Logo
Logo

दश वर्षपछि बल्ल सम्पन्न


- दृष्टि न्युज/संवाददाता

0
Shares

रोल्पा, ३ साउन । शिलान्यास गरेको दश वर्षपछि रोल्पाको माडी खोलामा लगाएको पक्की पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम भेगलाई सदरमुकामसँग जोड्ने पुल निर्माण सम्पन्नपछि आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवत–जावतमा सहजता हुने भएको छ ।
पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै सरकारले दोस्रोपटक बोलपत्र आह्वान गरी अर्को निर्माण व्यवसायीलाई उक्त पुल निर्माणको जिम्मा दिएको थियो । १७ महीनाभित्र निर्माण कार्य सक्ने गरी जिल्लास्थित एसियाटिक राज जेवी कन्सट्रक्शनले निर्माणको जिम्मा पाएको थियो ।
अघिल्लो वर्ष असार ३१ गते सम्झौता गरी सोही वर्षको भदौ १ गतेदेखि निर्माण आरम्भ गरिएकोे उक्त पुल ११ महीनामा सम्पन्न भएको हो । रू तीन करोड ३५ लाखको लागतमा निर्माण गरिएको उक्त पुलको सम्झौता अनुसारको सम्पूर्ण काम सम्पन्न गरिसकेको निर्माण व्यवसायी राजवीर घर्तीले जानकारी दिए ।
‘सम्झौता अनुसारको मेरो जिम्मेवारी पूरा गरी सरकारलाई बुझाइसकेको छु’, प्रोपाइटर घर्तीले भने । सो पुलबाट केही दिनभित्रै गाडी आवतजावतका लागि छोडिने छ ।
०६५ सालमा सडक विभागमार्फत गरिएको बोलपत्रमा काठमाडाँैमा रहेको लामा रएडी रधर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माण गर्ने जिम्मा पाएकामा शुरुआती चरणमा निर्माणको केही काम गरे पनि राजनीतिक पहुँचका आधारमा निर्माण व्यवसायी वसन्त दशौदीले निर्माण कार्य आलटाल गरेसँगै पुल निर्माण कार्य अनिश्चित बनेको स्थानीयवासीले आरोप लगाएका थिए ।
निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले रोल्पाका स्थानीय राजनैतिक दल र सामाजिक संघसंस्थाको टोली संघर्ष समिति बनाएर प्यूठानस्थित सडक डिभिजन कार्यालयमा पुगेर पक्की पुल निर्माण कार्यलाई यथाशीघ्र सञ्चालन गर्न जोड दिएका थिए ।
दुई वटा पिलर ठड्याएर रू एक करोडभन्दा बढी रकम भुक्तानी पनि निर्माण व्यवसायी दशौदीले निर्माणका क्रममा आफ्नो निर्माण सामग्री हराएको भन्दै क्षतिपूर्तीको माग गर्दै आलटाल गरेकाले पुल अलपत्र भएको थियोे । स्थानीय राजनैतिक दल र नागरिक समाजको दबाबका कारण दोस्रो गरिएको बोलपत्र पछि उक्त पुल निर्माण भएको हो ।
वैकल्पिक व्यवस्थाका लागि भन्दै सो नदीमा बेलीब्रिज राखिए पनि आवतजावतमा निकै समस्या हुँदै आएकामा पुल निर्माणसँगै सो समस्या समाधान भएको यातायात व्यवसायी रामचन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्