एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा एमाले हारको प्रमुख कारण ‘अन्तर्घात’ भनेर सबै दोष कार्यकर्तामाथि थोपर्न खोजे पनि एमाले कार्यकर्ताहरु त्यो कुरा पत्याउन तयार छैनन् ।
एमाले कार्यकर्ताले पार्टी विभाजन, ओलीको दम्भ नै हारको प्रमुख कारण भनेर निष्कर्ष निकालेका छन् ।
माधवकुमार नेपालले मेरियट होटलमा सबै कुरा बिर्सिएर २०७५ जेठ २ गते फर्कौ भनेका थिए । नेपालको कुरालाई ओलीले गम्भीरतापूर्वक लिएर जेठ २ गतेको अवस्थामा एमाले फर्केको भए यो अवस्था आउने नै थिएन । तर, ओलीको घमण्डले एमाले विभाजन मात्र भएको छैन, नेपाल कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपरेको छ ।
स्थानीय निर्वाचन परिणामले पनि एमालेलाई ठूलो क्षति पुर्याएको छ । एमालेसँग लोकप्रिय मत हुँदाहुँदै पनि ०७४ सालमा काठमाडौं, पोखरा महानगरपालिका, हेटौँडा, बुटवल उपमहानगरपालिका र प्रमुख नगरपालिकाहरु एमालेले गुमाएको छ ।
निर्वाचन परिणामले एमालेजन शोकाकूल छन् । पार्टी र कार्यकर्तालाई शोकाकूल बनाउने अध्यक्ष ओली नै हुन् । एमालेलाई पुनर्जीवन दिने हो भने ओलीले नैतिकताको आधारमा अध्यक्षबाट राजीनामा दिनुको विकल्प छैन ।
एमालेले गुमाएका अधिकांश स्थानमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले जितेका छन् । सत्तारुढ दलहरुको गठबन्धनका कारण एमालेले नसोचेको परिणाम हात पारेको छ ।
अब यही गठबन्धन आगामी प्रदेश र संघको निर्वाचनसम्म निरन्तर कायम रहेको खण्डमा ओलीलाई मन नपर्ने शब्द ‘पत्तासाफ’को स्थितिमा एमाले पुग्ने छ । त्यसैले एमाले अहिले गठबन्धन भत्काउने रणनीतिमा छ ।
अन्तर्घातको कारण निर्वाचन हारेको गलत निष्कर्ष निकालेको एमालेले गठबन्धन भत्काए पनि वाम तालमेल गर्न सकेन भने ०७४ मा जितेको ८० वटा प्रतिनिधिसभाको आधाभन्दा बढी सिट गुमाउने छ । त्यसमाथि काठमाडौंमा एमाले शून्य स्थितिमा झर्ने छ ।
०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादीसँग गठबन्धन गरेको कारण एमालेले प्रत्यक्षमा ८० सिट हात पारेको थियो । जसमध्ये २३ स्थानमा एमालेले २५० देखि ५ हजारसम्मको मत माओवादीबाट पाएर जितेको थियो ।
अहिले एमाले फुटेको, माओवादीसँग सहकार्य टुटेको अवस्थामा एमालेले आगामी प्रतिनिधिसभामा जित्ने भनेको बढीमा ३० सिट हो । त्यो पनि स्थानीय तहमा अहिले एमालेले पाएको लोकप्रिय मतको आधारमा ।
त्यतिबेलासम्म एमालेले त्यो लोकप्रिय मत जोगाउन सक्यो भने मात्र ३० सिट जित्ला, नभए एमाले १५÷२० सिटमा खुम्चन बेर छैन ।
निष्कर्ष नै गलत निकालेपछि सही ठाउँमा पुग्न सकिन्न । यो सबै परिस्थिति आउनुको पछाडि ओली नै दोषी छन् । जथाभावी बोल्ने, मन नपरेको मान्छेलाई सार्वजनिकस्थलबाटै गालीगलौज गर्ने र मै हुँ भन्ने उनको घमण्डले एमाले भन्ने पार्टीलाई जनताले आर्यघाटको बाटो लैजाँदैछन् ।
पार्टीको अध्यक्ष नै खराब भएपछि सिंगो पार्टी कसरी सग्लो हुनसक्छ ? यदि ओलीले पुस ५ गते संसद् विघटन नगरेको भए एमालेले स्थानीय तहको निर्वाचनमा हार व्यहोर्नुपर्ने थिएन । माधवकुमार नेपालले विद्रोह गर्नुपर्ने थिएन ।
एमालेभित्र विगतमा जे जस्ता त्रुटि कमजोरीहरु भए त्यसको आत्मलोचना ओलीले गर्नुपर्छ । कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत बनाउँदै लैजाने हो भने आफ्ना कमजोरी सच्याउँदै जानुपर्छ ।
स्थानीय तह निर्वाचन अगाडि काठमाडौं, पोखरा, भरतपुर, विराटनगर, वीरगन्जजस्ता महानगरपालिका, हेटौंडा, बुटवल, नेपालगञ्ज, धनगढी, इटहरीजस्ता उपमहानगरपालिका एक्लैले जित्ने हावादारी तथ्यांक बोकेर निर्वाचनमा होमिएको एमालेले सबै महानगर गुमाउनुपर्याे ।
निर्वाचन परिणामले एमालेजनहरु शोकाकूल छन् । पार्टी र कार्यकर्ताहरुलाई शोकाकूल बनाउने पनि ओली नै हुन् । त्यसैले एमालेलाई पुनर्जीवन दिने हो भने एमालेको अध्यक्षबाट ओलीले नैतिकताको आधारमा राजीनामा दिनुको विकल्प छैन ।