काठमाडौं । इजरायलमा नाफ्टाली बेनेट नेतृत्वको गठबन्धन सरकार ढलेको छ ।
साेमबार देशवासीलाइ सम्बाेधन गर्दै प्रधानमन्त्री बेनेटले सोमबार आफूहरूले सरकार जोगाउन नसकेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
१ वर्षअघि बेनेटले ८ दल सम्मिलित गठबन्धनको सरकार बनाएका थिए । राजनीति विचार र नीति तथा कार्यक्रम नमिल्ने दलबीच विभिन्न विषयमा मतभेद रहँदै आएको थियो ।
पछिल्लो समय गठबन्धनका २ जना सांसद विपक्षी गठबन्धनमा गएका थिए भने केहीले सरकारले ल्याएका विधेयकका पक्षमा मत हालेका थिएनन् । सरकार चलाउन कठिन भएपछि बेनेटले संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका हुन् ।
न्युयोर्क टाइम्सका अनुसार अर्को साता इजरायलको संसदले आफैंलाई विघटन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसपछि अहिलेका विदेश मन्त्री याइर लापिड कामचलाउ प्रधानमन्त्री बन्नेछन् ।
आगामी अक्टुबरसम्म इजरायलमा नयाँ चुनाव हुने अपेक्षा गरिएको छ । सन् २०१९ यता इजरायलमा चार पटक संसदीय चुनाव भइसकेको छ