काठमाडौं । भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत कर्मचारीहरुले घुस मुद्दामा सफाई पाएका छन् । आठ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका प्रमुख गोविन्द अधिकारी लगायतलाई बिशेष अदालतले शुक्रबार सफाई दिएको हो ।
जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले दुई वर्षअघि मालपोत अधिकृत रघुवंश कंडेल, ना.सु. उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई घुससहित पक्राउ गरेको थियो ।
अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत उपसचिव गोविन्द प्रसाद अधिकारीकै मिलेमतो देखिएपछि उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । बिशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरु बलभद्र बास्तोला र खुशी प्रसाद थारुको इजलाशले सफाई दिएको हो ।