काठमाडौं । गृह मन्त्रालयले बाजुरामा प्रमुख जिल्ला अधिकारीसहित नेपाली प्रहरी र सशस्त्र प्रहरीका नयाँ प्रमुख पठाएको छ । बुढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनमा गम्भीर सुरक्षा लापरवाही गरेको भन्दै निर्वाचन आयोगको सिफारिसमा सिडिओसहित सुरक्षा अधिकारीहरू फेरिएको हो ।
बाजुराको नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा प्रकाशचन्द्र अधिकारीलाई पठाईएको छ । उनी अध्यागमन विभागमा कार्यरत थिए। यस्तै जिल्ला प्रहरी कार्यालय प्रमुखमा प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापा आएका छन्। उनी नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत थिए । यस्तै सशस्त्र प्रहरी प्रमुख डिएसपीमा टीकापुर तालिम केन्द्रमा कार्यरत गंगा पन्तलाई बाजुरा पठाइएको छ। उनीहरु तीनै जनालाई आइतबार सेनाको हेलिकप्टरबाट सदरमुकाम मार्तडी पुगेर जिम्मेवारी समहालेका छन् ।
यसअघि कार्यरत प्रजिअ उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डिएसपी चतुर्भूज ओझा र सशस्त्रका प्रमुख डिएसपी दिपक बिष्ट आइतबार नै जिल्लाबाट बाहिरिएका छन् । उनीहरुलाई कारबाहीको तयारी समेत भएको छ । बुढीगंगामा बुथ कब्जा भएको भन्दै सुरक्षाकर्मी नै मतदानस्थल छाडेर हिडेका थिए । सुरक्षा निकायकै लापरबाहीले त्यसरी बुथ कब्जा भएको निर्वाचन आयोगको छानबिनको निष्कर्ष थियो । सोही कारण सो नगरपालिकामा फेरि निर्वाचन गराउन लागिएको छ । चुनावको मिति भने घोषणा भएको छैन ।