Logo
Logo

चोरी सिकारीको आरोपमा तीन महिनदेखि कुकुर थुनामा


3.7k
Shares

मुगु । डिभिजन वन कार्यालय मुगुमा तीन महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ  । चोरी सिकारी गरेको आरोपमा उक्त कुकुरलाई थुनामा राखिएको हो ।

गत फगुन २४ गते शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा जंगली जनवार चोरी सिकारी गरेका आरोपमा गुम कार्मारोङ गाउँपालिका–१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावाछोर्देन, टासी तामाङ र छिमेक तामाङ समातिएका थिए  । उनीहरूका साथमा उक्त कुकुर पनि थियो ।

प्रहरी चौकी पुलु मुगुले पक्राउ गरेको चार व्यक्तिसहित कुकुरलाई डिभिजन वन कार्यालय मुगुलाई बुझायो । जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरूलाई वन कार्यालयले मुद्दा चलायो ।

जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावाछोर्देन जेठ १२ मा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भए । टासी र छिमेक साधारण तारेखमा छुटे ।

तर उनीहरुसँगै पक्राउ परेको कुकुर भने अझै थुनामै छ । प्रतिवादी नभएको कारण देखाउँदै डिभिजन मुगुले सिकारी कुकुरलाई थुनामै राखेको हो । वन कार्यालयले चलाएको मुद्दामा चार जना मात्र प्रतिवादी थिए ।

कुकुरको विषयमा अदालतले केही नबोलेपछि कुकुरलाई थुनामा राखेको वन कार्यालय मुगुले जनाएको छ । वन कार्यालयका सूचना अधिकारी प्रनिल देवकोटाले भने- ‘ कुकुरको बारेमा अदालतले केही नखुलेपछि कसैलाई बुझाएको छैनौं । कुकुरलाई वन कार्यालयमै सुरक्षित राखेका छौँ ।’

वन्यजन्तुलाई हानिनोक्सानी र्पुयाउने भएकाले वन कर्मचारीहरू उक्त कुकुरलाई त्यसै छाड्ने पक्षमा छैनन्  ।

राष्ट्रिय निकुञ्ज ऐनअनुसार आदेश लिएर सिकारी कुकुरलाई मार्ने अधिकार रहेको छ । तर, अदालतबाट कुनै आदेश नआएकाले त्यतिकै छाड्ने या मार्ने भन्ने टुंगो नलागेको वन कार्यालयाले जनाएको छ ।

कुकुरको रेखदेख वन कार्यालयले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्