Logo
Logo

धनगढी नगर सभामा मेयर र उपमेयरबीच चर्काचर्की, कुर्सी तोडफोड


6k
Shares

धनगढी । धनगढी उपमहानगरपालिकाको आठौं नगरसभाको तेस्रो बैठकमा मेयर र उपमेयरबीच चर्काचर्की भएको छ । उपमहानगरका मेयर गोपाल हमाल र उपमेयर कन्दकला कुमारी रानाबीच बजेटका विषयमा बैठकमै भनाभनल भएको हो ।

बैठकमा मेयर हमालले एजेण्डा प्रस्तुत गर्दै उपमहानगरले तिर्नुपर्ने दायित्वले गर्दा यसपटक बजेट घटाउन परेको जानकारी दिएका थिए । उनले भने, ‘बजेट काट्नुपर्दा दुःख लागेको छ, धेरै मान्छेको दबाबका कारणले यो पनि काम गर्नुपर्यो, त्यो पनि गर्नुपर्यो भन्ने माग आएका छन्, आफ्नो इच्छा भए पनि पाँच सय मिटर सडक समेत बनाउन सक्ने अवस्था यो बजेटमा छैन ।’

त्यसपछि नगर सभामा बोल्दै उपमेय रानाले बजेट, योजना तर्जुमा र नीति निर्माणमा आफूलाई बेवास्ता गरिएको गुनासो गरे । संविधानले प्रदान गरेको बजेट निर्माणको अधिकार खोसिएको भन्दै उपमेयर रानालले प्रश्न पनि उठाए । योजना तर्जुमा र बजेट बनाउने बेलामा मेयरले आफूसँग समन्वय नगरेको भन्दै आपत्ति जनाए ।

त्यसपछि मेयर हमाल पुनः बोल्दै ‘हामी बसेका ठाउँमा उहाँ मेडम आफैं गएर उहाँले बनाएको बजेट हो,’ भने । हमालले त्यो बजेट कार्यपालिकामा आएर प्रस्तुत भएको बताए । योजनाहरू सम्बन्धित शाखाबाट विज्ञले बनाए अनुसार हालिएको प्रष्ट पारे ।

उनले भने, ‘मैले र हाकिम सावले खुस्स गएर बनाएको बजेट होइन, विज्ञहरु राखेर बनाएको बजेट हो, बजेटमा मेरो कुनै स्वार्थ छैन, बजेट काट्नु परेकाले १० दिन लाग्यो । कर्मचारीलाई सोधेर बजेट काटिएको हो, विधिसंगत बनाइएको छ, उहाँ (उपमेयर)ले आरोप लगाउनु भन्दा अगाडि संविधान पढ्नु पर्यो ।’

त्यसपछि सन्तोषजनक जवाफ नपाएको भन्दै उपमेयर रानाले फेरि सम्बोधन गरे । उनले मेयरले धम्की दिएको बताए । उनले भने, ‘मेयर सावको धम्की दिने बानी अहिलेसम्म गएको छैन, अहिले पनि द्वन्द्व गर्नु हुन्छ भने तयारी छौँ भनेर धम्की दिनुभयो ।’
मेयरले पार्टीको दम्भ देखाएको भन्दै उपमेयर रानाले आरोप लगाए । उनले भने, ‘हाम्रो पछाडि दल छ, गोपाल हमालको पछि को छ भन्नुहुन्छ, म के टीका लगाएर आको हो र ? मलाई २६÷२७ हजार भोट दिएर जितेको हो कि होइन ?’

मेयररउपमेयरको चर्काचर्की परेपछि अरू नगरसभा सदस्यहरूले विरोध जनाएका थिए । उनीहरूले आ–आफ्नो ठाउँमा उठेर विरोध जनाए । कुर्सी तोडफोडमा उत्रिए ।

त्यसपछि नगर सभा बैठक केही समय रोकिएको थियो । केहीबेर पछि बैठक पुनः सञ्चालन भयो । त्यसपछि आर्थिक वर्ष २०७९/८० को वार्षिक अनुमानित आय–व्यय प्रस्तुत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्