Logo
Logo

विक्षिप्त वामदेवको सपनामा अर्को ब्रेक


5.9k
Shares

काठमाडौं । सर्वोच्चले नेकपा विभाजन गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्केको बेला नेता वामदेव गौतम तटस्थ बसे ।

त्यसबीचमा एमाले पनि विभाजन भयो । एमाले विभाजनमा पनि गौतम मौन रहे । केपी ओली र माधवकुमार नेपाल दुवैलाई साथ दिएनन् ।

पार्टी विभाजनको विपक्षमा रहेका गौतमले ‘नेकपा एकता अभियान’ चलाए । तर, यसबीचमा उनको अभियानले माखो मार्न सकेन ।

नेकपा विभाजनको संघारमा पुगेकै बेला अभियान घोषणा गरेका गौतमले एकताका लागि देखिने गरी खास केही गर्न सकेनन् ।

वामवदेवको एकता अभियानले न नेकपालाई एकढिक्का राख्न सक्यो न नेकपा एमालेलाई विभाजनबाट रोक्न नै । एकताका लागि आह्वान गर्ने बाहेक केही गर्न सकेनन् ।

पार्टी विभाजनपछि एमाले र माओवादी लयमा फर्के । एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले सत्ता समात्यो । तर, वामदेव भने यता न उता भएर गुमनाम जस्तै रहे । यस अवधिमा गौतम सार्वजनिक कार्यक्रमहरुमा पनि खासै देखिएनन् ।

यसबीचमा राष्ट्रिय सभा सदस्य निर्वाचन र स्थानीय तह निर्वाचन सम्पन्न भयो । यी दुवै निर्वाचनमा पनि वामदेवको केही धारणा वा गतिविधि सुनिएन, देखिएन । उनी चुपचाप बसे ।

लामो समय गुमनाम बसेका वामदेवले गत असार ११ गते अभियानको दोस्रो भेला बोलाएर अभियानलाई दलमा रुपान्तरण गर्ने निर्णय गरे । तर, सात दिनमै ‘वामदेव सपना’मा चिसो पानी खन्याइयो ।

अभियानलाई राजनीतिक दलमा रुपान्तरण गर्ने निर्णय गरेपछि वामदेवले ‘फूल स्पीड’का साथ नेतासँग भेटघाट गरे । केपी शर्मा ओली, पुष्पकलम दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई भेटेर पार्टी एकताका लागि अनुरोध गरे । तर, वामदेवविरुद्ध अर्कै खिचडी पाक्यो ।

शनिबार वामदेवको अभियानमा आवद्ध चार राजनीतिक दलको बैठक बस्यो । बैठकले पाँच संगीन आरोप लगाउँदै बहुमतका आधारमा वामदेवलाई अभियानको संयोजकबाट निष्कासन गर्ने निर्णय गर्दै कारवाही गर्यो

अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले गौतमलाई कारवाही गरेको हो ।

वामदेवलाई आरोपको अर्थ
वामदेव पाका कम्युनिष्ट राजनीतिज्ञ हुन् । तर, उनी थिरमा रहने नेता चाहिँ होइनन् । यसअघि वामदेवको राजनीतिक आचरणलाई ‘पेण्डुलम’, भकुण्डो जस्ता वस्तुसँग पनि तुलना गरिएको सुनिएकै हो ।

वामदेव हक्की स्वभावका नेता हुन् । तर, निर्णयमा अडिग रहन नसक्ने स्वभावका छन् । उनको राजनीतिक जीवन हेर्दा पनि थाहा हुन्छ– वामदेव निर्णयप्रति इमानदार भएर प्रस्तुत हुन सक्दैनन् । तर, बेइमान पनि खासै होइनन् ।

सत्तामा हुँदा वामदेवमाथि आर्थिक अपचलन जस्ता आरोप नलागेका होइनन् । तर, अहिलेसम्म प्रमाणित भएको केही छैन । तुलनात्मक रुपमा वामदेव क्लिन नै छन् ।

वामदेवालाई अभियानका चार दलले लगाएको पहिलो आरोपसँग सहमत हुने ठाउँ भेटिन्छ । उनलाई ‘अराजक, निरङकुश, तानाशाही, अवसरवादी र अराजनीतिक’ भएको आरोप लगाइएको छ ।

वामदेव स्वभावले निरङकुश, तानाहाशी जस्तै पनि छन् । आफूले बनाएको धारणामा मात्र जोड दिने उनको पुरानै पारा हो ।

आरोप नम्बर २ मा वामदेवलाई ‘अहंकारवादी र एकलौटी निर्णय गर्ने’ भनिएको छ । लामो समयदेखि वामदेवसँग संगत गरेका एक नेता भन्छन्–

‘वामदेवमा थोरै अहंकारी स्वभाव छ । निर्णय प्रकृयामा आफू नै हावी हुनुपर्ने उनको शैलीले निरङकुश र तानाहाशी तानासाही प्रवृत्ति झल्काउँछ ।’

एकलौटी निर्णय गर्ने आरोप त अभियानलाई पार्टीमा रुपान्तरण गरेपछिको गतिविधिले पनि पुष्टि गर्छ । विभिन्न समूहलाई एक ठाउँमा ल्याएर दल घोषणा गरेका वामदेव अभियान भित्रका सहयात्रीसँग छलफल र निर्णय नै नगरी अन्य पार्टीका नेतासँग एकताको प्रस्ताव लैजानु एकलौटी निर्णयको हो ।

आरोप नम्बर ३ मा वामदेवलाई ‘जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाए’ भनिएको छ ।

यो आरोपसँग भने सहमत भइहाल्ने आधार नरहेको ति नेता बताउँछन् । उनी भन्छन– ‘वामदेव अस्थिर हुन् तर लगाइएको आरोप जस्तै उनी धेरै तिकडमबाजी गर्न जान्ने नेता होइनन् । तिकडमबाजी जान्ने भए अहिले यस्तो हालतमा हुने थिएनन् ।’

आरोप ४ को पनि अर्थ छ । दल बनाउने निर्णय गरेकै दिनबाट वामदेवमा देखिएको शैलीले अभियानमा आवद्ध दलले शंका गर्ने ठाउँ दियो ।

आरोप ४ मा भनिएको छ– ‘नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको ।’

सुरुमा पार्टीकै केही नेता राखेर अभियान घोषणा गरेका वामदेवले साना दलहरु पछि जोडेका हुन् । साना–साना दललाई एक ठाउँमा ल्याएर शक्तिशाली बन्ने वामदेवाको योजना हो ।

तर, शक्तिले स्वरुप नै धारण गरिनसकेकै अवस्थामा वामदेवले अभियानमा आवद्ध शक्तिलाई गन्नै छोडेका कारण उनीमाथि शंका उब्जेको हो । त्यसैले, मोर्चामा आवद्ध दलले ‘हामीलाई उपयोग गरेर शक्ति आर्जन गर्दै हामीलाई सिध्याउन खोजे’ भनेर आरोप लगाएका हुन् ।

आरोप ५ मा गौतमले ‘अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको’ भनिएको छ ।

यो आरोपमा खासै दम छैन । नाम मात्रैका दललाई भेला पारेर हिडेका वामदेवलाई शक्तिशाली ठानेर कसैले सत्ता सुम्पन्छन् भन्ने कसैलाई लाग्दैन ।

के गर्न चाहन्थे ? अब गर्लान वामदेव ?
वामदेव पछिल्लो समय प्रश्चातापको रापमा जलिरहेका छन् । पार्टी घोषणाकै दिन ‘मैले प्रचण्डलाई साथ दिएर गल्ती गरे’ भन्दै प्रश्चाताप गरेका थिए ।

उनी शक्ति विहीनताको रनाहामा परेका छन् । भएको गुमिसक्यो, थप पाउने सम्भावना छैन । तर, अझै आशा भनेको मरेको छैन । दल घोषणा गरेकै दिनबाट उनले सुरु गरेको दौडले त्यसै भन्छ ।

वामदेवलाई एउटा हुटहुटीले सधै सताउँछ । उनी एकपटक प्रधानमन्त्री भएर मात्र राजनीतिबाट बाहिरिने चाहना राख्छन् । त्यसैले जसरी पनि चुनाव जित्ने र प्रधानमन्त्री बन्ने वामदेवको तात्कालिक र दीर्घकालीन योजना र चाहना दुवै हो ।

प्रतिनिधि सभाको निर्वाचन आउनै लागिसक्यो । यसपटक जसरी पनि जित्नु छ । त्यसैले उनी एमाले र एकीकृत समाजवादी मध्ये एक दल रोज्नुपर्ने बाध्यात्मक अवस्थामा छन् ।

वामदेवको पछिल्लो मुल्याङ्कन ‘एकीकृत समाजवादीभन्दा एमाले ठीक’ भन्ने हो । त्यसैले, पार्टी घोषणाकै दिन ‘त्यो बेला प्रचण्डलाई साथ दिएर गल्ती गरे’ भन्दै एमाले वा एमाले अध्यक्ष ओली नै ठीक भन्ने सन्देश दिन खोजेका थिए ।

एमालेमै फर्के निर्वाचन जितिन्छ भन्ने बुझाइएका साथ वामदेव जतिसक्दो छिटो एमालेमा फर्कन चाहन्छन् । त्यसैले उनी उचित वहाना खोजिरहेका छन् । मोर्चाबाट पार्टी घोषणा त्यसैको जुक्ति थियो ।

वामदेव अभियानलाई दल बनाएर आफूलाई शक्तिशाली देखाउन चाहन्थे । त्यसैको बलम एमालेमा पुनरागमनको प्रयासमा थिए । तर, वामदेवको त्यो सपनामा पनि चिसो पानी खन्याइयो ।

वामदेवका बाँकी कदम कसरी अघि बढ्ला हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्