Logo
Logo

माओवादी बैठक- ‘गठबन्धनमा कांग्रेस, एकीकृत समाजवादी र जसपा धोकेवाज’


2.9k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक काठमाडौंमा आइतबारबाट सुरु भएको छ । बैठकको मुख्य एजेण्डा स्थानीय तह निर्वाचनको समीक्षा रहेको छ ।

बैठकमा प्रचण्डले संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदनमाथि छलफल जारी छ । यसअघि, प्रदेश इञ्चार्ज तथा अध्यक्षहरुले रिपोर्टिङ राखेका छन् ।

रिपोर्टिङका क्रममा अधिकांश प्रदेश इञ्चार्ज तथा अध्यक्षहरुले निर्वाचनका क्रममा अपेक्षाकृत सफलता प्राप्त गर्न नसक्नुका दुई कारण प्रस्तुत गरेका छन् । सबै नेताले पार्टी भित्रबाट अन्तर्घात र गठबन्धनबाट धोका भएको भनेका छन् ।

पार्टी भित्रको विवादका कारण धेरै ठाउँमा अन्तर्घात भएको धेरै नेताको धारणा रहेको छ । मधेस प्रदेशका नेता गणेश शाहले पार्टीका नेताकै कारण पार्टीले लज्जास्पद हार व्यहोर्नु परेको रिपोर्टिङ गरेका छन् । आन्तरिक विवाद निर्वाचनका बेला अन्तर्घातमा परिणत भएको उनको भनाइ रहेको छ ।

रिपोर्टिङका क्रममा अधिकांश नेताले गठबन्धनलाई दोष लगाएका छन् । गठबन्धन इमानदार रुपमा प्रस्तुत नहुँदा पराजित हुनु परेको अधिकांशको रिपोर्टिङ रहेको छ ।

रिर्पोटिङका क्रममा उपत्यका विशेष प्रदेशका अध्यक्ष जगत सिंखडाले गठबन्धनले इमानदारीपूर्वक मदतान नगरेका कारण पराजय व्यहोर्नु परेको धारणा राखेका छन् । उनले गठबन्धन भन्दाभन्दै पार्टीको चुनाव चिन्ह नै हराउने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मुल नेतृत्व प्रचण्डले पनि गठबन्धनको भूमिकाप्रति नै प्रश्न गरेका छन् । बैठकमा प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले माओवादी बाहेक गठबन्धनका सबै दल इमानदारीपूर्वक प्रस्तुत नभएको बताए ।

प्रचण्डले कांग्रेसको सबै शक्ति गठबन्धनप्रति इमानदार नभएको आरोप लगाएका छन् । कांग्रेसका केही धेरै नेता गठबन्धनको मर्मविपरीत परिचालित हुँदा धोका भएको प्रचण्डको भनाइ रहेको छ ।

प्रचण्डले नेकपा एकीकृत समाजवादीले आफ्नो वास्ताविक स्थितिभन्दा धेरै सिट मागरेको र नपाएपछि गठबन्धनको विपक्षमा लागेको आरोप लगाएका छन् भने जनता समाजवादी पार्टीले मधेसमा गठबन्धन गर्नै नमानेको भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्