Logo
Logo

बीवाइडीको विद्युतीय गाडी ई–६ को माग बढ्यो


4.6k
Shares

काठमाडौं । सरकाले आगामी आर्थिक वर्षको बजेटमार्फत किलोवाट क्षमताको आधारमा विद्युती यातायातका साधनमा कर वृद्धि गरेसँगै चिनियाँ ब्राण्ड बीवाइडीद्वारा निर्मित ई–६ गाडीको माग बढेको छ ।

सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत १०० किलोवाटभन्दा बढी क्षमताको विद्युतीय यातायातका साधनमा कर वृद्धि गरेपछि ७० किलोवाट क्षमताको ई–६ को माग बढेको हो ।

बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकका अनुसार अन्य विद्युतीय गाडीभन्दा ई–६ अकार्षक हुनुका साथै बढी माइलेज दिने भएकाले आग्रहको छनोटमा परेको हो ।

नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्ष अगाडि देखिनै ई–६ प्रयोग गर्दै आएका छन् । त्यसैगरी, ऊर्जामन्त्री पम्फा भूसाल, पूर्वअर्थमन्त्री वर्षमान पुन, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले पनि ई–६ नै प्रयोग गर्दै आएका छन् ।

सुरुवाती चरणमा विशिष्ट व्यक्तिहरुको रोजाइमा परेको ई–६ पछिल्लो समय सर्वसाधारणको रोजाइमा परेको छ । सरकारको पछिल्लो नीतिपछि त झनै ई–६ को माग बढेको साइमेक्सले जानकारी दिएको छ ।

७० किलोवाटका तीन गाडी बजारमा
साइमेक्सले नेपाली बजारमा बीवाइडी ई–६, बीवाइडी एम–३ (७ सिटर) र बीवाइडी एम–३ (५ सिटर) बिक्री वितरण गर्दै आएको छ । यी तीन गाडीको क्षमता ७० किलोवाट रहेको छ ।

ई–६ को माइलेज कति ?
फूल चार्ज भएपछि ई–६ ले ४०० किलोमिटर माइलेज दिन्छ । यसको अधिकतम् गति १४० किलोमिटर प्रतिघण्टा रहेको छ ।

कति पर्छ मूल्य ?
नेपाली बजारमा ई–६ को मूल्य ६५ लाख, एम–३ को मूल्य ४७ लाख ५० हजार र एम–३ (५ सिटर)को मूल्य ४६ लाख ५० हजार रहेको छ ।

चार्ज गर्न कति समय लाग्छ ?
बीवाइडीका यी तीनै गाडी फाष्ट चार्जिङबाट चार्ज गर्दा २ घन्टामा फूल चार्ज हुन्छ । तर एसी चार्जरबाट चार्ज गर्दा भने १२ घन्टासम्म लाग्ने साइमेक्सले जानकारी दिएको छ । यी गाडीहरुमा ‘ब्लेड ब्याट्री’ प्रयोग गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्