काठमाडौं । नियामक निकायकै मिलेमतोमा देशभर क्यासिनोभित्र अवैध धन्दा फष्टाएको छ । एकातर्फ नक्कली परिचयपत्र बनाएर नेपालीलाई नै प्रवेश दिने र अर्काेतर्फ सम्पत्ति शुद्धीकरणदेखि विभिन्न अपराधिक गतिविधि क्यासिनोमा हुने गरेका छन् । यसमा पर्यटन मन्त्रालयदेखि प्रहरी र प्रशासनको संरक्षण रहेको छ ।
नेपालमा दुई किसिमका क्यासिनो छन् । पहिलो, पाँचतारे होटलमा सञ्चालित ठूला क्यासिनो- जहाँ लाइभ जुवा नै चल्छ । दोस्रो उपत्यका बाहिरका मिनी क्यासिनो– जहाँ मेसिनबाट मात्र जुवा खेल्न पाइन्छ । दुवै किमिसका क्यासिनो अपराधीक अड्डा बनेको स्रोत बताउँछ ।
मिनी क्यासिनोमा अनेक धन्दा
तराईका जिल्लामा खुलेका मिनी क्यासिनोहरुमा अपराधीक गतिविधि बढेको छ । क्यासिनो नियमावलीअनुसार मिनी क्यासिनोले मेसिनबाट मात्र गेम खेलाउन पाउँछन् । तर, स्थानीय प्रहरी–प्रशासनमा सेटिङ मिलाएर त्यहाँ पनि ठूला क्यासिनोमा जस्तै जुवा खेलाउने गरिएको छ ।
झापा, मोरङ, पर्सा, रुपन्देही, नेपालगञ्ज, कैलाली लगायत जिल्लामा मिनी क्यासिनो सञ्चालन भइरहेका छन् । भारतीय ग्राहकलाई लक्षित गरी यस्ता मिनी क्यासिनो सञ्चालन भए पनि त्यहाँ नेपाली जुवाडेहरुको समेत भिड लाग्ने गरेको छ । धेरै जसो मिनी क्यासिनो किशोर सिलवाल र सुरेन्द्र सिंहले चलाउँदै आएका छन् ।
गत ५ जेठमा नेपालगञ्जमा क्यासिनोमै अपहरणको घटना भयो । तर, प्रहरीसँग सेटिङ मिलाएर त्यसलाई गुपचुप बनाइएको छ ।
भारतको बहराइच घर भई नेपाली युवतीसँग बिहे गरेर नेपालगञ्ज बस्दै आएका अतित खान (बिक्की)लाई एक समूहले स्टार लाइट होटलस्थित लक्की स्टार क्यासिनोबाट अपहरण गरेको थियो ।
डिएल टुसी एकएक्स ७८७८ नम्बरको गाडीमा राखेर एक समूहले उनलाई डुडुवा पुर्यायो । त्यहाँ कुटपिट गरी मार्ने समेतको योजना बनेको थियो । तर, उनलाई गाडीमा हालेर लैजादै गरेको दृश्य होटलको सिसिक्यामेरामा कैद भएपछि सो समूहले बिक्कीलाई वडा प्रहरी कार्यालय, नेपालगञ्जमा लगेर थुनिएको थियो । उनीसँग भएको सुन तथा गहना सो समूहले् लुटेका थियो ।
भारतीय नागरिक पंकज श्रीवास्तव, अश्विनी सिंह, अनुस्मान सिंह तथा नेपालीहरु अनुराग शाह, सुरेश कुर्मी लगायतले त्यसरी अपहरणशैलीमा गाडीमा राखेर कुटपिट गरेका थिए । तर, प्रहरीसँगको सेटिङका कारण उनलाई नै उल्टो थुनामा राखियो । उजुरी दिन खोज्दा प्रहरी अधिकारीले उल्टो उनलाई फसाउने धम्की दिएर पछि छाडेका थिए ।
स्रोतका अनुसार नेपाली नागरिकसँग क्यासिनोमा छिरेर उनलाई बिक्कीलाई कुटपिट गरी गाडीमा राखेर त्यसरी अपहरण गरेका थिए । श्रीवास्तवको समूहसँग प्रहरी मिलेमतो रहेकाले यस्तो गम्भीर घटनालाई पनि प्रहरीले मिलापत्र गराएको हो ।
विभिन्न किमिसका अपराधिक गतिविधिमा संलग्न रहँदै आएका भारतीय नागरिक श्रीवास्तवले नेपालगञ्ज उपमहानगरपालिका–१२ सुर्खेत रोडमा किङ्स क्रस नामक डान्सबार चलाउँदै आएका छन् । उनीसँग दोहोरो नागरिकता रहेको छ । गुलरियामा समेत उनले घर किनेका छन् ।
विभिन्न किमिसका तस्करीदेखि जुवामा संलग्न रहँदै आएका उनले बाँकेका एसपी श्यामकृष्ण अधिकारी, डीएसपी मधुसूदन न्यौपाने लगायत प्रहरीलाई आफूले किनिसकेको बताउँदै धम्काउने गरेका छन् । प्रहरीले पनि उनको संरक्षण गरेको पाइएपछि स्थानीयले अपराधीक समूहसँग प्रहरी मिलेको आशंका गरेका छन् ।
बिक्की र श्रीवास्तवको समूहबीच नेपालगञ्जमा केही वर्षयता विवाद चल्दै आएको छ । ८ वर्षअधि श्रीवास्तवकको समूहले बिक्कीलाई लखनउमा गोली समेत हानेको स्रोत बताउँछ । हाल श्रीवास्तवकले प्रहरीलाई आर्थिक प्रभावमा पारेर बिक्कीलाई नेपालगञ्जबाट भगाउने प्रयास गरिरहेका छन् ।
श्रीवास्तवकको समूहमा धेरैजसो आपराधिक पृष्ठभूमिका व्यक्तिहरु छन् । नेपालगञ्जका एसपी श्यामकृष्ण अधिकारीकै संरक्षणमा उनको धन्दा मौलाएको छ । कतिसम्म भने आफ्नै असईलाई श्रीवास्तवले दुव्र्यवहार गर्दा समेत उनले कारबाही गर्न सकेनन् ।
मुद्दा शाखाका असई नरेन्द्र जोशी श्रीवास्तवको किंग्स क्लबमा गएकोमा त्यहाँ दुव्र्यवहार गरेका थिए । जून विषयमा एसपी अधिकारीले श्रीवास्तवको पक्ष लिएका थिए ।
यसरी सेटिङको पैसा आफूले बालुवाटारदेखि गृहमन्त्रालयसम्म पुर्याएकाले आफूविरुद्ध जसले उजुरी गरेपनि केही नहुने भन्दै एसपी अधिकारीले पछिल्लो समय असुली पठाएका छन् । सरुवा हुने बेला भएकाले पनि उनले सबै तिर असुली आतंक मच्चाएको प्रहरी स्रोत बताउँछ ।
नेपालगञ्जका अन्य क्यासिनोमा पनि अवैध धन्दा चल्ने गरेको छ । नेपालगञ्जमा मात्र सात वटा क्यासिनो सञ्चालित छन् । होटल सोल्टीमा माजोग, होटल स्नेहामा बेलिज इन्टरनेशनल, होटल ड्रिम ल्याण्डमा ह्याप्पी आवर, होटल सिद्धार्थ भ्यूमा ज्याकपट ग्याम्बिलिङ सेन्टर, सिटी होटलमा सिटी ग्याम्बलिङ जोन, स्टार लाइट होटलमा लक्की स्टार क्यासिनो, होटल कल्पत्रुमा एसएन बिल्यु ग्यामलिङ सेन्टर छन् । यी मध्यै सबैजसो मापदण्डविपरीत सञ्चालित छन् ।
माजोंग क्यासिनोको सञ्चालकमा बिनोद श्रेष्ठ, बेलिजको बिक्की, ह्याप्पी आवरको सुरेन्द्रबहादुर सिंह, ज्याकपटको राजिव आचार्य, सिटी ग्याम्लिङमा सुदीप क्षेत्री, लक्की स्टारमा मनोज सुवेदी र एसएन बिल्युमा गगन सिंह थापा सञ्चालक रहेका छन् । उनीहरु सबैले क्यासिनोबाट अकुत आर्जन गरिरहेका छन् । उनीहरुमध्ये केहीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ ।
यसरी मिनि क्यासिनो सञ्चालन गर्न पनि पाँचतारे होटल चाहिनेमा पर्यटनमन्त्री प्रेम आलेले जथाभावी क्यासिनोको अनुमति दिएका छन् । धेरैले अनुमतिप्राप्त भन्दा धेरै गेमहरु खेलाउने गर्दछन् ।
क्यासिनो सञ्चालन निर्देशिका तथा नियमावली अनुसार क्यासिनो सञ्चालनका लागि अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर टाढा हुनुपर्ने, क्यासिनो सञ्चालनका लागि पर्यटकीय क्षेत्र घोषणा हुनुपर्ने, कम्तीमा २५ करोड चुक्ता पुँजी चाहिने, धार्मिक तथा सांस्कृतिक रुपमा संवेदनशील मानिएको क्षेत्र बाहिर हुनुपर्ने प्रावधान छ ।
नेपालमा नेपालका क्यासिनोहरुले यो मापदण्ड मानेका छैनन् । स्नेहा होटल र ड्रिमल्याण्ड होटलमा सञ्चालित क्यासिनो भारतको सीमाबाट पाँच किलोमिटर भन्दा नजिकको दुरीमा रहेको छ ।
ड्रिमल्याण्डमा अन्य मापदण्ड पनि नपुग्ने भएपनि गुन्डागर्दी समेत गर्दै आएका एमालेका स्थानीय नेता सुमन मल्लको चलखेलका कारण सञ्चालन भएको हो ।
ह्याप्पी आवरले सुरुमा स्नेहा होटलमा क्यासिनो सञ्चालनको अनुमति पाएकोमा पछि ड्रिमल्याण्डमा पनि त्यही नाममा सञ्चालन गरिएको छ । सो क्यासिनोले सरकारलाई करोडौं रोयल्टी पनि तिरेको छैन ।
नेपालगञ्ज क्षेत्रमा भारतीय नागरिकहरु धेरै आउने गर्दछन् । क्यासिनोले नै उनीहरुलाई जमुनाहा नाका पुगेरै ल्याउने गर्दछन् । कतिपयले भारतमै पुगेर समेत ओसार्ने गरेका छन् । यस्तो कार्यमा केटीहरुको समेत प्रयोग हुने गरेको छ ।
जसकारण क्यासिनोका गाडीमा सीमा क्षेत्रमा सुरक्षा निकायले चेकिङ समेत गर्देनन् । ग्राहक ल्याउन केटी प्रयोग गरिने र क्यासिनोभित्रै पनि अवैध धन्दाहरु चल्ने गरेको प्रहरी स्रोत बताउँछ ।
क्यासिनोहरुले अवैध रुपमा भारतीय नम्बर प्लेटका गाडी प्रयोग गर्दा पनि प्रशासन मुकदर्शक बन्ने गरेको छ । एकातर्फ मापदण्डविपरीत क्यासिनो सञ्चालन हुने र अर्काेतर्फ नेपालीहरुलाई खुलेआम प्रवेश दिने गरिएको छ ।
यसमा बाँकेका एसपी श्यामकृष्ण अधिकारी, सीडीओ सूर्यबहादुर खत्री, डीएसपी मधुसुदन न्यौपाने तथा पर्यटन कार्यालयका प्रमुख माधव ज्ञवालीको समेत मिलेमतो रहेको छ ।
केही महिनाअघि मात्र नेपालगञ्जस्थित सोल्टी होटलमा रहेको माजोंग क्यासिनोका एजेन्ट सुजित तामाङले एसपी अधिकारीलाई मोबाइल र महंगा रक्सी उपहार दिएको तस्वीर नै सार्वजनिक भएको थियो ।
सबै जसो क्यासिनोले प्रहरी र सीडीओलाई मासिक खर्च बुझाएर यसरी अवैध धन्दा चलाएको स्रोत बताउँछ । सेटिङका कारण क्यासिनोभित्रै महिला कर्मचारीमाथि शोषण र यौन दुव्र्यवहारका घटना हुँदा समेत प्रहरीले त्यसमा आँखा चिम्लने गरेको छ ।
पर्यटन कार्यालयका प्रमुख ज्ञवालीले पनि मापदण्डविपरीत होटलहरुको स्तरोन्नती गरेर फाइदा लिदै आएका छन् । जसकारण नेपालगञ्जका स्टार भनिएका होटलहरुको समेत गुणस्तर खस्किएको छ ।
पर्यटनमन्त्री प्रेम आलेले रोयल्टी नतिर्ने क्यासिनो बन्द गराउने निर्णय गरेपनि त्यो प्रभावकारी रुपमा कार्यान्वायन हुन सकेको छैन । सुरेन्द्र सिंहको नेपालगञ्जसहित महेन्द्रनगर, भैरहवा, काँकडभिट्टामा क्यासिनो छन् । तीनले रोयल्टी तिरेका छैनन् ।
बन्द गराउने निर्णय भएपछि उनले अदालतको आडमा क्यासिनो चलाइरहेका छन् । त्यस्तै, किशोर सिलवालले रक इन्टरनेशनलको नाममा काँकडभित्रा र धनगढीमा रोयल्टी नतिरी क्यासिनो चलाइरहेका छन् ।
होटल बन्द, क्यासिनो खुला
ठूलो किमिसको क्यासिनो सञ्चालन गर्नका लागि पाँच तारे होटल हुनुपर्छ । त्यही मापदण्डका आधारमा काठमाडौंका ठूला होटलमा क्यासिनो खुलेका छन् ।
दरबारमार्गस्थित होटल अन्नपूर्णमा पनि क्यासिनो प्यालेस सञ्चालित छन् । तर, दुई वर्षदेखि अन्नपूर्ण होटल भने बन्द छ । होटल बन्द भएको अवस्थामा क्यासिनो पनि बन्द हुनुपर्नेमा अवैध रुपमा क्यासिनो भने सञ्चालन भइरहेको छ । पर्यटन विभाग तथा प्रहरी प्रशासनसँग सेटिङ मिलाएर सो क्यासिनो सञ्चालन भएको हो ।
काठमाडौंका ठूलो क्यासिनोमा पनि नक्कली परिचयपत्रका आधारमा नेपाली जुवाडे छिराउने गरिएको छ । तीन महिनाअघि होटल अलफ्टको क्यासिनोबाट नेपालीहरु पक्रा परेका थिए । पछिल्लो समय प्रहरीले क्यासिनोमा छापा हान्नै छाडेकाले मिलेमतोको आशंका गरिएको छ ।