Logo
Logo

अर्थमन्त्रीमाथि छानबिन गर्न अध्यक्ष शाहीको माग


19k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले सरकारमाथि प्रश्न उठाएका छन् ।

उनले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा स्वार्थी समूहको प्रभाव र हस्तक्षेप भएको भन्दै सरकारलाई प्रश्न गरेका हुन् । बजेट निर्माणमा अर्थमन्त्री जनार्दन शर्मा स्वार्थी समूहको प्रभावमा परेर करको दायर हेरफेर गरेको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ ।

अर्थमन्त्री शर्मामाथि यस्तो गम्भीर आरोप लागेपछि छानबिन गर्नुपर्ने अध्यक्ष शाहीले बताए । ‘संसदमा सीसीटीभी फुटेज उपलब्ध गराउनुपथ्र्यो, संसदमा यस विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने आवज उठेको छ,’ उनले भने, ‘सीसीटीभी फुटेज हरायो, सीसीटीभीको तार कुसाले काट्यो भन्ने तर्क गैरजिम्मेवारीको पराकाष्ठा हो । यसले थप संका जन्माएको छ ।’

सरकारको नीति कार्यक्रममा स्वार्थ समूहको भूमिका र उपस्थिति देखिनु गम्भीर विषय भएको भन्दै उनले भने, ‘यो कुनै दल वा समूहको मात्रै होइन, आम जनसरोकारको सवाल हो ।’

तीन महिनासम्म सीसीटीभी रेकर्ड सुरक्षित गर्नुपर्ने कानुनी प्राबधान हुँदाहुँदै फुटेज हरायो भन्नु गैरजिम्मेवारी भएको उनले बताए ।

उनले भने, ‘यस्तो देशको आर्थिक, राज्यको पारदर्शिता र आम जनताको सुचनाको सवालमा, बजेट निर्माणको समयको सीसीटीभी फुटेज तथा यो विषयमा आवश्यक छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु ।’
आजै प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसदमा सरकार र अर्थमन्त्रीको विषयमा गम्भीर प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्