Logo
Logo

१७ हजार प्रहरीलाई अन्याय


1154.3k
Shares

काठमाडौं । दिनमा १८ घन्टासम्म डिउटीमा खटिने सुरक्षाकर्मीलाई राज्यबाट सेवा सुविधामा भने सधैं कन्जुस्याई र अपमान हुँदै आएको छ । सुरक्षा निकायको समस्या नबुझ्ने गृह प्रशासन र राजनीतिक नेतृत्व तथा आफ्नो संगठनको बारेका सशक्त रुपमा लबिइङ गर्न नसक्ने प्रहरी नेतृत्वका कारण यस्तो समस्या बढेको छ ।

अवस्था कतिसम्म छ भने बढुवा भएको दुई महिना वित्दा समेत नेपाल प्रहरीका १७ हजार प्रहरीले अझै नयाँ पदको तलब पाएका छैनन् । प्रहरीको तल्लो तहमा बढुवाको समस्या रहेको भन्दै तीन नयाँ पद थपेर एकैपटक बढुवा गरिएको छ ।

थपिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दारमा १७ हजार प्रहरी बढुवा भएका थिए । बढुवा भएपनि उनीहरुको तलब भने एक रुपैयाँ पनि नबढ्दा बढुवा भएको अनुभुती गर्न पाएका छैनन् । ‘बेकारमा फुली किन्ने खर्च मात्र भयो,’ एक वरिष्ठ सइको गुनासो छ ।

गृह प्रशासन तथा नेपालको कर्मचारीतन्त्रको सुस्त कार्यशैलीका कारण पनि यस्तो अवस्था आएको छ । नयाँ दरबन्दी मिलानसँगै तलबमान पनि स्वीकृत गर्नुपर्नेमा त्यसो नगर्दा समस्या आएको हो । बढुवा गरिसकेपछि बल्ल तलबमान स्वीकृती प्रक्रिया अघि बढाइएको छ । त्यो सामान्य प्रशासनिक काम मात्र हो । तर, यो काम पनि डेढ महिनासम्म मन्त्रिपरिषद् पुग्न सकेको छैन । जसकारण बढुवा भएका १७ हजार प्रहरीमाथि अन्याय भएको छ ।

प्रतिक्रिया दिनुहोस्