काठमाडौं । नेपाल प्रहरीमा यतीबेला प्रशासनतर्फ आठ एआइजी कार्यरत छन् । उता, डिआइजीको संख्या भने तीन मात्र रहेको छ ।
प्रहरीमा प्रशासनतर्फ डिआइजीका २० पद रहेकोमा त्यसमध्ये १७ पद रिक्त छन् । डिआइजीका पद रिक्त भएको महिना दिन नाघिसकेको छ, तर सरकारले अझै बढुवाको तयारी थालेको छैन । डिआइजी बढुवा लम्बिदा एकातर्फ सयौं प्रहरीको करिअरमा असर परेको छ भने अर्काेतर्फ धेरै कार्यालयमा इन्चार्ज नहुँदा पुलिसिङ पनि असर परेको छ । बढुवा छिटो नहुँदा विचौलियाहरुले चलखेल गर्ने अवसर पाएका छन् ।
सरकारले नियोजित रुपमै बढुवा लम्बाएको स्रोत बताउँछ । नत्र १७ पद रिक्त हुँदा पनि रोक्नुपर्ने कारण छैन । बढुवा रोकेर प्रधानमन्त्री तथा गृहमन्त्री निकट व्यक्तिहरु नै चलखेलमा लागेका हुन् । यसले बढुवामा ठूलो चलखेल हुने संकेत देखिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री पत्नी आरजु देउवा भारत भ्रमणमा गएकाले पनि प्रहरी बढुवा प्रभावित भएको हो । सुरक्षा निकायको बढुवामा आरजु हाबी हुने गर्दछिन् । भाई भूषण तथा पिए प्रकाश देउवा र केही सहयोगी समेत लिएर उनी भारत गएकी छिन् । प्रहरीका उच्च तहको सरुवा–बढुवामा पूर्ण रुपमा बालुवाटार हावी हुँदै आएको छ ।
डिआइजीका १७ पदमा मुख्यगरी २७ एसएसपीबीच प्रतिस्पर्धा छ । त्यसमा पनि टप तीनभित्र पर्ने प्रतिस्पर्धा चर्काे छ । अहिलेको बढुवामा उमेशराज जोशी, रामदत्त जोशी, बसन्तबहादुर कुँवर, भरत बोहरा, अशोक सिंह, किरण राणा, दीपक थापा लगायत राजनीतिक पहुँचमा बलियो देखिएका छन् । जसकारण यसअघिको बढुवामा अग्रस्थानमा रहेका सन्दीप भण्डारी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली लगायत पछि पर्ने सम्भावना देखिएको छ । आइजिपी धिरजप्रताप सिंहले नेताको घर धाउने प्रहरीको रेकर्ड राखिने बताएपनि केही एसएसपीहरु दैनिक जसो नेता र बिचौलियासँग देखिने गरेका छन् । आइजिपीलाई ठाडो चुनौती दिने ती एसएसपीलाई कारबाही हुन सकेको छैन ।
एसएसपी बढुवा हुँदा पहिलो लटमा परेका १३ जनाको टोलीमा सन्दीप भण्डारी, टेक प्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दिपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेक बहादुर तामाङ, बसन्त बहादुर कुँवर र भिम प्रसाद ढकाल छन् ।
त्यसपछि १४ जनाको टोली पनि अहिले बलियो छन् । जसमा जनक भट्टराई, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल, चन्द्रकुबेर खापुङ बढुवा भएका थिए ।
गत वर्ष एसएसपी भएक पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोख्रेल, विकासराज खनाल लगायतले पनि अहिले बढुवामा पर्ने प्रस्ताव गरिरहेका छन् ।
बढुवाको मुखमा केही एसएसपीलाई भने प्रदेशमा बजेटको अनुगमनमा पठाइएको छ । सन्दीप भण्डारीलाई प्रदेश १, टेकप्रसाद राईलाई मधेस प्रदेश, श्यामलाल ज्ञवालीलाई बागमती, दीपक थापालाई उपत्यका, भरत बोहरालाई गण्डकी, बुद्धीराज गुरुङलाई लुम्बिनी, चन्द्रकुबेर खापुङलाई कर्णाली र रामदत्त जोशीलाई सुदुरपश्चिम खटाइएको छ । स्थानीय तहको निर्वाचनमा बजेट खर्च पारदर्शी भए–नभएको छानबिन गर्ने जिम्मेवारी उनीहरुलाई दिइएको छ । सबै एसएसपीहरु प्रदेश पुगेर फर्किसकेका छन् ।
यसरी समयमा बढुवा नहुँदा यतीबेला प्रहरीका चार प्रदेश निमित्तका भरमा चलेका छन् । अन्य कतिपय कार्यालयमा पनि समस्या छ । डिआइजी बढुवामा ढिलाई हुँदा एसएसपी, एसपी लगायतको बढुवा समेत प्रभावित बनेको छ । असारभित्र बढुवा हुन नसके कात्तिक लाग्ने हुन्छ । तर, बढुला लम्बाएर सकेसम्म फाइदा लिने रणनीतिमा सरकार लागेको छ ।