चमोली (बद्रीनाथ) । शनिबार राति परेको अविरल वर्षासँगै बिराही र पागल नालामा विशाल चट्टान खसेपछि बद्रीनाथ राजमार्ग फेरि अवरुद्ध भएको छ । स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार राजमार्गको जीर्णोद्धार तथा चट्टान पन्छाउन सडक प्रभागका कर्मचारी क्रियाशील छन् ।
अघिल्लो महिना पनि उत्तराखण्डको कर्णप्रयागको पाँचपुलिया नजिकैको बद्रीनाथ मार्गमा पहाडबाट ढुङ्गा खसेपछि यातायात अवरुद्ध भएको थियो । हनुमानचट्टी नजिक ढुङ्गा खस्दा र लाम्बागाड नालामा पानी बढेपछि त्यस दिनको सवारी आवागमन केही घण्टाअघि मात्र ठप्प भएको थियो ।
अलकनन्दा नदीको किनारमा अवस्थित भगवान् विष्णुको पवित्र धाम बद्रीनाथमा वर्सेनि धेरै श्रद्धालु तीर्थयात्री पूजार्चनाका निम्ति जाने गरेका छन् । बद्रीनाथसहित यमुनोत्री, गङ्गोत्री र केदारनाथ पवित्र चारधाम मानिन्छन् । वर्षको छ महिनामात्र बद्रीनाथ धाम खुला हुने गरको छ ।
बद्री–केदार मन्दिर समितिले असार ४ गते दिएको जानकारी अनुसार बद्रीनाथमा सात लाख ६० हजारभन्दा बढी र केदारनाथमा सात लाख २७ हजार, गङ्गोत्रीमा तीन लाख ८४ हजार, यमुनोत्रीमा दुई लाख ९४ हजारले दर्शन गरेका थिए । यो वर्षको तीर्थयात्राका क्रममा हालसम्म ९१ जनाको ज्यान गएको छ ।
यो वर्ष १० लाख तीर्थयात्रीले यात्राका निम्ति सरकारसँग अनुमति लिएका थिए । यति धेरै सङ्ख्यामा तीर्थयात्रीले स्थानीय प्रशासनसँग अनुमति लिएर नयाँ कीर्तिमान कायम गरेका अधिकारीहरूले बताएका छन् ।