काठमाडौं , ३० अषाढ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन् । त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन् । शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन् ।
चार दिन नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्नेछन्। त्यस क्रममा आइतबार नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटिसकेका छन् । सत्तारुढ दल नेकपाको युवा संगठनको निम्तोमा उक्त टोली काठमाडौं आएको हो ।
भ्रमणमा आउँदा राष्ट्रपतिका छोरा, मन्त्री र टोलीका अन्य सदस्यले आवतजावत गर्ने साधारण कक्ष प्रयोग गरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट काठमाडौं प्रवेश गरेका थिए । नेपालका लागि भेनेजुएलाका आवासीय राजदूत कोरोमोतो गेदाई क्लाल्डरनले मात्र भीआईपी कक्ष प्रयोग गरेका थिए ।
राष्ट्रपतिका छोरा मादुरो गुयरा विशेष सैनिक फौज (कर्पस् अफ स्पेसल इन्स्पेक्टर्स अफ दि प्रेसिडेन्सी) का प्रमुख हुन् । यसले राष्ट्रपति कार्यालयबाट भएका निर्णय कार्यान्वयन एवं प्रभावको सुपरिवेक्षणसमेत गर्छ । उनी पार्टी र संसद्मा समेत छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छापिएको छ ।