काठमाडौं । एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली बुधबार कतार जाँदैछ ।
कुवेतमा आयोजना हुने छनोट अघि तयारीका लागि नेपाली टोली कतार जान लागेको टिम व्यवस्थापक मधुसुधन उपाध्याय जानकारी दिए । टोली साँझ ६ बजे कतार प्रस्थान गर्ने छ ।
खेलाडीले कतारमा ९ दिन तयारी गर्नेछन् । टोलीलाई मंगलबार साँझ खेलकुदमन्त्री महेश्वर गहतराज, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई बिदाइ गरे । यसपटक कप्तान किरण चेम्जोङसहित ११ सिनियर खेलाडी टिममा छैनन् ।
किरण नभएपछि एन्फाले नवयुग श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ । छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपाली टोलीको गोलकिपरमा दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा छन् ।
डिफेन्डर विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल छन् । यसैगरी मिडफिल्डर आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्देम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी रहेका छन् ।
फरवार्डमा आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ रहेका छन् ।