Logo
Logo

एकीकृत समाजवादीको निष्कर्ष- ‘गठबन्धनको भर हुँदैन, आफै बलियो हुनुको विकल्प छैन’


567
Shares

काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएको डेढ महिना बितिसक्यो । तर, अधिकांश राजनीतिक दलले निर्वाचनको फाइनल समीक्षा गरिसकेका छैनन् ।

नेकपा एकीकृत समाजवादीले भने स्थानीय तह निर्वाचनको सम्पूर्ण समीक्षा तथ्यगत रुपमा प्रस्तुत गरेको छ । उक्त समीक्षामाथि छलफल अन्तिम चरणमा पुगेको छ ।

एकीकृत समाजवादीले तयार पारेको निर्वाचन समीक्षामाथि सचिवालय समिति, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीमा छलफल भइसकेको छ । जारी केन्द्रीय परिषद बैठकमा हुने समीक्षा अन्तिम हुनेछ ।

अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमार्फत निर्वाचनको समीक्षा प्रस्तुत गरेका छन् । समीक्षाको निष्कर्ष- ‘गठबन्धनको भर परेर हुँदैन, आफै बलियो हुनुको विकल्प छैन’ भन्ने रहेको छ ।

कस्तो रह्यो तालमेल ?
अध्यक्ष नेपालको प्रतिवेदनमा महानगर र उपमहानगर बाहेक आम रूपमा गठबन्धनमा सामेल सबै दलहरूबीच चुनावी तालमेल हुनै नसकेको उल्लेख छ ।

अघिल्लो निर्वाचनका दोस्रो र तेस्रो दल मिले धेरै सिट जित्न सकिने तर्क तथ्याङ्कसहित कांग्रेस र माओवादीले आफूमात्र मिलेर जाने नीति अवलम्बन गरेको अध्यक्ष नेपालले प्रतिवेदनमार्फत आरोप लगाएका छन् ।

प्रतिवेदनमा भनिएको छ- ‘अघिल्लो स्थानीय तहमा पहिलो, दोस्रो र तेस्रो भएका पार्टीहरूमध्ये दोस्रो र तेस्रो पार्टी मिलेर गएमा पहिलो पार्टीलाई हराउन सक्छन् भन्ने र अघिल्लो निर्वाचनमा एमालेले प्राप्त गरेको मत १ प्रतिशतदेखि २० प्रतिशतसम्म कटौति भएमा उसले धेरै सिट गुमाउने छ भन्ने तर्क तथ्याङ्कसहित प्रस्तुत भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्र आफूहरू मात्रै मिलेर जाने गरी अघिबढे ।’

गठबन्धनबीच तालमेल गर्ने सहमति भएता पनि सिट बाँडफाँटमा अपनाइने आधाहरु पालन नहुँदा आम रुपमा गठबन्धन हुन नसकेको एकीकृत समाजवादीको निष्कर्ष हो ।

प्रतिवेदनमा भनिएको छ- ‘२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनका बिच सिट बाँडफाँट गर्दा अपनाइने सामान्य आधारहरू’ भनेर तय गरिएका आधार अनुसार सिट बाँडफाँट गर्न कांग्रेस र माओवादी तयार भएनन् । त्यसैले आम रूपमा पाँच दलीय गठबन्धन हुन सकेन ।’

कता-कता पूर्ण गठबन्धन ?
अध्यक्ष नेपालको प्रतिवेदन अनुसार प्रदेश १ को ३८ पालिकामा मात्र पाँचदलीय गठबन्धन भएको उल्लेख छ । ६० पालिकामा कांग्रेस र माओवादीबीच मात्र गठबन्धन भयो ।

त्यसैगरी, मधेश प्रदेशमा केन्द्रबाट तय गरिएका महानगरपालिका र उपमहानगर पालिकाका अतिरिक्त ६ पालिका बाहेक अन्यत्र कहि पनि पाँचदलीय गठबन्धन भएन । यस प्रदेशमा दुई दलीय गठबन्धन पनि कम पालिकाहरूमा मात्र भयो ।

वागमति प्रदेशमा केन्द्रबाट तय भएको काठमाडौं महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखमा बाहेक चितवन, धादिङ, दोलखा र भक्तपुरका सबै पालिकामा पाँच दलीय गठबन्धन भएको थियो । तर, अन्य कतै भएन ।
गण्डकी प्रदेशमा पोखरा महानगरपालिकामा बाहेक अरु कुनै पनि पालिकामा पाँच दलीय गठबन्धन भएन । अन्य पालिकाहरुमा दलको अनुकुलमा तालमेल भयो ।

लुम्विनीका २६ पालिकामा पाँच दलीय गठबन्धन भयो । २४ पालिकामा एकीकृत समाजवादीले एकल उम्म्ेदवारी दियो । प्रतिवेदनमा कर्णालीमा पाँचै दलको गठबन्धन कही पनि नभएको उल्लेख छ ।

सुदुरपश्चिम प्रदेशको बझाङका सबै पालिका, बाजुराको जगन्नाथ, अछामको बान्निगढी, कैलालीका धनगढी, गोदावरी र चुरे तथा बैतडीको पञ्चेश्वरमा एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेस सम्मिलित तीनदलीय गठबन्धन भयो ।

अध्यक्ष नेपालको प्रतिवेदनमा स्थानीय निर्वाचनमा गठबन्धनको समग्र अवस्थासमेत प्रस्तुत गरिएको छ । जस अनुसार १२१ पालिकामा पूर्ण गठबन्धन भएको छ । १०९ पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मात्र तालमेल भयो भने ७० पालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तालमेल भएको छ । १३ पालिकामा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच तालमेल भयो । २ पालिकामा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच तालमेल भएको थियो ।

निर्वाचनको तयारी पुगेन
अध्यक्ष नेपालले प्रतिवेदमार्फत पार्टी गठन भएको करिव ८ महिनामै निर्वाचनमा होमिनुपर्ने भएकाले तयारी नपुग्दा धेरै गुमेको भनेका छन् ।

सबै पालिका र वडाहरूमा कमिटी निर्माण गरिनसकेको अवस्थामा निर्वाचन सामना गर्नुपर्दा धेरै ठाउँमा उम्मेदवारी नै दिन नसकिएको भनिएको छ । पार्टीका उम्मेदवार कम हुनुमा गठबन्धनको पनि भूमिका रहेको उल्लेख छ ।

‘पालिकामा तालमेलको कारणले त्यत्ति नै भए पनि हाम्रो सङ्गठनात्मक अवस्थालाई हेर्दा वडामा कम्तिमा यसको दोब्बर उम्मेदवारी दिन सकिन्थ्यो । उम्मेदवारी दिने कुरामा स्थानीय कमिटीहरूले राम्ररी ध्यान पुर्याउन नसकेको देखिन्छ’ प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन परिणाममा एकीकृत समाजवादीको अवस्था
स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख १, उपमहानगरपालिका प्रमुख १, नगरपालिका प्रमुख १०, गाउँपालिका अध्यक्ष ८, नगरपालिका उपप्रमुख ११, गाउँपालिका उपाध्यक्ष १२, वडाध्यक्ष १८९, महिला सदस्य १८४, दलित महिला सदस्य १८० र खुला सदस्य ३८९ गरी जम्मा ९८६ स्थानमा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएको प्रतिवेदनमा उल्लेख छ ।

विजयीमध्ये महानगरपालिका प्रमुख १, उपमहानगरपालिका प्रमुख १, नगरपालिका प्रमुख ५, गाउँपालिका अध्यक्ष ५, नगरपालिका उपप्रमुख ६, गाउँपालिका उपाध्यक्ष ११ गठबन्धनबाट जितेको स्वीकार गरेको एकीकृत समाजवादीले बाँकी सबै एक्लै जितेका दाबी गरेको छ ।

निर्वाचनका सन्दर्भमा एकीकृत समाजवादीले देखेका तीन समस्या
प्रतिवेदनमार्फत एकीकृत समाजवादीले गठबन्धनभित्र देखापरेका समस्या, पार्टीभित्र देखापरेका समस्या र प्राविधिक एवं प्रशासनिक समस्या भनेर तीन समस्याहरु औल्याएको छ । र, सविस्तार व्याख्यासमेत गरेको छ ।

प्रतिवेदनमा भनिएको छ- ‘निर्वाचनका सन्दर्भमा तीनथरी समस्या देखापरे । पहिलो गठबन्धनभित्रका समस्या । दोस्रो हाम्रो आफ्नै पार्टीभित्रका समस्या । तेस्रो प्राविधिक एवं प्रशासनिक समस्या ।’

गठबन्धनभित्र देखापरेका समस्या-
गठबन्धनभित्र निम्न ७ प्रकारका समस्या रहे- पहिलो, गठबन्धन गर्न नै नचाहने । दोस्रो, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने । तेस्रो, गठबन्धनभित्र उपगठबन्धन गर्ने । चौँथो, गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने । पाँचौँ, गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने । छैटौँ, गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कम्जोर हुनु । सातौँ, गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु ।

गठबन्धनमा सात समस्या औल्याएको एकीकृत समाजवादीले उक्त प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रमा देखिएको भनेको छ ।

पार्टीभित्र देखापरेका समस्या-
एकीकृत समाजवादीले निर्वाचनका क्रममा पार्टीभित्रका पनि सात समस्या औल्याएको छ ।

पहिलो, गठबन्धन भइहाल्छ भनेर आफ्नो तयारीमा राम्ररी नलाग्ने । दोस्रो, आफूलाई केन्द्रविन्दुमा राखेर गठबन्धन गर्न चाहने अर्थात जहाँ हाम्रो सङ्गठन तुलनात्मक रूपमा बलियो छ त्यहाँ लिन जोड गर्नुपर्नेमा त्यसो नगरी व्यक्तिलाई केन्द्रविन्दुमा राखेर सिट लिन चाहने ।

तेस्रो, गठबन्धन हुँदा उम्मेदवारी दिन तछाडमछाड गर्ने तर गठबन्धन नहुने भएपछि भने उम्मेदवारी दिन तयारै नहुने र दिएको उम्मेदवारी पनि फिर्ता लिने । चौँथो, चुनावलाई जनतामाझ राजनीति पुर्याउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्र ठान्ने ।
पाचौँ, पार्टीको टिकटबाट दिइएको उम्मेदवारी आफूखुसी फिर्ता लिने । छैटौँ, आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर पनि हिड्ने । सातौँ, आफ्नो वास्तविक शक्ति र प्रभावको आकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आकाक्षा राख्ने ।

प्राविधिक एवं प्रशासनिक समस्या-
एकीकृत समाजवादीले निर्वाचनका क्रममा प्राविधिक र प्रशासनिक समस्यासमेत भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ ।

पहिलो, ६ वटा मतपत्र एकै ठाउँमा राखेर बनाइएको मतपत्रको ढाँचा धेरै भद्धा हुनु । दोस्रो, उम्मेदवार नरहेका चिन्ह राखेर मतपत्र छाप्नु ।

निर्वाचन आयोग नै पूर्णरूपले निष्पक्ष नहुनु, उम्मेदवार नभएका चिन्ह पनि राखेर मतपत्र छाप्नु, निर्वाचन अधिकृतहरूले निष्पक्ष ढङ्गले काम नगर्नु, प्रहरी प्रशासनले पनि निष्पक्ष व्यवहार नगर्नु प्राविधिक र प्रशासनिक समस्या रहेको एकीकृत समाजवादीको निष्कर्ष रहेको छ ।

निर्वाचनका उपलब्धि- केही ठाउँ जितियो, चिन्हको प्रचार भयो
विभिन्न प्रकारका समस्या र कमी कमजोरीका बावजुद निर्वाचनबाट केही उपलब्धि भने हाँसिल भएको एकीकृत समाजवादीको निष्कर्ष हो ।

प्रतिवेदनमा भनिएको छ- ‘२० पालिकामा प्रमुख वा अध्यक्ष र २३ पालिकामा उपप्रमुख वा उपाध्यक्ष, १९० वडाध्यक्ष, १८४ महिला सदस्य, १८० दलित महिला सदस्य र ३८९ खुला सदस्य गरी जम्मा ९८६ जना विजयी हुनु सानै भए पनि उपलब्धि हो ।’

पार्टी र पार्टीको चुनाव चिन्हको प्रचार केही हदसम्म भएको निष्कर्ष निकालेको एकीकृत समाजवादीले यसलाई पनि उपलब्धि मानेको छ ।

निर्वाचनबाट प्राप्त शिक्षा-
सफलता प्राप्त गर्नका निम्ति सबभन्दा पहिले बलियो र व्यवस्थि सङ्गठन निर्माण गर्नुपर्दछ भन्ने निर्वाचनले शिक्षा दिएको एकीकृत समाजवादीको निष्कर्ष रहेको छ ।

त्यसका साथै, आर्थिक कोषको निर्माण एवं स्रोत साधनको व्यवस्थापन, जनताको मन छुने खालका प्रभावकारी प्रचार सामग्रीहरूको निर्माण र छिटोभन्दा छिटो वितरण, उम्मेदवार चयन पनि जतिसक्यो चाडो गर्नु पर्दछ भन्ने शिक्षा प्राप्त भएको एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्