Logo
Logo

केपी ओलीको ‘कंगारू कोर्ट’मा घनश्याम


16.9k
Shares

स्थानीय तहमा नेकपा एमालेको स्वभाविक हार भयो । जे थियो, एमाले पछिल्लो समय एमाले ‘बा’माले भएको अर्थमा यो ओलीको एकल हार थियो । तर, उनले त्यसलाई स्वीकारेनन् । बरू, उल्टै आफ्ना जोजोम्यानमार्फत तीनथरि कुरा बोल्न लगाएर एक किसिमको मिडिया ट्रायल गरे ।

पहिलो लटमा महासचिव शंकर पोखरेललाई विज्ञप्ति निकालेरै भन्न लगाए– गठबन्धनले सत्ताको दुरुपयोग गर्याे । यसोभन्दा न कसैको जीत भनियो, न कसैको हार ।

दोस्रो लटमा आफैंले भने– अन्तर्घातका कारण हारियो । यसपटक प्रत्यक्षरूपमा हार स्वीकार नगरे पनि हार्नुपरेको कारण स्वीकारे । ओली त्यतिमा रोकिएनन्, तेस्रो लट उपमहासचिव विष्णु रिमाललाई बोल्न लगाए– सिट कम जिते पनि जनमत आफ्नो धेरै रह्यो ।

हिन्दी सिरियलको जस्तो शृंखलाबद्धरूपमा आएका यी ‘बा’माले प्रतिक्रियाहरू कुनै कमिटी पद्धतिबाट आएका हैनन्, ‘बा’माले अध्यक्ष ओलीले आफ्ना जोजोम्यानमार्फत सार्वजनिक गरिएका ट्रायल बलुन मात्र हुन् ।

चुनावअघि ओलीले एमाले जीतको यति ठूलो दाबी गरे कि साँच्चै भन्ने हो भने त्यो एक किसिमले दिउँसै रात पार्ने कुराजस्तै थियो । परिणाम जे आयो त्यो पनि एमालेले डिजर्ब गर्नेभन्दा ठूलो थियो । तर, ओली आफ्नो दाबीलाई सही सावित गर्ने असफल प्रयासमा लाग्दा त्यो ठूलो जीत पनि उनका लागि ठूलो हार बन्न पुग्यो ।

यो हारलाई लिएर ओलीका जोजोम्यानहरूले जे–जस्तो मिडिया ट्रायल गरिरहेका थिए, त्यति नै बेला एमाले नेता घनश्याम भुसालले एमालेको हार ओलीको हारका रूपमा अथ्र्याए र उनले नैतिक जिम्मेवारी लिनुपर्ने बताए ।

उनले सत्यलाई स्वीकार गर्दै पछिल्लो चरणमा गरेको कुकृत्यका लागि ओलीको एमाले योभन्दा खराब परिणामको भागिदार भए पनि इतिहासमा गरेको योगदानको ब्याज पाएको विश्लेषण सुनाए ।

उनले ओलीले हारको नैतिक जिम्मेवारी लिएर राजीनामा दिए इतिहासले उनलाई अन्तिम पटक महान् बन्ने अवसर दिने कुरा पनि बताए । उनले ओली दोबाटोमा उभिएको बताउँदै ओलीसँग दुई विकल्प रहेको बताए, हारलाई स्वीकार गरेर सच्चाइको बाटोमा जाने कि हारका लागि अरूलाई जिम्मेवार ठह¥याएर कोतपर्वमार्फत सत्यानासको बाटो रोज्ने ?

भुसालको अन्तर्वार्ताले ओलीको कन्पारो तात्यो । त्यसपछि उनले अर्को जोजोम्यान केशव बडालमार्फत एमालेमा कोतपर्वको सुरूवात गराए । र, त्यसको पहिलो शिकार भुसाल स्वयंलाई बनाउन लागिएको छ ।

भुसालकै शब्दमा भन्ने हो भने ‘यो एमालेका लागि सत्यानासको बाटो हो ।’ अर्थात्, ओलीले यो हारबाट पनि शिक्षा लिएनन्, उल्टै विक्षिप्त बनेर अनुशासनको डण्डा बजाउने असमान्य गतिविधितर्फ अगाडि बढेका छन् ।

एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले भुसालको नाम नलिइकन उनीमाथि अनुशासनको कारबाही सिफारिस गरिएको पुष्टि गरेका छन् । उनका अनुसार अन्तर्वार्तामा भुसालले व्यक्त गरेको धारणाले एमाले नेतृत्वको मानमर्दन गरेको छ र त्यो आफैंमा प्रमाणित अनुशासनहीन कार्य हो ।

यही निष्कर्षका साथ बडालको अनुशासन आयोगले भुसाललाई न स्पष्टीकरण सोध्न आवश्यक ठान्यो, न उनको आफ्नो भनाइ राख्ने अवसर नै दियो । सिधै अनुशासनहीन काम गरेको ठहर गर्दै एमाले सचिवालयलाई कारबाहीका लागि सिफारिस गर्यो ।

कानूनको भाषामा एउटा शव्दावली छ– कंगारू कोर्ट । यसको अर्थ हो, आफैंले अदालत गठन गर्ने, न्यायाधीश नियुक्त गर्ने र आफैंले मुद्दा लाउने, आफैंले फैसला गर्ने पद्धति ।

केशव बडालको अनुशासन आयोग ओलीको टीके आयोग हो । भुसालको सन्दर्भमा यसले जे गरेको छ, कंगारू कोर्टकै काम गरेको छ । बडाल ओलीले नियुक्त गरेको एमालेको कंगारू कोर्टका न्यायमूर्ति हुन् । उनी आफैं पनि ओलीप्रतिको अस्वभाविक भक्ति र मिडियामा असामान्य व्यवहारका कारण बदनाम छन् ।

भुसालमाथि चलाइएको यो अनुशासनको डण्डालाई लिएर एमालेमा मिश्रित मत छ । बडालबाहेक कसैले पनि यसलाई उचित भनेका छैनन् । ओलीका भक्तहरूको समेत यस प्रकरणमा बोली फुटेको छैन । उनीहरू यसलाई सही कदम भन्न सकिरहेका छैनन् ।

बरू, केही नेताहरूले यसलाई असान्दर्भिक भन्दै खारेज गरेका छन् । उनीहरूको तर्क छ– यसले एमालेको अन्तरपार्टी लोकतन्त्रलाई मात्र कमजोर बनाउँदैन, मूल नेतृत्वलाई सामाजिक फासीवादको बाटोमा पनि लैजान्छ ।

हुन त यो एमालेको आन्तरिक विषय हो । तर, एमाले देशको दोस्रो ठूलो दल र पहिलो वामपन्थी घटक भएकाले यसका गतिविधिहरू समग्रताको कशीमा जाचिन्छन् । यसले केही हदसम्म मुलुकको लोकतान्त्रिक पद्धतिको छविकरण गर्छ । यस अर्थमा एमालेको यो भुसाल प्रकरण मुलुकको लोकतन्त्रको छवि उजागर गर्ने दिशामा योगदान गर्दैन ।

हुन त यसलाई ओलीको अर्को ट्रायल बलुनको रूपमा हेर्नेहरूको कमी छैन । एकथरि राजनीतिक पण्डितहरू यो ओलीको अर्को रणनीतिक चालका रूपमा अर्थ्याउँने गर्छन् । उनीहरूको तर्क छ– ओली भुसाल प्रकरणको ढिस्को ठड्याएर आफ्नो हारलाई विषयान्तर गर्न चाहन्छन् । धेरैलाई लागेको छ– यसपटक भुसाल कारबाहीको दायराबाट बाहिर हुन्छन् । किनकि, यतिबेलासम्म यो भष्मासुर प्रवृतिका लागि ओलीले धेरै कुरीकुरी पाइसकेका छन् ।

उनकै किचेन क्याविनेट पनि आफ्नो लाज जोगाउन त्राहीमाममा परेर रक्षात्मक बनेको छ । कतिपय, उनका जोजोम्यानतिरै स्थानीय निर्वाचनमा अन्तर्घात गरेको चोरऔली ठडिएको छ । उनकै किचेनक क्याविनेटका सदस्यहरू आपसमा साँढे जुधाइमा छन् । यसले पनि ओलीलाई कमजोर बनाएको छ ।

जगजाहेर छ, ओली मेक्लोमेन भएका असामान्य मानिस हुन् । न उनले गल्ती स्वीकार्छन् , न त्यसबाट शिक्षा नै ग्रहण गर्छन् । स्थानीय निर्वाचनको शिक्षालाई पनि उनले ग्रहण गर्ने त कुरै छोडौं, ठाडै अस्वीकार गरे ।

पछिल्लो समय ओलीमा सामाजिक फासीवादी चरित्रको भूत नराम्ररी सवार भैरहेको छ । उनी आफ्नो विरोधी मतको सम्मान गर्ने त कुरै छोडौं, आलोचक मतको पनि कत्लेआम गर्न उद्दत छन् । नेकपा एमाले हुँदै ‘बा’माले बन्दासम्म देखिएको मूल चरित्र यही हो ।

धेरैलाई लाग्ला, ओली एक पात्र मात्र हुन् । तर, समयक्रमले त्यसो भनिरहेको छैन, अब यसले एक प्रवृत्तिकै रूप लिइसकेको पुष्टी भैसकेको छ । ओलीलाई जोडेर हेर्दा उनी सम्बन्धित रहेका एक हैन, अनेक घटनाक्रम फड्के किनारमा बसेर यही सत्यको साक्षी बसिरहेको पाइन्छ । अब त यस्तो लाग्छ कि, बामालेको मौलिक चरित्र नै यही हो ।

प्रश्न ‘बा’मालेको मात्र हैन, नेपालका अन्य कुनै दलको मूल नेतृत्व पनि यो चरित्रबाट मुक्त छैन । फरक विचार राख्ने र अल्पमतलाई सुन्नेभन्दा पनि कुल्चेरै जाने प्रवृति हाबी हुदैछ । यो सामाजिक फासीवादी चरित्रले दलको आन्तरिक लोकतन्त्रलाई त खतम पार्छ नै, मुलुकको लोकतान्त्रिकरणको गतिलाई पनि उल्टो दिशातिर धकेल्छ ।

घुम्दै फिर्दै रूम्जाटार भनेझै अब हेर्नु छ, ‘बा’मालेले भुसालमाथि कारबाही गरेर कोतपर्वको सुरूवात गर्छ कि यो हारका लागि ओलीलाई जिम्मेवार ठहराएर राजनीतिमा न्यूनतम जिम्मेवारी चाहिन्छ भन्ने कुराको सचेत शिक्षा लिन्छ ।

भुसाल प्रकरणको पछिल्लो विकासक्रम हेर्दा यो एक किसिमको ट्रायल बलुनजस्तो मात्रै देखिँदैछ, जुन ओलीको पक्षमा होइन, विपक्षतिर जाँदैछ । ट्रायल बलुनको सिद्धान्तअनुसार यस्तो अवस्थामा यसका योजनाकारहरू रक्षात्मक स्थितिमा पुग्छन् ।

ओली पनि त्यही अवस्थामा पुग्नुपर्ने हो । तर, असामान्य अवस्थाबाट गुज्रिसकेका ओलीका लागि कुनै पनि कुराको अनुमान लगाउनु असहज कार्य हो ।

कामना गरौं, भुसाल कंगारू कोर्टको शिकार नबनुन् । त्यसो भयो भने चोरलाई चौतारो, साधुलाई सूली हुन्छ । अझ, अर्को शव्दमा भन्नु पर्दा नेपाली राजनीतिक वृतमा निष्ठाको दिनदहाडै हत्या हुन्छ र मानिसहरू सत्य बोल्ने जिब्रो बिनाका अनौठा प्राणी हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्