काठमाडौं । विूभषणले प्रहरी बढुवामा विकृति बढेको भन्दै गृह मन्त्रालयले प्रहरी नियमावली संशोधन गरेर बढुवामा विभूषणको नम्बर हटायो । गत वर्ष नियमावली संशोधन गरी बढुवाको नम्बर हेरफेर गरिएको थियो ।
तर, सशस्त्र प्रहरीमा भने सरकारले विभूषणको ‘विकृति’ कायमै राख्न खोजेको देखिएको छ । नेपाल प्रहरीमा हटाउँदा सशस्त्र प्रहरीको बढुवामा भने विभूषणवापत ५ नम्बर दिने प्रावधान यथावत् छ ।
हालै सशस्त्र प्रहरीमा एसपी र डिएसपीको बढुवा प्रक्रिया अघि बढाइएको छ । सो बढुवामा विभूषणको नम्बर नहटाउँदा विगतमा सोर्सफोर्सका आधारमा विभूषण पाउने बढुवामा पर्ने तर राम्रो काम गर्दा गर्दैपनि पहुँच नहुँदा विभूषण नपाउने इमान्दार अधिकारीलाई समस्या हुने देखिएको छ ।
सशस्त्र प्रहरीमा हालै ३८ एसपी तथा ५८ डिएसपीका रिक्त पदमा बढुवा प्रक्रिया सुरु गरिएको छ । यो बढुवामा विभूषणको नम्बर हटाउन सशस्त्र प्रहरी नेतृत्वले प्रयास गरेको स्रोत बताउँछ । तर, तत्काल निर्णय हुने सम्भावना भने छैन ।
प्रहरी बढुवामा एक सय पूर्णांकमा मूल्यांकन हुन्छ । जसमा सबैभन्दा धेरै नम्बर ल्याउनेहरूको बढुवा सिफारिस हुन्छ । एक सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० ज्येष्ठताका आधारमा तय हुन्छ । नेपाल प्रहरीमा भने विभूषणको नम्बर ज्येष्ठतामा थपेर ज्येष्ठतामा २२ नम्बर राखिएको छ ।
त्यस्तै, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा आठ, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७.५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत पाँच र बढुवा समितिले दिने ७.५ अंक हुन्छ । विभूषणको नम्बर ज्येष्ठतामा जोडेपछि यसले बढुवालाई पारदर्शी र निष्पक्ष बनाउने गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
सशस्त्रमा पनि विभूषणको नम्बर हटाउने प्रावधानसहितको नियमावली संशोधनको प्रक्रिया अघि बढेको थियो । तर, त्यो अलपत्र परेको छ । १६ वर्षे पेन्सनसहितको नियमावली संशोधन प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणको वेवास्थाले अलपत्र परेको हो ।
उता केही शक्तिशाली कामु एसएसपीको चलखेलले सशस्त्र प्रहरीमा एसएसपी बढुवा रोकिएको छ । हाल सशस्त्रमा एक बाहेक सबै कामु एसएसपी मात्र छन् । कामुलाई कन्फर्म गर्दा कामुकै वरियताअनुसार निर्णय हुन्छ । त्यसरी बढुवा गर्दा आफु पछि पर्ने भएकाले केही एसएसपीले चलखेल गरेपछि बढुवासम्बन्धि सुचना नै गायब भएको छ । सोही कारण सशस्त्रका आइजिपी राजु अर्यालले एसएसपी बढुवा स्थगन गरेर एसपी र डिएसपी बढुवा अघि बढाएका छन् ।