प्रमुख राजनीतिक दलहरू स्थानीय तह निर्वाचनको समीक्षामा जुटेका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनमा तालमेलको लेखाजोखा भइरहेको छ । प्रतिपक्षी नेकपा (एमाले) पनि हारको कारण खोज्दै छ । तर, दलहरूले हालसम्म निष्कर्ष निकालिसकेका छैनन् ।
यद्यपि, संघ र प्रदेश निर्वाचनतर्फ देश अगाडि बढिसकेको छ । सत्तारुढ गठबन्धनको बैठकमा निर्वाचन कहिले भन्ने विषयले प्रवेश पाइसकेको छ । संघ र प्रदेशसभा निर्वाचनमा अहिलेकै गठबन्धन कायम रहन्छ कि नयाँ गठबन्धन बन्छ ? भन्ने विषयमा भित्रभित्रै छलफल घनिभूत हुँदैछ ।
नेपाली कांग्रेस यही गठबन्धनलाई कायम राखेर निर्वाचनमा जान चाहिरहेको छ भने एमाले जसरी पनि गठबन्धन भत्काउने रणनीतिमा छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ठोस विश्लेषण गरेर निर्णय लिने पक्षमा देखिएका छन् । यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग दृष्टिले गरेको अन्तर्वार्ता प्रस्तुत छ :
संघ र प्रदेशको निर्वाचनबारे सत्तारुढ पाँच दलीय गठबन्धनमा छलफल सुरु भएको छ । निर्वाचन कहिले हुन्छ ?
संघ र प्रदेश सभा निर्वाचनबारे पाँचदलीय गठबन्धनको बैठकमा सामान्य छलफल भएको छ । मंसिरमा हिमाली भेगतिर चिसो बढिसकेको हुन्छ । हिउँ पर्न सक्ने भएकोले रिक्स हुन सक्छ । मैले कात्तिक अन्तिम साता निर्वाचन गर्दा उपयुक्त हुने बताएको छु । नेताहरूको मिश्रित प्रतिक्रिया आएको छ । कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी टुंगोमा पुग्छौँ ।
आगामी निर्वाचनमा वर्तमान गठबन्धन कायम रहन्छ कि वाम गठबन्धन बन्छ त ?
पाँचदलीय गठबन्धन जुन ढंगले अगाडि बढिरहेको छ, यसका सबै उद्देश्य पूरा भइसकेका छैनन् । तर, अगाडि बढ्ने कुरामा आँखा बन्द गरेर हिड्नुख हुँदैन । भविश्यका सम्भावनाहरूलाई हेरेर हामी अगाडि बढ्नुपर्छ । अहिले गठबन्धनलाई तलमाथि गर्ने कुरा छैन । नयाँ सम्भावनाको ढोका बन्द गर्ने काम पनि गर्नुहुँदैन ।
वामपन्थीहरूबीच एकताको सम्भावना कतिको देख्नुभएको छ ?
वामपन्थीहरूबीच एकता हुनु वस्तुगत आवश्यकता हो । तर, यतिबेला वामपन्थी आन्दोलनका मुख्य नेताहरू अहिले एकताको पक्षमा देखिनुहुन्न । त्यसकारण वामपन्थी एकताको आवश्यकता भए पनि तत्काल त्यो सम्भावना निकै कमजोर छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र प्रचण्डलाई चुनावी प्रधानमन्त्री प्रस्ताव गरेको चर्चा छ नि ?
कसले के प्रस्ताव गर्छ भन्दा पनि हामीले लिने नीति कस्तो हुन्छ भन्ने महत्वपूर्ण कुरा हो । बजार हल्लाको पछि लागेर राजनीति हुँदैन । मुख्यकुरा एमाले नेतृत्वले गरेको गम्भीर गल्तीका लागि आत्मालोचना नगरेसम्म केही हुनेवाला छैन । पद त तपसिलका कुरा हुन् ।
एमालेसँग तत्काल एकताको सम्भावना छ कि छैन त ?
अहिले एमालेसँग एकताको सम्भावना त म केही पनि देख्दिनँ । तर, एमालेले आफूले आफैँलाई सिंहावलोकन गर्याे, खासगरी एमालेको नेतृत्वले गरेको भयानक गल्तीहरूलाई देख्न सक्यो, त्यसमा आत्मालोचना गरेर सच्याउन सक्यो र एकीकृत वाम आन्दोलनको आवश्यकताको महत्व र उपादेयतालाई बुझन सक्यो भने नयाँ ढंगले सोच्न सक्ने अवस्था सिर्जना हुन सक्छ । तर, अहिले तत्काल मैले त्यस्तो सम्भावना देखिरहेको छैन ।
एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाबीच चाहिँ एकताको सम्भावना छ ?
अहिले भर्खरै स्थानीय निर्वाचन सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनको सबैले समीक्षा पनि गरिसकेका छैनन् । समीक्षाबाट जुन निष्कर्ष निस्कन्छ, जुन शिक्षा गहण हुन्छ, त्यसलाई लिएर प्रत्येक पार्टी अगाडि बढ्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टी स्वयंले ती निष्कर्षहरूलाई लिएर राष्ट्रव्यापी जानुपर्ने आवश्यकता छ । आजको अवस्थाअनुरुप समाजवादी क्रान्ति र रुपान्तरणको कार्यदिशा, नीति र सिद्धान्तको आधारमा पार्टीलाई अझै उन्नतस्तरबाट रुपान्तरण गर्नुपर्ने, विकास गर्नुपर्ने, विस्तार गर्नुपर्ने, सुदृढ बनाउनुपर्ने आवश्यकता रहेका छन् । यी कामै नगरी अहिले एकीकरणको दिशामा जाने सम्भावना मैले देखिरहेको छैन ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको नतिजालाई कसरी लिनुभएको छ ?
नयाँ संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनले स्थानीय तहको जनप्रतिनिधि संस्थालाई नविकरण गर्ने, नयाँ नेतृत्व निर्माण गर्ने र लोकतन्त्रलाई संस्थागत गर्ने काममा महत्वपूर्ण योगदान गरेको छ । साथसाथै नेपालमा राजनीतिक पार्टीहरू कसरी काम गर्दैछन् भन्ने कुराको निम्ति यो एउटा अत्यन्त महत्वपूर्ण परीक्षाको घडी पनि हो ।
यसपटकको निर्वाचनले सबै राजनीतिक पार्टीहरुको राम्रो ढंगले परिक्षण गरेको छ । यसपटकको निर्वाचनले हामी ठूला हौँ, हामी नै सबैभन्दा अगुवा हौँ भन्ने राजनीतिक पार्टीहरूको शल्यक्रिया नै गरेको छ । सबै राजनीतिक पार्टीहरूले यो निर्वाचनको नतिजालाई अत्यन्त गहन ढंगले अध्ययन गर्नु, विश्लेषण गर्नु जरुरी छ ।
नेकपा (एकीकृत समाजवादी)ले नतिजालाई कसरी विश्लेषण गरेको छ ?
हामी अत्यन्त निर्ममतापूर्वक निर्वाचन प्रक्रिया र त्यसका नतिजाको समीक्षा गर्दै छौँ । सामान्य रुपमा हेर्दा यो गठबन्धनले तालमेल गर्ने कुरा अत्यन्तै ढिलो गर्यो । निर्वाचनको लागि उम्मेवारी चयन गर्नुपर्ने भन्दा ठीक एक दिनअघि तालमेलबारे निर्णय भयो । त्यसले गर्दा गठबन्धनका धेरै पार्टीहरूलाई, खासगरी हाम्रो पार्टीलाई निर्वाचनको तयारी गर्ने समय विलकुलै पुगेन ।
र, निर्वाचनको प्रक्रियालाई हेर्दा दुईटा ठूला दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मात्रै अधिकांश स्थानमा गठबन्धन भएको देखियो । पाँच दलबीचको गठबन्धन वा तालमेल एकाध ठाउँमा मात्रै भयो । अधिकांश ठाउँमा तालमेल नै भएन । यसपटकको निर्वाचनको सम्पूर्ण प्रक्रियालाई हेर्दा पाँचदलीय गठबन्धनमा चुनावी तालमेल गर्ने सन्दर्भमा कमजोरी भए नै ।
गठबन्धनकै कमजोरीले एकीकृत समाजवादीले सोचेजति सिट जित्न नसकेको हो त ?
हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौँ । किनभने, यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । हाम्रो असन्तुष्टि पाँचदलभित्र पनि राखेका छौँ । हामी आफैँ पनि समीक्षा गर्दै छौंँ । अब हामी ठ्याक्कै यो समीक्षाको बीचमा छौँ । समीक्षा गरिसकेपछि के–के निस्कन्छ, त्यस आधारमा हामी अगाडि बढ्छौँ । देशव्यापी रुपमा बस्तुगतस्थिति बुझेर सोही आधारमा हामी प्रस्तुत हुने छौँ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरुलाई खटाएका छौँ ।
स्थापना भएको सात महिनामै नेकपा (एकीकृत समाजवादी) पार्टीले महानगर, उपमहानगरसहित २० पालिकामा प्रमुख र २४ पालिकामा उपप्रमुख जितेको छ । गठबन्धन नभएको भए अहिलेको जति उपलब्धि प्राप्त हुन्थ्यो त ?
गठबन्धन नभएको भए पनि हामीले राष्ट्रव्यापी रुपमा आफ्ना उम्मेदवारहरू खडा गर्न सकेको भए, हाम्रो पार्टीले ठूलो जनमतको प्रतिनिधित्व गर्ने थियो । हामीले धेरैजसो ठाउँमा उम्मेदवार नै उठाउन नपाएको कारणले हाम्रो मतलाई सुरक्षित मात्र गर्न पनि सकिएन । एकातिर हामीले आफ्नो मतलाई राष्ट्रव्यापी रुपमा सुरक्षित गर्दै अगाडि बढ्नुपर्ने थियो भने अर्कोतर्फ तालमेलको प्रक्रियालाई पनि सम्भव भएका ठाउँहरूमा अगाडि बढाउनुपर्ने थियो । केही ठाउँहरूमा तालमेल त भयो ।
खासगरी महानगरपालिका र उपमहानगरपालिकामा भएको तालमेल मुलतः ठिकै देखियो । तर, नगरपालिका र गाउँपालिकामा खासै तालमेल भएन । सोचेअनुसार तालमेल नहुँदा पनि हामीले जुन उपलब्धि हासिल गरेका छौँ, त्यो मूल्यवान कुरा नै हो । हामी एकल ढंगले निर्वाचनमा अगाडि बढेको भए, अहिलेको भन्दा धेरै ठाउँमा उपलब्धि प्राप्त गर्न सक्थ्यौँ ।
हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौँ । किनभने, यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । हाम्रो असन्तुष्टि पाँचदलभित्र पनि राखेका छौँ । हामी आफैँ पनि समीक्षा गर्दै छौंँ । अब हामी ठ्याक्कै यो समीक्षाको बीचमा छौँ । समीक्षा गरिसकेपछि के–के निस्कन्छ, त्यस आधारमा हामी अगाडि बढ्छौँ । देशव्यापी रुपमा बस्तुगतस्थिति बुझेर सोही आधारमा हामी प्रस्तुत हुने छौँ ।
तालमेलमा समस्या कहाँ देखियो, धेरै मत बदर हुने अवस्था कसरी आयो ?
पहिलो कुरा त तालमेल भएकै ठाउँमा पनि स्वच्छता र अनुशासन देखिएन । कतिपय ठाउँमा एउटा पार्टीले अर्को पार्टीलाई तालमेल अनुरुप मतदान गरेकै देखिएन । कतिय ठाउँहरूमा निर्वाचन आयोगले अन्तिम समयमा आएर मतपत्र बदलीदिएको हुनाले धेरै मतपत्र बदर हुन पुगे । नेपाली जनताको बालिग मताधिकारको अधिकारमाथि यस पटकको निर्वाचन प्रक्रियामा कुठाराघात हुने काम भएको छ । यसको बारेमा पनि समीक्षा गरेर जिम्मेवार को हो भन्ने कुरामा निक्र्योल गर्नुपर्ने छ ।
जस्तो, काठमाडौंमा एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठलाई हालेको मतपत्र मध्ये ६० हजारभन्दा बढी मत बदर हुन पुगेका छन् । उहाँले झन्डै २४ हजार मत प्राप्त गर्नुभयो । ६० हजारमध्ये ५० हजार मात्रै श्रेष्ठको पक्षमा आएको मान्ने हो भने पनि रामेश्वर श्रेष्ठले प्राप्त गरेको मत सबैभन्दा बढी थियो भन्ने निष्कर्ष निस्कन्छ । जुन मत बदर भयो, त्यो नै हाम्रो पार्टी पराजित हुने मुख्य कारणको रुपमा देखा परेको छ ।
काठमाडौं महानगरपालिकासहित, धनगढी उपमहानगरपालिका, धरान उपमहानगरपालिका लगायतका केही पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यसले दलहरूलाई फरक ढंगले सोच्नुपर्ने अवस्थामा पुर्याइदिएको हो ?
जसले जुन रुपमा जस्तो चुनाव चिह्न लिएर विजय प्राप्त गर्नुभएको छ, उहाँहरू सबैलाई सबभन्दा पहिले म हार्दिक स्वागत गर्न चाहन्छु, बधाई दिन चाहन्छु । अब सबै पार्टीहरूले मूल्यांकन गर्दा आ–आफ्ना अनुहारहरू अलि ठूलै ऐना राखेर राम्रो ढंगले हेर्नुपर्ने सन्देश यो निर्वाचनले दिएको छ । सबै पार्टीहरूले आफ्नो भविश्य कता जाँदै छ भन्ने बारेमा राम्रो ढंगले निष्कर्ष निकाल्न, विश्लेषण गर्न जरुरी छ । र, सोही ढंगले आगामी दिनका यात्राहरू तय गर्न जरुरी भइसकेको छ । यो निर्वाचनले ठूला हौँ भन्ने पार्टीहरूको सामू गम्भीर प्रश्नहरू ल्याइदिएको छ ।
आठ महिनामै मन्त्री हेरफेर गर्नुपर्ने आवश्यकता किन पर्याे ?
मन्त्रीहरूलाई सुरुमै ६ महिनाका लागि भनिएको थियो । स्थानीय तह निर्वाचनका कारण केही ढिला भयो । पार्टीका तर्फबाट भएका मन्त्री परिवर्तन गर्ने निर्णय भएको छ । सचिवालय बैठकबाट हामीले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेका हौँ । पूरै सेट नै परिवर्तन गरिएको छ । अब, नयाँ साथीहरूले काम गर्नुहुन्छ ।
देशभरका नेता तथा कार्यकर्ता र आम पाठकप्रति तपाईंको आग्रह के छ ?
हाम्रो देश २०६२–०६३ सालको जनक्रान्तिपछि जनवादी क्रान्ति सम्पन गरेर समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको छ । हामी त्यही युगबाट अगाडि बढिरहेका छौँ । अब, हाम्रो युग भनेको वैज्ञानिक समाजवाद हो ।
त्यो वैज्ञानिक समाजवाद प्राप्त गर्नका निम्ति यो देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरू एकजुट हुनुपर्ने, एकतावद्ध हुनुपर्ने र सम्पूर्ण जनता र राष्ट्रलाई नै एकतावद्ध बनाएर दलाल पूँजिवाद, साम्राज्यवाद, प्रभुत्ववाद र नवउपनिवेशवादका विरुद्ध सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यो आवश्यकता बोध गर्दै हामी समाजवादी क्रान्तिको बाटोमा दृढतापूर्वक अगाडि बढौँ भन्ने आग्रह गर्न चाहन्छु ।