Logo
Logo

म्याग्दीका प्रमुख सडक अलपत्र


189
Shares

फाइल फाेटाे ।

म्याग्दी । ठेकेदारको लापरवाही र सरोकारवालाको उदासिनताका कारण म्याग्दीका रणनीतिक महत्वका २ सडक अलपत्र परेका छन् ।

सडक स्तरोन्नति नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । सर्वसाधारणले केही दिनअघि हिलाम्ये बनेको सडकमा धान रोपेर विरोधसमेत जनाएका थिए ।

प्रदेशसभा निर्वाचन क्षेत्र (ख) अन्तर्गत बेनी–लाम्पाटा–दरबाङ सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने योजना र क्षेत्र (क) अन्तर्गत गलेश्वर–पिप्ले–भगवती हुँदै बेगखोला सडक स्तरोन्नति गर्ने योजना अलपत्र परेका हुन् । यी दुईवटै सडकको स्तरोन्नति, ३ वर्षअघि थालिएको थियो । तर सडकको अवस्था झन नाजुक बनेको छ ।

यी गण्डकी प्रदेश सरकारका ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गतका सडक योजना हुन् । यी दुवै सडक भौतिक पूर्वाधार कार्यालय म्याग्दीमार्फत कार्यान्वयन भइरहेको छ । निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी काम छाडेर सम्पर्कविहीन भएका छन् ।

२०७६ सालमा भौतिक पूर्वाधार कार्यालयले गलेश्वर–बेगखोला सडक कालोपत्र गर्न एपेक्स–खड्का कृष्ण जेभीसँग १८ करोड ४१ लाखमा सम्झौता गरेको थियो । योजनामा अहिलेसम्म ६९ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए ।

निर्माण व्यवसायीलाई कार्यस्थलमा फर्किएर सडक निर्माण सुरु गर्न पटक–पटक निर्देशन दिए पनि अटेरी गरेको उनको भनाइ छ । यस्तै मङ्गला गाउँपालिका–१ लाम्पाटाबाट दरबाङसम्म स्तरोन्नतिसहित कालोपत्र गर्न कार्यालयले बिरुवा–क्याराभान जेभीसँग २०७६ जेठ २७ गते ठेक्का सम्झौता गरेको थियो ।

२२ करोड ५७ लाखमा ठेक्का सम्झौता गरिएको योजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो । निमित्त प्रमुख अधिकारीले फोन र पत्रमार्फत निर्माण व्यवसायीलाई ताकेता गरिए पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको बताए यो सडकमा हालसम्म करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको मङ्गला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्