काठमाडौं । अमेरिकन बियर ‘बडवाइजर’को नेपाल बिक्रेता राज ब्रुअरीले सन २०२२ को पाँच महिनामै कुल आम्दानीको ५० प्रतिशत बडवाइजर बियरबाट कमाएको छ ।
नेपाली बजारमा बडवाइजर बियरको बिक्री उल्लेख्य रुपमा बढेसँगै राज ब्रुअरीको आम्दानी पनि बढेको हो । बडवाइजरको बिक्रीबाट कम्पनीले २०२१ मा कुल आम्दानीको १२ प्रतिशत मात्र आर्जन गरेको थियो ।
चालु २०२२ को ८ महिनामा राज ब्रुअरीले ५५ करोड २० लाख रुपैयाँको कारोबार गर्ने अनुमान गरिएको छ । राजले २०२१ मार्चबाट बडवाइजर बियर आफ्नो पोर्टफोलियोमा थपेको होे ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिनज अन्तर्गतको राज ब्रुअरी प्रा.लि.ले २०२१ मा ६७ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।
२०१८ मा २६ करोड २० लाख रुपैयाँको कारोबार गरेको राजले २०१९ मा ४६ करोड र २०२० मा २८ करोड ६० लाख रुपैयाँको कारोवार गरेको थियो ।
राजले दुईवटा विदेशी बियर ब्राण्ड बडवाइजर र वार्सटाइनरका साथै तीनवटा स्वदेशी बियर ब्राण्डहरु नमस्ते, माउन्टेन आइस र हात्ती एट उत्पादन गर्ने गरेको छ ।
राजले युरोप, भारत र नेपाली सप्लायरबाट बियर उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दै आएको छ । देशभर एक सयभन्दा बढी डिलर आउटलेटबाट कारोवार गर्दै आएको राज ब्रुअरीको शतप्रतिशत सेयरस्वामित्व राजबहादुर शाहसँग रहेको छ ।