Logo
Logo

अझै तीन दिन वर्षा : पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ असार । मनसुन न्यूनचापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले अझै तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मौसम विश्लेषणसम्बन्धी शुक्रबार बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको हो ।
शुक्रबार बिहानैदेखि मुलुकभर लगातारको मनसुनी वर्षा भइरहेको छ । खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुनेछ भने पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुनेछ ।
पूर्वी र मध्यमा एक÷दुई दिन भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार पूर्वी र मध्य क्षेत्रमा समग्र मनसुनी वर्षा भने कम हुनेछ । देशका पश्चिमी भेगमा समग्र मनसुनी वर्षा बढी हुने अनुमान गरिएको छ । मौसमी भाषामा १० मिलिमिटरसम्म हल्का वर्षा, १० देखि ५० मध्यम वर्षा, ५० देखि १०० भारी वर्षा र १०० देखि २०० सम्मलाई अति भारी वर्षा भनिन्छ ।
यस वर्षको मनसुन अघिल्लो वर्षभन्दा १० दिन ढिलो गरी गत जुन २० तारिखदेखि शुरु भएको थियो । आगामी सेप्टेम्बरको अन्तिम सातासम्म नेपालमा मनसुन जारी रहन्छ ।
देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोर स्थानमा धेरै भारी वर्षासमेत हुने विभागले बुलेटिनमा उल्लेख गरेको छ ।
त्यसैगरी भोलि शनिबार पनि देशको पूूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा अति भारी वर्षासमेत हुनेछ । देशको केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आगामी २९ गते आइतबार पनि खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा धेरै भारी वर्षासमेत हुने जनाइएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसम्बन्धी विज्ञप्ति जारी गर्दै देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले उच्च सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।
पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने र पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुने भएकाले पूर्वी र मध्य क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने र पूर्वी र मध्य तराई क्षेत्रका नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनन अनुरोध गरिएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौँमा ५१ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी सिमरामा २०६, विराटनगरमा १७२, ओखलढुंगामा १०७, धनकुटामा १०३ मिलिमिटर वर्षा भएको छ । डडेलधुरामा २७, भैरहवामा २४, नेपालगञ्जमा १२ र धनगढीमा १५ मिलिमिटर वर्षा भएको छ ।

नदी तटीय क्षेत्रमा उच्च खतरा
निरन्तरको वर्षाले देशका मुख्य नदी तटीय क्षेत्रमा पानीको बहावको खतरा बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, बढी पूर्वानुमान महाशाखाले शुक्रबार बाढी पूर्वानुमानसम्बन्धी विशेष सूचना निकालेर बागमती, कमला, कन्काई र कोशी नदीमा पानीको बहाव बढ्दो रहेकाले आसपासका बस्ती तथा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्