काठमाडौं । एक नायिकासँग सात करोड रुपैयाँ असुल्ने र १–१ करोड बाँडेर लिने योजनामा रहेका सात जना गत साता पक्राउ परे । पत्रकारदेखि विप्लव समूहका कार्यकर्तासम्म समाबेश भएको यो समूहले सेक्स भिडियोका आधारमा ‘ब्लाकमेलिङ’ गरेको थियो । एक नायिकको गोप्य भिडियो फेला पारेपछि उनीसँग सात करोड माग्दै उनीहरूले नत्र सार्वजनिक गरिदिने धम्की दिएका थिए ।
स्रोतका अनुसार घटना आठ वर्षअघिको हो । त्यतिबेला ती नायिका सामान्य मोडल मात्र थिइन् । उनले आफ्नो ‘ल्यापटप’ बनाउन एक पसलमा दिएकी थिइन् । त्यही पसलका कामदारले ल्यापटप मात्र बनाइदिएनन् उनको गोप्य भिडियो पनि हात पारे । सोही भिडियो आफुलाई पत्रकार भनेर चिनाउने सुरज आचार्यसम्म पुग्यो । आचार्यले टिम नै बनाएर त्यसरी बार्गेनिङ गरेका हुन् ।
पक्राउ पर्नेमा आचार्यसहित टेक विक, धर्मराज थापा, उमेश भण्डारी, वसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की छन् । धर्मराज पूर्व एसएसपी बिक्रमसिंह थापाको नेपाल तारा नामक अनलाइनमा तथा बसन्ता खनाल ग्लोबल टिभीका कर्मचारी हुन् ।
स्रोतका अनुसार सुरुमा सो भिडियो सुरज र श्रवण कार्कीले ल्यापटप बनाउने क्रममा पाएका थिए । त्यही भिडियोलाई पैसा कमाउने आधार बनाएपछि उनीहरू समेत यतिबेला प्रहरी हिरासतमा पुगेका छन् ।
गिरोहका नाइके रहेका आचार्य यसअघि हिरा लुटपाट घटनामा जेल बसेर छुटेका हुन् । त्यतिबेला उनी आफुमात्र पक्राउ परेनन्, दुई प्रहरीलाई समेत पक्राउ गराए । यसपटक पनि उनले आफ्नो योजनामा केही प्रहरीलाई समेत समाबेश गर्ने प्रयास गरेका थिए ।
नायिका र आचार्यबीच पटक पटक भेटेर डिल समेत भएको थियो । नायिकाले केही लाख रुपैयाँ दिन तयार पनि भएकी थिइन् । तर, उनीहरूले सात करोड नै चाहिने बताएपछि उनी प्रहरीमा जान बाध्य भएकी हुन् । प्रहरीले भने पीडित व्यक्ति नायिका भएको विषयलाई गोप्य राखेको छ ।