काठमाडौैं, २ साउन ।
गृह मन्त्रालयले नयाँ आर्थिक बर्षसँगै कर्मचारीसँग छुट्टा छुट्टै कार्यसम्पादन करार शुरु गरेको छ । कर्मचारीलाई जवाफदेही र परिणाममुखी बनाउन कार्यसम्पादन करार सुरु गरिएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले हरेक कर्मचारीलाई प्रत्येक दिन आफुले गरेको कामको विवरण भर्न कर्मचारी दैनिकी पुस्तिका डायरी उपलब्ध गराएको छ । डायरीमा प्रत्येक दिन आफुले सम्पादन गरेको प्रमुख काम र परिणाम लेख्नुपर्नेछ ।
कार्यसम्पादन करार सम्झौता नहुँदा कर्मचारी कामप्रति जवाफदेहि नहुने, फाइल हराउने, लुकाउने जस्ता समस्या बढ्दै गएपछि करार सम्झौता गरिएको मन्त्रालयले जनाएको छ । करार सम्झौतासँग कामको गुणस्तरमा वृद्धि हुने मन्त्रालयको विस्वास छ । मन्त्रालयले आन्तरिक रुपमा सचिवले सहसचिवहरूसँग, सहसचिवहरूले आफु अन्तरगतका उपसचिवहरूसँग र उपसचिवहरूले अन्तरगतका शाखा अधिकृतसँग कार्यसम्पादन करार गरेका हुन् ।
मन्त्रालयले कर्मचारीलाई उपलब्ध गराएको कार्यालय समयमा कार्यालय बाहिर निस्कनु परेमा बाहिर निस्किएको समय, कार्यालय फर्किएको समय र के कामको लागि बाहिर निस्किएको हो भन्ने खुलाउनु पर्नेछ । मन्त्रालयले कर्मचारीले आफैँ भरेको कामको सुचकको आधारमा कार्यसम्पादन मुल्यांकन अंक पाउने जनाएको छ ।
यसअघि सिडिओहरुसँग मन्त्रालयले यस्तो सम्झौता गरेको थियो । प्रभावकारी भएको भन्दै मन्त्रालय र मातहतका निकायसँग पनि सम्झौत ागर्न लागिएको हो । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका शैलेन्द्र खनाल लगायतसँग पनि सम्झौता गर्न लागिएको थियो । निश्चित जिम्मेवारी दिएर त्यहीअनुसार काम गर्न सम्झौता गरिएको हो ।