काठमाडौं । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा २०७९ जेठ १२ गते बिहीबारबाट चितवन जिल्लाको राप्ती नपा–८ जोरकुलामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
राप्ती नपा–८ जोरकुलास्थित सुप्रिया थोक तथा खुद्रा किराना पसल (प्रो. सोमप्रसाद अधिकारी)लाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । राप्ती नपा–८ का वडाध्यक्ष पूर्णप्रसाद आचार्यले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा वीरेन्द्रनगर साना सहरी खानेपानीबाट अम्बिका पाण्डेलगायत बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावको उपस्थिति थियो ।
शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।