Logo
Logo

एमालेनिकट ट्रेड युनियन अध्यक्ष देवकोटाका लागि ऐन नियम नै मिचिंदै


819
Shares

काठमाडौं । एक ब्यक्तिका लागि मन्त्रिपरिषदबाट नीतिगत निर्णय नै गराएर प्रदेशबाट संघमा दरबन्दी कायम गरेको बिषयको चर्चा सेलाउन नपाउँदै अर्का राजनीतिक दल निकट ट्रेड युनियनका अध्यक्षले स्थानीय तहमा भएको समायोजन सच्याउन भरमग्दुर प्रयत्न गरिरहेका छन् ।

आयुर्वेदका डाक्टर रामआधार यादवलाई मन्त्रिपरिषदले प्रदेशबाट संघमा समायोजन गर्न नीतिगत निर्णय नै गरेको थियो । समायोजन ऐन अनुसार प्रदेशमा समायोजन भइसकेका यादवलाई संघमा ल्याउनै मिल्दैन ।

त्यहीँमाथि हृदयेश त्रिपाठी सामान्य प्रशासन मन्त्री हुँदा समायोजनको च्याप्टर क्लोज भएको घोषणा गरिएको थियो । र, नयाँ निवेदन नलिने नीतिगत निर्णय गरिएको थियो । अहिले पहुँचका आधारमा सामान्य प्रशासन मन्त्रालयले फाट्टफुट्ट समायोजन सच्याउने काम अपारदर्शी र आर्थिक चलखेलका आधारमा गरिरहेको छ ।

एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा अहिले आफ्नो समायोजन सच्याउनका लागि पार्टीको सम्पूर्ण शक्ति प्रयोग गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दबाब दिइरहेका छन् ।

तत्कालीन अवस्थामा दरबन्दी रोज्ने क्रममा सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको लेखापालमा समायोजन गराएका थिए । बरिष्ठताका आधारमा समायोजन रोज्न पाउने अधिकार भए पनि उनी कनिष्ट भएका कारण काठमाडौं उपत्यकाका स्थानीय तहमा समायोजन हुन नियमले नमिलेपछि बलेफी रोजेका थिए । बलेफी भन्दा अघि उनको समायोजन दोलखाको मेलुङ गाउँपालिकामा भएको थियो । मेलुङमा भएको समायोजन संशोधन गरी उनले त्यतिबेला बलेफीमा गराएका थिए । २ पटक समायोजन संशोधन गरिसकेका उनले पुनः समायोजन सच्याई राजधानी छिर्न खोजिरहेका छन् ।

एमालेले काठमाडौं जिल्लाको बुढानीलकन्ठ र टोखा नगरपालिकाको नेतृत्व जित हालेको छ । ती नगरपालिका मध्ये देवकोटाको रोजाई बुढानीलकण्ठमा छ । बुढानीलकण्ठ आउनका लागि उनले नगर नेतृत्वसुँग सहमति माग गरिसकेका छन् । तर अहिलेसम्म सहमति प्राप्त भने भइसकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली, काठमाडौं ४ का एमालेका नेता राजन भट्टराईले समेत बुढानीलकन्ठका मेयर मीठाराम अधिकारीलाई देवकोटाको माग सुनुवाई गरी त्यहाँ ल्याउन सहमति दिन आग्रह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्