Logo
Logo

कमिशन जम्मा गर्न विदेशी बैंकमा खाता


69.4k
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमका निलम्वित कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि सरकारले छानबिन गर्दैछ । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित छानविन समितिले अधिकारीले गरेका भ्रष्टाचार र अनियमिततामाथि गहिरो छानबिन थालेको छानबिन समितिका एक जना सदस्यले दृष्टिलाई जानकारी गराएका छन् ।

पर्यटन मन्त्रालयको स्रोतका अनुसार छानबिनको प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरिने भएको छ । मन्त्रिपरिषद्ले कारबाहीका लागि प्रमाणसहित अधिकारीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्ने छ । छानबिन र अनुसन्धानको क्रममा अधिकारी देश छाडेर भाग्न सक्ने आशंकामा अध्यागमनलाई पनि सूचित गरिएको स्रोतले बताएको छ ।

सो स्रोतका अनुसार छानबिन प्रतिवेदन मन्त्रिपरिषद्मा पेश भइसकेपछि सरकारले उनलाई बर्खास्त गर्न सक्नेछ । तर, बर्खास्त गर्दा उनी सर्वोच्च अदालत गएर उम्कने खतरालाई ध्यानमा राखेरै अख्तियारको माध्यमबाट उनीमाथि भ्रष्टाचारको मुद्दा अगाडि बढाउन खोजिएको हो ।

अर्को एक स्रोतका अनुसार अदालतलाई प्रभावमा पार्न अधिकारीले निगमकै श्रेष्ठ थरका सल्यानका एक कर्मचारीलाई प्रयोग गरेका छन् । अर्को स्रोतका अनुसार अधिकारीले निलम्वित प्रध्यानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग पनि सेटिङ गरेका छन् ।

उक्त स्रोतका अनुसार अधिकारीले (पिएसएस) पेसेन्जर सर्भिस सिस्टमको ठेक्का टर्कीको एचआइटिआइटी कम्पनीलाई दिँदा त्यसमा ठूलो घोटाला भएको छ । सन् २०२२ मार्च २१ तरिख उक्त कम्पनीसँग सम्झौता गरिएको थियो । उक्त कम्पनीबाट आउने कमिशन जम्मा गर्न अधिकारीले अष्ट्रेलियाको वेष्ट प्याक बैंकमा डलर खाता खोलेका छन् । जनता सेवा प्रालिको नाममा अधिकारीले खोलेको उक्त बैंकको खाता नं. ९७९३२० हो ।

सोही बैंकमा इस्टर्न मनी नेपाल प्रालिको अर्को खाता पनि खोलिएको छ । उक्त खाता नं. ०३२०५५ हो । यी दुई खातामध्ये इस्टर्न नेपाल नामक कम्पनी निगमकै क्याप्टेन उद्धव घिमिरेको हो भन्ने बुझिन्छ । अधिकारी र घिमिरे मिलेर निगमको पिपिएस ठेक्का र एयरबस ३२० को इन्जिन मर्मतको कमिशन जम्मा गर्न उक्त खाता खोलेको स्रोतले बताएको छ ।

उक्त स्रोतका अनुसार अधिकारीले आफू कार्यकारी अध्यक्ष नियुक्त भएको ८ महिनाभित्र एचआइटीआइटी टर्कीसँग पाँच वर्षका लागि पिएसएस सम्झौता ४१ लाख ४४ हजार ४६५ अमेरिकी डलरमा गरेका छन् ।

त्यसैगरी नेदरल्याण्डको एमटियु मेन्टिनेन्ससँग प्रतिदिन दुई हजार अमेरिकी डलरमा अर्को सम्झौता गरेका छन् भने दिनेश श्रेष्ठसँग भित्री साँठगाँठ गरेर इजरायल एरोस्पेशलाई ४० मिलियन अमेरिकी डलरमा इन्जिन मर्मतको ठेक्का दिएका छन् । यसबाट लाखौं डलर कमिशन आउने र त्यो कमिशन रकम जम्मा गर्न अष्ट्रेलियामा बैंक खाता खोलेको स्रोतको दाबी छ ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार अधिकारी र घिमिरे केही महिना अगाडि सिंगापुर जाने भनेर दुवै जना बेपत्ता भएका थिए । त्यही समय मिलाएर अष्ट्रेलियाको वेष्ट प्याक बैंकमा यी दुई खाता खोलिएको हुनसक्ने स्रोतले बताएको छ । उक्त खाताको प्रकृति हेर्दा नेपालमा मनी ट्रान्सफर गर्न खाता खोलिएको बैंकको कागजातमा उल्लेख गरिएको छ ।

अधिकारीमाथि छानबिन गर्न गठित समितिले अष्ट्रेलियाको बैंकमा खोलिएको खाताको विषयमा समेत गम्भीर अनुसन्धान सुरु गरेको छ । नेपालमा भ्रष्टाचार गरेको रकम विदेशी बैंकमा खाता खोलेर जम्मा गर्ने र एनआरएनको लगानी भनेर नेपाल भित्र्याउने काम पछिल्लोपटक फस्टाएको छ । यसरी नेपालको कालोधन विदेश पु¥याउने र त्यही कालोधनलाई नेपाल ल्याउँदा अजय सुमार्गी, पृथ्वी शाहले समस्या झेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्