काठमाडौँ । माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत चाँगुनारायण–३ भक्तपुरमा अवस्थित मानव कल्याण समाज संस्थालाई बीस थान बेड सिटलगायतका सामान हस्तान्तरण गरेको छ । बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेशका उपप्रमुख टीका ओझा र कमलविनायक शाखा प्रमुख उज्वल श्रेष्ठले उक्त सामान हस्तान्तरण गरेका थिए ।
मानव कल्याण समाजले बेवारिसे सडक मानवको रुपमा खुला आकाशमुनि आफ्नो जीवन व्यतित गरिरहेका विभिन्न उमेर समूहका वृद्धदेखि बालबालिका, शारीरिकरूपमा अशक्त व्यक्तिलाई उद्धार गरी उनीहरुको संरक्षण गर्दै आएको छ । समाजले हाल देशका विभिन्न स्थानमा रहेका ५ वटा शाखाबाट २०० भन्दा बढीलाई गाँस, बास, कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।
विभिन्न संघसंस्था एंव व्यक्तिहरुले स्वेच्छिकरुपमा प्रदान गर्दै आएको सहयोगबाट सञ्चालन भइरहेको मानव कल्याण समाजलाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो । यसअघि पनि बैंकले सामाजिक कार्यमा संलग्न विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटिएममार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावलाई सेवा प्रदान गर्दै आइरहेको छ ।