भनिन्छ, जहाँ इच्छा, त्यहाँ उपाय । धादिङ गजुरीकी अस्मिता भुजेललाई यस्तै लाग्दैछ । सानैदेखि नृत्यमा रुची भएकी अस्मिता अहिले कुसल डान्स कोरियोग्राफर बनेकी छिन् । तर, यहाँसम्म पुग्न उनले धेरै मेहेनत र संघर्ष गरेकी छिन् । नृत्यप्रतिको रुचीकै कारण १२ कक्षामै अध्ययन छाडिन् र ‘फुलटाइमर’ डान्सर बनिन् । उनले चार वर्षको अन्तरालमा ९० भन्दा बढी फिल्ममा कोरस डान्स गरिन् । २१ वर्षीया अस्मिता भन्छिन्– ‘डान्समै करिअर बनाउँछु भनेर पढाइ छाडेँ । अहिले लाग्दैछ, ठीकै गरेछु ।’ असिस्टेन्ट हुँदै नृत्य कोरियोग्राफीमा आएकी अस्मिताको लक्ष्य भविष्यमा फिल्म निर्देशन गर्ने छ । डान्सर तथा कोरियोग्राफर अस्मिता भुजेलसँग एमपी सुब्बाको जम्काभेट :
कला क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?
नृत्यबाट म कला क्षेत्रमा आएकी हुँ । मलाई सानैदेखि नृत्यमा रुची थियो । तर, यो क्षेत्रमा लागेको चार वर्ष मात्र हुँदैछ । सुरुमा नृत्य कक्षा जोइन गरेँ । त्यसपछि त्यही नृत्य सिकाउन थालेँ । नृत्य सिकाउँदा सिकाउँदै आफैँले डान्स स्टुडियो पनि खोलेँ ।
अहिले पनि डान्स स्टुडियो चलाउँदै हुुनुहुन्छ ?
अहिले छैन । कलंकीमा नृत्य ल्याब खोलेकी थिएँ । लकडाउने डुबायो । त्यसपछि नृत्य ल्याब छाडेर कोरियोग्राफी गर्नतिर लागेकी छु ।
एकैचोटी कोरियोग्राफीमा आउन गाह्रो भएन ?
एकैचोटी नृत्य कोरियोग्राफीमा लागेकी होइन । त्यस अगाडि फिल्ममा कोरस डान्स गर्थे । कोरस डान्स गर्दै जाँदा असिस्टेन्ट कोरियोग्राफर भएर काम गरेँ । त्यसपछि कोरियोग्राफी गर्न सक्छु भनेर लागेकी हुँ ।
कति वटा फिल्ममा कोरस डान्स गर्नुभयो ?
धेरैमा गरेकी छु । ८०/९० भन्दा बढी फिल्ममा गरेकी छु । अहिलेचाहिँ टिम मिल्यो भने मात्र गर्छु ।
कोरस डान्स गर्नेलाई फिल्मकै कलाकारले राम्रो व्यवहार गर्दैनन् भन्छन् नि ?
खै, मलाई त्यस्तो अनुभव भएन । जति पनि कलाकार छन्, उनीहरू सबैसँग काम गरेकी छु । राम्रै व्यवहार पाएकी छु ।
एउटा गीतमा नाचेको कति पाउनुहुन्थ्यो ?
मैले सुरु गर्दा एक हजार दिइन्थ्यो । मैले पहिलोपटक कोरस डान्स गर्दा एक हजार पाएकी थिएँ । त्यो नै मेरो पहिलो कमाइ हो ।
पहिलो पटक कुन फिल्ममा गर्नुभएको थियो ?
‘फिरफिर्रे’ भन्ने फिल्ममा हो । इकुहरूको फिल्म हो त्यो । एउटा गीतको सुटिङ गर्न दुई दिन लागेको थियो ।
अहिलेचाहिँ कोरसलाई कति दिइन्छ ?
अहिले मलाई थाहा भएन । त्यस्तै, १५ सयदेखि २५ सयसम्म दिन्छन होला । पहिलेभन्दा राम्रै छ । तर, म अहिले खासै कोरसमा गर्दिनँ । टिम मिल्यो भने मात्र गर्छु ।
काठमाडौंमा कोरसमा नाच्ने डान्सर कति छन् ?
यति नै छन् भन्न चाहिँ सकिन्न । तर, चार हजारभन्दा बढी होलान् भन्ने अनुमान छ । त्यही माथि अहिले डान्सप्रति सबैको रुची र इच्छा जाग्दै गएको छ । डान्सरहरू पनि फरक–फरकका हुन्छन् । फिल्ममा कोरस गर्ने बेग्लै हुन्छन, कोही स्टेज कार्यक्रममा मात्र नाच्नेहरू छन् ।
अहिले ‘डान्स क्रु’ बनाउने चलन छ । तपाइँले किन आफ्नो क्रु नबनाउनुभएको नि ?
मेरो पनि पहिले ‘विष्ट ब्रदर’ भन्ने डान्स क्रु थियो । उक्त डान्स समूह ‘वल्ड डान्स लिक नेपाल’ प्रतियोगितामा सेकेन्ड भएको थियो । अहिले क्रु नभएपनि डान्सरहरू लिंकमा छन् । चाहिएको बेला सम्पर्कमा आउँछन् ।
डान्सिङ वा कोरियोग्राफीमा भविष्य देख्नुहुन्छ ?
गर्न सकियो भने भविष्य छ । हुन त नेपालमा काम गरेअनुसार पैसा पाइँदैन । तैपनि गर्दै जाने हो । एकदिन अवश्य राम्रो होला ।
मोडलिङमा इच्छा नभएको हो ?
इच्छा नभएको होइन, हाइट नभएर हो । मेरो हाइटले गर्दा मोडलिङमा सुहाउँदैन । तैपनि डान्सिङ बिटका गीतमा गर्दै आएकी छु । तर, मेरो प्राथमिकता नृत्य कोरियोग्राफी नै हो ।
डान्स र कोरियोग्राफीबाहेक के गर्नुहुन्छ ?
केही गर्दिनँ । फुलटाइमर डान्सर तथा कोरियोग्राफर हुँ । डान्समा केही गर्छु भनेर पढाइ छाडेर यो क्षेत्रमा आएकी हुँ । मेरो दिमागमा डान्सबाहेक केही छैन ।
डान्सको कमाइले काठमाडौंमा बस्न, खान र लाउन पुगेको छ ?
मलाई पुगेको छ । अझै घरमा पनि खर्च पठाउने गरेकी छु । अब अलि पैसा जम्मा गरेर भारतमा डान्स सिक्न जाने सोच बनाएकी छु । नृत्यबाटै नेपालमा केही गरौँ भन्ने मेरो लक्ष्य र उद्देश्य हो ।
यहाँसम्म आउँदा आफ्नो पेशाबाट खुसी हुनुहन्छ ?
खुसी छु । सुरुमा जति संघर्ष र मेहेनत गरेँ, त्यो अनुसार सफलता पाइरहेकी छु । डान्समा फुलटाइमर भएर बाँचेकी छु । रहर र इच्छाएको क्षेत्रमा आफूलाई टिकाउन सक्नु नै खुसीको कुरा हो ।
कोरियोग्राफर हुँदै फिल्म निर्देशक बनेका उदाहरण पनि छन् । तपाईँको निर्देशक बन्ने सोच छैन ?
सोच नै त बनाएकी छैन । तर, परिआयो भने पछि हट्दिनँ । काम आएपछि प्रयास गर्ने हो । सिक्दै जाँदा प्रयासमा सफलता पनि पाइन्छ । सबैभन्दा ठूलो कुरा मेहेनत र लगाव हो ।