Logo
Logo

जताततै कच्ची सडक, वर्षा र पहिरोले बिरामीलाई अन्यत्र लैजान समस्या


- दृष्टि न्युज/संवाददाता

0
Shares

रामपुर, २७ असार । बिहीबार साँझबाट लगातारको वर्षाले यहाको जनजीवन कष्टकर बनेको छ । पाल्पाको रामपुरदेखि विभिन्न क्षेत्रमा पुग्ने सडक कच्चीमा वर्षा भएसँगै आवत–जावतमा समस्या बनेको हो ।
रामपुरदेखि तानसेन, बुटवल, भिमाद, तनहुँ हँुदै कास्की पोखरा तथा नवलपुर हँुदै नारायणगढ तथा काठमाडौं जान आउन समस्या भएको छ । जताततै पहिरो झरेपछि विमारीलाई अन्यत्र लान समेत समस्या भएको छ ।
भएको अधिकांश मोटरबाटो कच्ची छ । कच्ची बाटोसँगै बगेको पहिलोले गर्दा झनै समस्या उत्पन्न भएको छ । तत्काल पहिरो हटाउन समेत समस्या रहेको छ । यसबाट यात्रुले सास्ती व्यहोर्नुपरेको हो ।
निस्दी गाउँपालिका बेलडाँडा रिङ्दी क्षेत्र, पूर्वखोला गाउँपालिका वडा नम्बर १ वासुका क्षेत्रमा झरेको पहिरो हटाउन डोजरबाट काम भए पनि पहिरो निरन्तर झरेको र पानी परिराखेका कारण समस्या भएको जव्गाडी प्रहरी चौकीका हवल्दार मेघराज बेल्वासेले जानकारी दिए ।
ठाउँठाउँमा पहिरो खसेर बाटो अवरुद्ध हुँदा बिरामीलाई तानसेन, बुटवल तथा तथा अन्यत्रका अस्पतालमा लैजानसमेत समस्या भएको रामपुर यातायात व्यवसायी समिमि अध्यक्ष राजन पोखरेलले गुनासो गरे, ‘पहिरो जानेबित्तिकै सडक विभाग तथा विभिन्न स्थानीय तहमा कुरा राख्यौँ, समयमै पहिरो हटाउनेतर्फ ध्यान गएन, यात्रुलाई सास्ती छ ।’
रामपुरबाट एम्बुलेन्समा बिरामी राखेर काठमाडाँंै लैजाँदै गर्दा पहिराले रोकिनुपरेको रामपुरका राजेन्द्रप्रसाद लम्सालले बताए । बिरामीलाई एम्बुलेन्समा राखेर लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन लैजाँदै गर्दा बाटामै करीब तीन घण्टा रोकिनुपरेको उनले बताए । सम्बन्धित निकायले समयमै बाटो मर्मत गर्ने र पहिरो हटाउने काम नहुँदा मानिसको अकालमै ज्यानसमेत जान सक्ने भएकाले यसतर्फ ध्यान दिन उनले आग्रह गरे । रामपुर मोहटीका कृष्ण विकले पनि एम्बुलेन्समा सुत्केरी लिएर तानसेन लैजाँदै गर्दा बाटामा नै करीब तीन घण्टाभन्दा बढी रोकिनुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्