काठमाडौं । सातमध्ये प्रहरीका चार प्रदेश कार्यालय नेतृत्वविहिन बनेका छन् । प्रदेश प्रहरी प्रमुखका रुपमा कार्यरत तीन डिआइजी एआइजीमा बढुवा भएलगत्तै प्रदेश कार्यालय रिक्त भएका हुन् ।
प्रदेश नम्बर १ का अरुण बिसी, बागमतीकी पूजा सिंह र गण्डकीमा कार्यरत दिवेश लोहनी एआइजीमा बढुवा भएका हुन् । कर्णाली प्रदेश यसअघिदेखि नै एसएसपीको नेतृत्वमा चलिरहेको छ ।
प्रदेशमा पठाउन हाल डिआइजी छैनन् । २० मध्ये डिआइजीका १७ पद रिक्त छन् । जसकारण अब डिआइजी बढुवापछि मात्र प्रदेशले नेतृत्व पाउनेछन् ।
सोमबार बढुवा भएका पाँच एआइजीलाई बुधबार दज्र्यान्ही चिन्ह लगाउने कार्यक्रम छ । उनीहरुको पदस्थापन समेत भइसकेको छ ।
एआइजी उत्तमराज सुवेदीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा पदस्थापन भएको छ । त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा रबिन्द्र धानुकको सरुवा भएको छ । धनुक यसअघि प्रशासन विभागमा कार्यरत थिए । बढुवा भएका मुकुन्द आचार्यलाई प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको छ । उनी त्यही निमित्तको रुपमा कार्यरत थिए । त्यस्तै, पूजा सिंहको मानव स्रोत विकास विभाग, दिवेश लोहनीको अपराध अनुसन्धान विभाग र अरुण बिसीको प्रशासन विभागमा पदस्थापन भएको छ । आइजिपी नियुक्तिमा असन्तुष्टि जनाई लामो विदामा रहेका एआइजी विश्वराज पोखरेललाई प्रदेश समन्वय विभागमा सरुवा हुँदा सहकुल थापालाई भने कार्य विभागमै यथावत् राखिएको छ ।