काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज एकैदिन चारवटा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकले टोखा वडा नं. ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन नपा वडा नं. १ स्थित रानीवन चोक, रिङरोडको सितापाइला चोक र पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ ।
बुधबारदेखि सञ्चालनमा आएका नयाँ शाखामध्ये ग्रिनल्याण्ड शाखाको नेपाल सरकारका सचिव एवं नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल तथा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले संयुक्तरूपमा उद्घाटन गरेका थिए भने अन्य तीन शाखामा सफ्ट लञ्चसहित कारोबार सुरुवात गरिएको बैंकले जनाएको छ ।