काठमाडौं । अमेजन जंगलबाट हराएका भनिएका एक पत्रकार र आदिवासी विज्ञलाई गोली हानी हत्या गरिएको खबर सार्वजनिक भएको छ ।
ब्रिटिश पत्रकार डोम फिलिप्स र ब्रजिलका आदिवासी विज्ञ बु्रनो पेरेइरालाई गोली हानेर मारेको एक सन्दिग्धले स्वीकारेको ब्राजिल प्रहरलाई उदृत गर्दै बीबीसीले जनाएको छ । उनीहरु बृत्तचित बनाउने क्रममा अमेजन जंगलबाट हराएका थिए ।
बीबीसीका अनुसार अनुसन्धान अधिकारी एडुआर्डो फोन्टेसले अमारिल्डो नाम गरेका सन्दिग्धले अनुसन्धानकर्तालाई एक स्थानमा लगेका थिए, जहाँ खनेर मानव अवशेष निकालिएको छ । शवको पहिचान गर्नका लागि ब्रजिल प्रहरीले इन्टरपोलसँग मिलेर काम गर्ने बताइएको छ ।
यसैबीच सो घटनामा संलग्न भएको आशंकामा दुई दाजुभाइलाई पक्राउ गरिएको छ । अनुसन्धान अधिकारी फोन्टेसले भनेका छन्, ‘पहिलो सन्दिग्धले अपराधबारे विस्तृत रूपमा बताउँदै शवहरू पुरेको स्थानबारे संकेत गरेका थिए ।’ अर्का सन्दिग्ध ओसिनी डा कोस्टा डे ओलिभेइराले आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
यही जुन ५ तारिखदेखि ५७ वर्षीय फिलिप्स र ४१ वर्षीय पेरेइरा अमेजन जंगलको दुर्गम भेगबाट हराइरहेका थिए । एक वक्तव्यमार्फत् फिलिप्सकी श्रीमती एलेसान्ड्रा साम्पाइओले सो कुरा जानकारी गराएका थिए । अब न्यायको खोजी गर्ने शुरूवात भएको साम्पाइओले बताएकी छन् ।
अमेजन क्षेत्रको आदिवासी सङ्गठन युनिभाजाले पहिलो पटक ती पत्रकार र विज्ञ हराएको विषयमा अधिकारीहरूलाई जानकारी दिएका थिए ।