काठमाडौं । मुस्ताङको थासाङको तारा एयरको विमान दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका २२ जनाकै शव फेला परेको छ । सशस्त्र प्रहरी बल, नेपाली सेना तथा नेपाल प्रहरीले तीन दिन लगाएर घटनास्थलमा खोज तथा उद्धार गरेका हुन् ।
मुस्ताङस्थित सशस्त्र प्ररी बलका ३३ नम्बर गुल्मका सशस्त्र प्रहरी तीन दिनसम्म घटनास्थलमा खटिएका थिए । दिनमा लगातार १६ घन्टासम्म खटिएर उनीहरुले खोज तथा उद्धार गरेका छन् । १० शव सोमबार ल्याइएकोमा थप १२ शव मंगलबार सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । विमान भिरमा दुर्घटनाग्रस्त भएकाले निकै मेहनत गरेर उद्धार गरिएको सशस्त्र प्रहरीको ३३ नम्बर गुल्मका एक अधिकारीले बताए ।