काठमाडौं । चीनले एक चीन सिद्धान्तलाई धुमिल, अस्पष्ट र खोक्रो बनाउने दुष्प्रयास नगर्न अमेरिकासँग आग्रह गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसको हालैको टिप्पणीको प्रतिक्रियामा बेइजिङले त्यस्तो आग्रह गरेको हो । प्रवक्ता प्राइसले अमेरिकी नीतिलाई चीनले गलत ढङ्गले प्रस्तुत गरेको आरोप लगाएका थिए ।
सामाजिक सञ्जालमा प्राइसले अमेरिका तथाकथित ‘ताइवान सम्बन्ध ऐन, तीन संयुक्त विज्ञप्ति र छ वटा आश्वासनद्वारा निर्देशित रहेको, लामो समयदेखिको द्विपक्षीय सम्बन्ध र एक–चीन नीतिप्रति आफ्नो देश प्रतिबद्ध रहेको उल्लेख गरेका थिए । प्रवक्ता प्राइसको उक्त अभिव्यक्ति तथ्य र इतिहासलाई विकृत पार्ने प्रयास गरिएको प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता प्रवक्ता वाङ वेनबिनले १ चीन सिद्धान्त र शर्तको अमेरिकाले पालना गर्नुपर्नेमा जोड दिए ।
चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्वपूर्ण र संवेदनशील विषय ताइवान भएको उल्लेख गर्दै उनले ताइवान मुद्दाको मूलजड नै ‘एक चीन’ भएको स्पष्ट गरे । सन् १९७१ मा अमेरिकाले ताइवान मामिलामा नयाँ सिद्धान्तको परिपालना गर्ने प्रतिबद्धता व्यक्त गरेको, विश्वमा एक मात्र चीन रहेको तथा ताइवानलाई चीनको एक अभिन्न भागका रुपमा स्वीकार गर्दै ताइवान स्वतन्त्रता आन्दोलनलाई समर्थन नगर्ने वचन दिएको प्रवक्ता वाङले स्मरण गराए ।
सन् १९७८ मा जारी गरिएको चीन–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले ‘जनवादी गणतन्त्र चीनको सरकारलाई चीनको एकमात्र कानुनी सरकारको रूपमा मान्यता दिएको र चीन र ताइवान एउटै हुन् भन्ने चिनियाँ अडानलाई स्वीकार गरेको,’ उनले स्पष्ट गरे । उनले हालैका वर्षहरूमा अमेरिकी पक्षले एक चीन सिद्धान्तलाई अस्पष्ट र खोक्रो बनाउने प्रयास गरेको उल्लेख गरेका छन् ।
आफ्नो एक–चीन नीतिलाई परिमार्जन गर्न अमेरिकाले थप विवरण प्रयोग गरिरहेको जसमा यसको एकपक्षीय रूपमा मनगढन्ते ताइवान सम्बन्ध ऐन र छ वटा आश्वासन समावेश गरिएको बताए । ती ऐन र आश्वासनलाई चीनले कहिल्यै मान्यता नदिएको र त्यसको तीक्ष्ण रूपमा विरोध गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट गरे ।
चीन–अमेरिका सम्बन्ध राज्य–राज्यबीचको सम्बन्ध भएकाले त्यसलाई अमेरिकी पक्षले एकतर्फी रूपमा बनाएका नीतिबाट स्थापित नहुने वरु दुई पक्षले गरेको राजनीतिक सहमतिले मात्र निर्देशित गर्नसक्ने उनले प्रस्ट्याए ।