधभात खाने सेरोफेरोमा नेपालको राजनीति अनवरत गोल चक्कर लगाइरहेको छ । दोहरिँदै आएको खेल यत्ति हो । बाँकी कुरा सब तपसिलमा पारिएको छ । मूलतः खेल यत्तिमा सीमित पारिएको छ ।
अबको नेपालमा दूधभात खाने लालमोहरीया आफूलाई घोषित गरेका छन् यिनले । यहाँनिर झट्ट सम्झिन पुगे भानुभक्त भन्दा करिब ७० वर्ष पछिका आशु कवि शम्भुप्रसाद ढुङ्गेलका यी हरफहरू –
‘चौलानीमा छोरा तिमीले दूधको तृप्ति मान्नै पर्ला ।’
हिजो आफ्नै साथी जिम्वालको छोराले दूध खादा आफू चौलानीलाई दूध मानेर हेर्नु पर्दाको विद्रोही भावनाले फेला पारेको रोम्यानटिसिजम हुँदै जेल वा सुरुङबाट निस्कन सक्नु नै पर्याप्त कारण ठान्छन् यी । दूधभात खाने राजनीतिक वैधानिकताको स्रोत नै यसलाई ठानेका छन् ।
राजनीति यसरी रूपान्तरण भएको छ जनजीविकाको लागि । खेलाडीहरूले टिम परिवर्तन गर्छन् राष्ट्रियता संरक्षण गर्न र जनजीविकाको कुरा रुपान्तरण गर्ने नाममा । आँखा चनाखा केवल दूधभात कसरी खाने भन्नेमा छ ।
दूधभात खाने प्रतिस्पर्धा गरिरहेका यी ‘क्लाउन’ अर्थात् जोकर या लबर पाडेँहरूले मालिक रिझाउने र हसाउने काममा झन् दक्षता हाँसिल गर्दै आएका छन् ।
र, दूधभात खानको लागि केही दूधभात सहयोग गर्नेलाई पनि खुवाउने, चटाउने गर्दछन् । यसभित्र नेतादेखि प्रणेतासम्म पर्दछन् । उद्योगपतिदेखि घरपतिसम्म । व्यभिचारीदेखि कर्मचारी । त्यसैगरी पत्रकारदेखि अलपत्रकारसम्म जो दूधभात बनाउन सम्लग्न छन् ।
दूधभात बनाउने वा त्यस कार्यमा सहयोग गर्नेहरू जतिसुकै ठूलो अपराध गरे पनि अपराधी ठहरिँदैनन् । अभियुक्तसम्म बन्न सक्लान् । अन्ततः फासफुस या तामेलीमा राखिन्छन् ।
कसैको कुनै कित्ता छैन– विचारको, दृष्टिकोणको या सोचको । छ एउटै सेरोफेरो सत्ताको । त्यसको घरझगडमा पनि आइलाग्ने दूधभात मिलेरनै खान्छन्, जस्तो वाइडबडीको । यो फर्मुलाले सबलाई चुपचाप पार्दछ ।
अरूको तैनाथमा नभएर आफैले दूधभातमा हालीमुहाली गर्न बदलिँदो आकाशको बादल जस्तो हुन यी । कुन वेला कालो निलो हुन्छन् कुन वेला राजनीतिक आकाशमा गर्जिन्छन् त्यसको कुनै ठेगान हुँदैन । सम्भावनाको खेल भनेर लटपटिन्छन् या लटपटाऊ छन् ।
जतिचोटी मिल्नु परे पनि, धोका दिनु परे पनि या छुट्टिनु परे पनि, तथानाम गालीगर्नु परे पनि, भ्रष्टाचारको किटानी दस्ताबेज दर्तागर्नु परे पनि, यी तम्तयार छन् । समग्रता यत्ति नै हो ।
दूधभात कसरी खाने ? सीधा उत्तर हो राज्य दोहन गरेर । कसरी गर्ने ? जनतालाई सपना बेच्ने अनि बिपना जति सुरसाको मुख बाएर आफै खाने । र, सबैलाई भन्ने, सुनाउने– जन्मेकै जनताको लागि, बाचेकै जनताको लागि । त्यसैले जे गरे पनि त्यो जनताको लागि । हर भोजन जनताको हक–हितको लागि हो– अग्रगमन र समाजवादको लागि ।
यस्तो मट्टारे खेलको आहालमा डुबेर देशलाई नै उग्राउन पाइँदैन भनेर कसैले आवाज उठाउने बित्तिकै त्यसलाई प्रतिगामी भनेर लखेट्ने काम सुरु हुन्छ । कसैले अझ पनि साहस गर्यो भने ‘नो भोट’ या नानीमैया’ भनेर पन्छ्याउने चेष्टा गर्दछन् । दललाई बाइपास गर्न खोजियो रिमोट कन्ट्रोलबाट भनेर कोकोहोलो गर्छन् । यो कस्तो निकृष्टता ! यति हुँदाहुँदै पनि दूधभात राजनीतिविरुद्ध मुलुकभरि नै स्वतन्त्र उम्मेदवार त आएका छन् । सबै बालेनहरू होइनन् ती । दलभित्रकै बगाबती पनि हुन् । तर दूधभात राजनीति विरुद्धको आवाज त निश्चित रूपमा हो ।
यो खेलमा तास फिटेको जस्तो गरेर राजनीतिलाई फिटेर जोकर निकाल्न प्रहसन गर्न सक्ने नेताहरूमा ओली अग्रस्थानमा छन् । जोकर बन्न सक्नु धेरै ठूलो खुबी हो ।
क्लाउन मानव इतिहाससँग अभिन्नरुपमा गाँसिएको छ– धर्म, राजनीति र समाजसँग । हामीकहाँ हुने गाईजात्रा पर्व नै त्यसको प्रयोग हो । मूलतः सर्कसमा प्रयोग हुन्छन्, क्लाउन । साहित्यको अङ्ग हो यो । त्यस्तै फिल्ममा पनि । हिन्दी सिनेमामा राज कपुर सफल अभिनेता बन्न सकेको यो इमेज बनाउन सकेर नै हो । उनले त यसैको उत्सर्गमा सिनेमाको नाम नै राखे – मेरा नाम जोकर । त्यो सिनेमा त्यति वेला चल्न सकेन त्यो अर्कै कुरा हो । त्यसका कारणहरू पट्टि नजाऊ । सानो कुराको होसगर्न सकेन भने पनि सिनेमा फ्लप हुन्छ । यस्तै नै पारिएको छ राजनीति नेपालको । दूधभात खाने क्लाउनहरूको खेल ।
क्लाउन पनि तानाशाह बन्न खोज्छन् । क्लाउनको तानाशाह बन्ने के ह्याउ हुन्छ र ? वास्तविक तानाशाह बन्न धेरै गाह्रो हुन्छ । स्टालिन बन्यो या हिटलर बन्यो भनेर हुँदैन । वीपी कोइरालाले एक पटक मसँग भन्थे– विश्व इतिहासमा राजा भन्दा धेरै बढी तानाशाहहरू त कमनर अर्थात् साधारण मान्छे भएका छन् ।
हामीकहाँ त क्लाउन बनेकाहरूको प्रतिस्पर्धात्मक तानाशाही उन्मुख हैसियत त अन्तको अघोषित प्रोक्सी भएर त दूधभात खानको लागि मात्र छ । कोही वामपन्थी मिलाउने, कोही भत्काउने । कोही दक्षिणपन्थी मिलाउने । यस्तो भत्काउने र मिलाउने क्रमसँग आवद्ध दूधभात राजनीति नै मुलुकको नियति बनेको छ अहिले ।
स्थानीय निर्वाचन हुनु अगाडि ओलीले दुइटा कुरा भनेका थिए– प्रचण्डलाई ललकार्दै । पहिलो– वैशाख ३० गतेले देखाइदिनेछ– ‘हु इज हु’ भनेर । र, देखाइनै दिएको छ– अहिले ‘हु इज ह्वाट’ अर्थात्, ओलीको हैसियत ।
दोस्रो कुरा थियो– ‘जसले दूधभात बढी दिन्छ उसै पट्टी हुन्छ उ । अर्को पटक हामीले दूधभात दिन्छौँ ।’ त्यो ललकारयुक्त व्यंग्य अहिले आफैँप्रति व्यंग्य बनेको छ ओलीको लागि । त्यसैले वारुणयन्त्र दौडिएको जस्तो गरेर दौडिरहेका छन् ओलीका हनुमानहरू प्रचण्डकहाँ प्रधानमन्त्री बनिदेऊ भनेर ।
त्यति मात्र होइन मात्र २०७४ सालमा जस्तै गरी चुनाव लडेर प्रधानमन्त्री पदलाई निरन्तरता दिन । अदालतले जसरी तोडिदियो त्यसरी जोडिदिन पनि सक्छ । दौडधुप दूधभात खाने यात्राले निरन्तरता पाउनु पर्दछ भन्नेमा छ । त्यसलाई जे नाम दिए पनि हुन्छ । कम्युनिस्ट एकता वा समाजवादी यात्रा । तर, क्लाउनलाई त कसैले खेलाउनु पर्यो यो दूधभात खाने राजनीतिमा ।