साथीको बुबालाई पक्षघातले पिरोल्यो । खबर सुनेपछि शनिबार बिहानको खानपछि विर्तामोडको विर्तासिटी अस्पताल पुगेँ । जहाँ बुबाको उपचार हुँदैछ । बुबाको अवस्था बुझ्दाबुझ्दै डाक्टर राउन्डा आए । म मोबाइल झिकेर बाहिर निस्केँ ।
एउटा न्यूज पोर्टलले तयार पारेको समाचारले फेसबुक तातिएको रहेछ । समाचारको शीर्षक थियो– ‘सिहदरबार भ्रष्टाचारको अखडा बन्यो, राजीनामा दिएर हिँडौझैँ लाग्छ ।’
बहालवाला सचिवको भनाइमा आधारित समाचार रहेछ । उक्त समाचार अधिकांश युवाले शेयर गरेका थिए । समाचारमात्र शेयर गरेनन्, हरेक शेयरमा युवाको आक्रोश थियो, राजनीतिक बेथितप्रति अनेक प्रश्न गरेका थिए ।
समाचार नौलो थिएन । तर, अर्थपूर्ण पक्कै थियो । ‘सिहदरबार भ्रष्टाचारको अखडा बन्यो, राजीनामा दिएर हिँडौझैँ लाग्छ’ भन्दै बहालवाला सचिवले आफैँलाई पनि प्रश्नको घेरामा राखेका थिए । भ्रष्टाचार सामान्य विषय होइन ।
कर्मचारीतन्त्र नीतिगत भ्रष्टाचारको पर्यायजस्तै रहेको आरोप लाग्ने गरेको छ । हरेक दिन भ्रष्टाचारको समाचार पढिरहेका हामीलाई प्रस्तुत समाचारले खासै नछोला । तर, न्यूजमेकर बहालवाला सचिवको निराशायुक्त चित्कारले भने सचेत नागरिकलाई एक पटक होइन पटक–पटक सोच्न बाध्य बनाउँछ ।
०००
अस्पतालबाट फर्कँदै थिए । बाटोमा एक युवा नेतासँग भेट भयो । चिया पिउने सल्लाह भयो । चिया अर्डरपछि कुराकानी सुरु भयो । विषय राजनीति नै हुने भयो ।
राजनीतिमा समर्पित अधिकांश युवामा देश र जनताका लागि योगदान गर्ने दृढ इच्छाशक्ति हराउँदै गएको छ । अधिकांशमा निराशाले अप्ठ्यारो गरी ठाउँ बनाएको छ । यसका अनेक कारण छन् ।
निराशायुक्त दाइको अभिव्यक्तिले चियाका चुस्कीहरुमा स्वाद हरायो । उनका आधा कुरामा सहमत हुनसक्छु, पूर्ण सहमत हुन सक्दिनँ ।
दाइ भन्दै थिए- ‘मलाई यस्तो ठाउँमा फसेजस्तो लाग्छ, जहाँबाट उम्किन मनले मान्दैन । यहीँ ठाउँमा (राजनीति) बसेर काम गर्न पनि मेरो आचारणले दिँदैन । वर्तमान राजनीतिले समातेको गलत बाटो अंगिकार गर्ने प्रवृत्ति मसँग छैन । बेलैमा युरोप गएको भए भविष्य त बन्थ्यो ।’
भनिन्छ– ‘पोलिटिक्स इज कमाण्ड ।’ यो भनाइमा सत्यता छ । र, अर्थ पनि । आज राजनीतिले ठीक दिशा समातेको भए, गलत ट्रेण्ड विकास नभएको भए र नेताको नियत सफा भएको भए यति धेरै निराशायुक्त कुराहरुले ठाउँ पाउने थिएन । एक कर्मचारीले भ्रष्टाचारका कारण पेशा नै छोड्छु भन्ने दिन आउँदैन्थ्यो । राजनीति त्यागेर विदेश पलायन हुने सोंच तमाम् युवामा पक्कै आउने थिएन ।
फेसबुक तताएको समाचारले अशान्त मनमा दाइको निराशाले अर्को छाल हान्यो ।
०००
युवाको चाहना
स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भयो । निर्वाचनका क्रममा धेरै युवासँग अन्तरसंवाद गर्ने मौका मिल्यो । राजनीतिले ठीक दिशा समात्दा र गलत बाटो पछ्याउँदा भोग्नुपर्ने अनेक समस्याबारे अनेक कोणबाट मन्थन गरियो ।
राजनीतिक आस्था फरक छ । तर, विकास, समृद्धि र परिवर्तन आम युवाको साझा मुद्दा हो । देश विकास आम युवाको साझा सपना र चाहना हो ।
आजका युवाको चाहना- देश सुशासनयुक्त होस्, नागरिकका शिक्षा, स्वास्थ, रोजगारी जस्ता आधारभूत कुराहरुको जिम्मा राज्यले लिओस्, युवाले स्वदेशमा काम गर्ने वातावरण बनोस् ।
युवा ‘पोलिटिक्स इज कमाण्ड’ भन्ने कुरामा सहमत छन् । त्यसैले, राजनीतिक आकाशमा मडारिरहेको अस्थिरताको गोलचक्कर सधैंका निम्ति अन्त्य गर्दै स्थिर राजनीतिक प्रणालीको विकास अपरिहार्य ठान्छन् ।
व्यवस्था परिवर्तनका लागि योगदान गर्ने नेतृत्व गलत थिएनन् । तर, आज तिनै नेतृत्वमा समस्या देखियो । नेतृत्व समस्यामा फस्दा विगतका आन्दोलनबारे भ्रम छरिएको छ । ऐतिहासिक जनयुद्ध र जनआन्दोलनको महत्वलाई गलत व्याख्या गर्न गलत शक्ति जुर्मुराएका छन् । उपलब्धीहरु गुम्ने खतरा बढेको छ । त्यसैले त युवा आक्रोस पोख्छन- ‘नेतृत्वले सबथोक बनाए, सबथोक बिगारे ।’
आजका युवा स्वतन्त्रता चाहन्छन् । युवाको चाहना बाँधेर बाँध्न, रोकेर रोक्न वा खोसेर खोस्न कसैले सक्दैन ।
आधुनिक विकासको पिँधमा रहेका दुर्गम क्षेत्र होस् वा सुविधासम्पन्न आधुनिक मानिएको काठमाडौं या धरान । स्थानीय तह निर्वाचनका क्रममा युवाले तत् तत् ठाउँबाट संकेत गरेका छन् ।
आजका युवा काठमाडौं र धरानजस्ता सुविधायुक्त आधुनिक शहरका विद्रोही युवालाई मिहीनरुपमा हेरिरहेका छन् ।
हामीले अवलम्बन गरेका राजनीतिक प्रणालीमा ‘राजनीतिक दलको विकल्प राजनीतिक दल नै हो’ भन्ने कुरा युवाले राम्ररी बुझेका छन् । तर, राजनीतिक नेतृत्वमा मौलाएको गलत प्रवृत्तिसँग युवा आतिज छन्, निराश छन् ।
बालेन र हर्कहरुको विद्रोहले दलहरुलाई नवीकरणका लागि अन्तिम मौका दिएको कुरा नकार्न सकिँदैन । यो मौका गुमाए राजनीतिक दलको अस्तित्व खतरामा पर्ने कुरा जनसंख्याको सबैभन्दा ठूलो हिस्सा युवाले राम्ररी बुझेका छन् । यो कुरा कसैले नकार्न सक्दैन ।
मर्क्सवादले भन्छ- ‘बिद्रोह जनताको अधिकार हो । जनता कुनै न कुनै रुपमा बिद्रोह गर्छन्, कसैको एकाधिकार स्वीकार्दैनन् ।’
आजको समाज त्यो अवस्थामा पुगेको छ, जहाँ बिद्रोहबाहेक अर्को विकल्प छैन । युवा एकाधिकार रुचाउँदैनन् ।
विज्ञान र प्रविधिको विकाससँगै चेतनाको दायरा फराकिलो बन्दै गएको छ । आजका युवा विश्वको राजनीतिक इतिहास, वर्तमान राजनीतिक अवस्थिति, प्रविधिको विकासले मानव जगतमाथि गरेको हस्तक्षेप, इन्टेलेक्चुअल इन्टेलिजेन्सि, जियो पोलिटिक्सलगायत तमाम विषयमा ज्ञान राख्ने युवा आफूलाई त्यतातिर समाहित गराइरहेका छन् ।
आजका युवा अद्भूत आलोचनात्मक चेत राख्दछन् । तर, नेतृत्व पुस्ता युवाको चेतनालाई ‘उत्ताउलोपना’को बिल्ला भिराएर नजरअन्दाज गर्छन् । आफू समयसापेक्ष परिमार्जन हुन नसक्ने नेतृत्वले युवाको कुरा सुन्न नसक्नु नै आजको समस्या हो ।
०००
नेतृत्व पुस्ता निर्वाचन जित्नु सबैभन्दा ठूलाे उपलब्धी मान्छन् । निर्वाचन त पञ्चेहरुले पनि जितेका थिए भन्ने उनीहरुले बोध गर्न सकेका छैनन् । तर, आजका युवा जनउत्तरदायी भूमिका महत्वपूर्ण मान्छन् ।
युवाको सेन्टिमेन्ट पुरानो पुस्ताले ‘क्याचअप’ गर्न नसक्नु र युवा पुस्ताले नयाँ कुरा जनतालाई बुझाउन नसक्नु आजको समस्या हो । नेतृत्वलाई बारम्बार प्रश्न गर्ने युवा जमातले जनतालाई आजको सन्दर्भ र आवश्यकता बुझाउन नसक्नु अर्को समस्या हो ।
०००
आजको समस्या
सिद्धान्त र व्यवहार मिलेको छैन । भन्दा ‘राजनीतिले सबै कुराको कमाण्ड गर्छ’ भनियो । तर, आजको परिस्थिति त्यस्तो छैन । आज राजनीतिक दल कमजोर भएर दलका निहीत व्यक्ति शक्तिशाली बन्दै गएका छन् । यो प्रवृत्तिले दुर्घटनातर्फ लैजाँदै छ ।
जनमतलाई स्वार्थ पूरा गर्ने साधनको रुपमा प्रयोग गर्ने गलत मानसिकतामा परिवर्तन आउन सकेको छैन । निर्वाचनको बेला शक्तिशाली मानिने जनता मतदान सकिएलगत्तै सबैभन्दा ‘नादान’ ठहर्याउने प्रवृत्ति यथावत छ । जनताकै बलमा व्यवस्थासमेत परिवर्तन भयो । तर, जनजीविकाको सवाल झनै नाजुक बन्दै गएको छ ।
नेतृत्वले राजनीतिलाई ठीक दिशावोध गर्न नचाहँदा हुनेहरु दिनप्रतिदिन शक्तिशाली बन्दै जाने र नहुनेहरुले झनै गुमाउँदै जाने परिस्थिति बनेको छ । राजनीतिक नेतृत्व विकास र समृद्धिका कुरा गरेर थाक्दैनन् । तर, विकास र समृद्धि सत्ताको ‘तरमारा’हरुका लागि मात्र भएको छ ।
निर्वाचनले एजेण्डाको आधारमा प्रतिस्पर्धा गर्ने हैसियत गुमाइसकेको छ । मुद्दाको आधारमा नभएर पैसाको भरमा प्रतिस्पर्धा गर्ने अति भ्रष्ट प्रवृत्ति मौलायो । पैसाको भरमा बाँचुञ्जेल लाभको पदमा बस्न चाहनेहरुको जित हुँदै गएको छ ।
एकथरी मान्छे, नेताको वरिपरि घुमेर धेरै भन्दा धेरै लाभ लिन चाहन्छ । एकथरी, नेता समातेर नेता नै नेता भइन्छ भन्ने दास मानसिकतामा बाँचेका छन् । यी सबै अनधिकृत लाभ चाहको उपज हो । मान्छेले मान्छेलाई नै अधिकतम प्रयोग गरेर व्यक्ति हिरो हुने प्रवृत्तिबाट नेपाली राजनीति उठ्न थोरै समयले पुग्ने देखिन्न ।
एक व्यक्ति निजी गाडीमा हुँइकिँदैमा उसको आर्थिक विकास मापन गर्न त सकिन्न । तर, बहुसंख्यक जनता सार्वजनिक बस चढ्न पनि नसक्ने अवस्थामा रहेको सत्य भूल्न सकिन्न ।
हुनेखानेका सन्तान निजी विद्यालयमा आरामले शिक्षा प्राप्त गर्छन् । तर, आर्थिक रुपमा अति विपन्न र आधारभूत तहका बालबालिकाले त समयमा पाठ्यपुस्तक पनि पाउँदैनन् । संविधानमा शिक्षालाई मौलिक अधिकार भनेका हामीले हाम्रो वस्तुगत अवस्था नजरअन्दाज गरिरहेका छौं ।
०००
समाजवादको आधारका रुपमा आर्थिक विकासलाई मानिएको छ । आर्थिक विकास उत्पादन र निर्यातमा निर्भर रहन्छ । उत्पादन र निर्यात दुवै नबढाएसम्म त्यो सम्भव छैन । हाम्रो देशमा आर्थिक विकासको मूल आधार कृषि हो । तर, राज्यको प्राथमिकतामा कृषि पर्दैन ।
आधुनिक कृषि प्रणालीमार्फत समृद्ध नेपालको परिकल्पना नगरिएको होइन, सपना नदेखिएको हो । र, असम्भव पनि होइन । तर, खेतीयाममा मल नपाएका कृषक बाली लगाउन सक्ने अवस्थामा छैनन् । वर्षौदेखि यस्तै समस्या छ ।
किसान समयमा मल पाउँदैनन्, आवश्यक सिँचाइको व्यवस्था छैन । उन्नत जातको बिउ दिन सरकार तयार छैन । यस्तो अवस्थामा कृषकले दुःखले उत्पादन गरेको कृषि उत्पादनको जिम्मा लिने ल्याकत सरकारसँग हुने कुरै भएन ।
कृषक दुःखले उत्पादन गर्छन् तर बजार पाउँदैनन् । सरकार स्वदेशी उत्पादनको बजार खोज्न चाहँदैन । बरु, विदेशबाट आयात गर्न तत्पर हुन्छ ।
यस्तो प्रवृत्तिले समाजवादी यात्रा तय हुँदैन । यसले विघटनको दिशातर्फ लैजान्छ ।
०००
समाजवादको यात्रा तय गरेको देशमा दलाल पुँजीवादका प्रवर्द्धकहरू संसदका रोस्टमबाट समाजवादका कुरा गर्छन् । निस्कनै नसक्ने गरी भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेता सुशासनको चर्को नारा लगाउँछन् ।
महिलालाई सधैं साधनको रुपमा हेर्ने र बारम्बार उनको क्षमता र निरन्तरतामाथि प्रश्न उठाउँदै अविश्वास गर्नेहरु नै समानुपातिक समावेशिताको कुरा गर्छन् । बुर्जुवा दलदलबाट उम्कनै नसक्ने गरि जाकिएहरु नै प्रगतिशील कुरा गरेर थाक्दैनन् । यो हाम्रा लागि अभिषाप हो ।
नेतृत्व यस्ता भए, जो गल्ती भन्डारण गर्ने ठाउँसमेत नराखी गल्तिहरु गरिरहँदा अब पछाडि फर्केर हेर्न सक्ने क्षमता उनीहरुसँग छैन । विचार, आदर्श र सिद्धान्तबाट च्युत नेतृत्वमा जवाफदेहिता र पारदर्शिताको अपेक्षा गर्ने ठाउँ छैन ।
०००
अब के गर्ने ?
विगतका राजनीतिक आन्दोलनमा युवाले जनचाहनालाई केन्द्रमा राखेका थिए । सबैखाले परिवर्तनकामी अग्रगामी आन्दोलनका लागि युवाले निःस्वार्थ त्याग गरे, बलिदान दिए । आज पनि युवाबाट अपेक्षा गरिएको यो नै हो । गलत दिशा समातेको राजनीतिलाई ठीक दिशावोध गर्न युवाबाट सोही त्यागको अपेक्षा गरिएको छ ।
गल्ती दुई प्रकारका हुन्छन् । एक, नियतवस गरिने । अर्को, अन्जानमा हुने । आज अञ्जानमा बाटो भूलेका नेतृत्वलाई यसै आधारमा सहि बाटोमा डोर्याउने जिम्मेवारी युवाको काँधमा छ । नियतवस बाटो मोडेकाहरुलाई पनि ठीक दिशामा ल्याउन जिम्मेवारी युवाकै हो ।
राजनीतिक आस्थाको घेराबाटा बाहिर निस्केर युवाले आफ्ना र अरुलाई समान रुपमा उनीहरुको नियतबारे प्रश्न गर्दै निरन्तर खबरदारी र राम्रा कामका लागि सहयोग गर्नुपर्ने जिम्मेवारी युवाकै हो ।
चिन्तनमा समानता भएका व्यक्तिहरुको समूहबाट प्रगतिशील समाज निर्माण सम्भव छ । त्यसैले आजका युवाले चिन्तनमा समानता भएको ठूलो तप्कालाई नेतृत्व गर्न सक्नुपर्छ । समाजका प्राज्ञिक, बौद्धिक र सिर्जनशील वर्गको नेतृत्व गर्दै युवाले प्रगतिशील समाज निर्माणमा योगदान गर्नुपर्छ ।
नयाँ स्वरुपको समाज निर्माणका लागि विकृति र विसङ्गतिका स्तम्भहरु ढाल्नुपर्छ । इतिहास पढौं । युवाले चाहेमा सम्भव छ । आजसम्मका क्रान्ति र नयाँ काम युवाकै नेतृत्वमा भएको छ ।
कम्युनिष्ट घोषणापत्र लेख्दा काल मार्क्स, अभूतपूर्व आविस्कार गर्दा अल्बर्ट आइन्स्टाइन, रेडियम पत्ता लगाउँदा म्याडम क्युरि ४० वर्षभन्दा कम उमेरका थिए । अर्थात, युवाकै नेतृत्वमा अभूतपूर्व परिवर्तन भएका छन् ।
०००
युवामा व्यक्तिगत स्वार्थ हुँदैन । युवा सामूहिक विकासलाई नै आफ्नो विकास ठान्छ । त्यसैले अब युवाले ‘म’ भन्ने व्यक्तिवादी घेरा तोडेर ‘हामी’ भन्ने सामूहिक संरचना विकासमा भूमिका खेल्नुपर्छ ।
युवा आशावादी हुन्छन् । तर, अरुमा निर्भर हुन सक्दैनन् । अर्थात आशावादी हुन्छन् तर अरुमा निर्भर हुँदैनन् । यो युवाको विशिष्ट पहिचान हो । यसको अर्थ, आजका युवालाई अग्रजले केही गरेनन्, सबै बिगाररे भनेर बस्ने छुट छैन ।
युवाले श्रमलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ । श्रमका अनेक प्रकृति होला त्यो स्वीकार्न तयार हुनुपर्छ । उत्पादन प्रकृया र विकासको सुरुवात सँगै सम्भव छ । त्यो श्रममा निर्भर हुन्छ । युवाले गर्ने श्रमले समाजवादका सुन्दर विशेषताहरुलाई जोगाउँदै समाजवादी यात्रालाई मजबुत बनाउन ठूलो योगदान पुर्याउने छ ।
युवा चेतनामा नवप्रवर्तन खाँचो छ । अध्ययनशील, वैचारिक र बौद्धिक युवा खाँचो छ । जसले, सहीलाई सही र गलतलाई गलत देखोस् । जसले निर्धक्क र स्वतन्त्र रुपमा नेतृत्वमाथि प्रश्न गर्न साकोस, अभिमत जाहेर गर्न सकोस् । पदको होइन विचारको राजनीति गरोस् । लाभको होइन, त्यागको राजनीति गरोस् । राजनीतिमा आउन चाहने युवालाई प्रोत्साहीत गर्न सकोस् । कसो सम्भव नहोला हामीले देखेको समृद्ध नेपाल ? अवश्य सम्भव छ ।
(लेखक अखिल क्रान्तिकारीका नेता हुन् ।)