Logo
Logo

अध्यागमनको सेटिङले गृहमा हंगामा


69.7k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा हुने सेटिङले कर्मचारीबीच नै विवाद बढेको छ । भिजिट भिसामा खुलेआम सेटिङ रहेको र त्यसमा लाखौंको खेल हुने गरेको रहस्य खुलेपछि गृह मन्त्रालयले यस विषयमा छानबिन समिति गठन गरेको छ ।

सहसचिव चक्रपाणि पाण्डेको नेतृत्वमा एक समिति गठन भएको हो । अध्यागमनका कर्मचारीले गृहका कर्मचारीलाई समेत आर्थिक प्रभावमा पारेर आफ्नो सेटिङ मिलाउने गरेको खुलेपछि छानबिन सुरु भएको हो । गृहमन्त्री बालकृष्ण खाणकै नाममा समेत लेनदेन हुने गरेको खुलेपछि छानबिन थालिएको स्रोत बताउँछ ।

गृहको कर्मचारी प्रशासन शाखाका उपसचिव शोभाकर रेग्मीमार्फत अध्यागमनमा सेटिङ चलेको स्रोत बताउँछ । कर्मचारी युनियनका पूर्व नेता समेत रहेका रेग्मीले अध्यागमनमा सेटिङका आधारमा आफुनिकट कर्मचारी पठाउने गरेको र सेटिङमा नमिल्नेलाई धम्की दिएर तान्ने गरेका छन् । शाखा अधिकृत जनक रेग्मी, तथा रिणु गुरुङ, नायव सुब्बा कुलप्रसाद आचार्य पैसा पु¥याउन रेग्मीको निवासमै जाने गरेको स्रोतले बताएको छ । पुरण गुरुङ नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष हुन् ।

केही महिना अगाडि शाखा अधिकृत कुशल बराल, गणेशविक्रम शाहीलगायत ५ कर्मचारीलाई सरुवाको धम्की दिएर सेटिङ मिलाइएको स्रोत बताउँछ । सेटिङकै कारण ९ जना नायव सुब्बाको दरबन्दी रहेको ठाउँमा २० जना राखिएको छ । धेरै जसो कांग्रेस निकट ट्रेड यूनियनको सेटिङवालाहरु छन् ।

अध्यागमन प्रमुख पुष्पराज शाहीले पनि गृहमा आफ्नो सेटिङ रहेकाले कसैले केही गर्न नसक्ने बताएका छन् । यसअघि पटक पटक भिजिट भिसासम्बन्धि विवादमा तानिएपनि उनीमाथि कारबाही हुन सकेको छैन । सहसचिव फणिन्द्रमणि पोखरेल नेतृत्वको समितिले विभिन्न निकायको मिलेमतोमै ८१ हजार नेपाली भिजिट भिसामा युएइ गएको पत्ता लगाएको थियो । त्यो छानबिन समितिलाई प्रभावित बनाई अध्यागमन कर्मचारीलाई जोगाइएको थियो ।

सेटिङमा संलग्न कतिपय कर्मचारीलाई अध्यागमन विभाग छानबिन भनेर केही दिन विभागमा राख्ने र त्यतीकै उन्मुक्ति दिने गरेको छ । नयाँ छानबिन समितिलाई पनि प्रभावमा पारेर सेटिङलाई निरन्तरता दिने खेलमा कर्मचारी लागेका छन् । विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको सरुवा हुन लागेकाले उनले पनि बेथितीमा आँखा चिम्लिएका छन् । स्रोतका अनुसार अध्यागमनमा हुने सेटिङमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्