Logo
Logo

चापागाउँ सडक एक महिनादेखि बन्द, हजारौ यात्री सास्ती खेप्न बाध्य


567
Shares

चापागाउँ । दक्षिण तथा मध्यललितपुरको केन्द्र चापागाउँ सडक विगत एक महिनादेखि ढलानको काम भइरहेकाले बन्द छ । ललितपुरको ७५ प्रतिशत भूभागको केन्द्र चापागाउँ बजारमा एक महिनादेखि यातायातका साधन चल्न नसक्दा हजारौ यात्री सास्ती खेप्न बाध्य छन् ।

एकैपटक तीन ठाउँबाट सडक ढलान गर्न सकिने अवस्था भए पनि ठेकेदारको ढिलासुस्तीका कारण अस्तव्यस्त यहाँको दैनिकी झन् झन् कष्टकर बनिरहेको हो । एकैपटक कम्तीमा दुई ठाउँबाट सुरु गरेर दिनरात काम गरे दुई हप्तामा काम सकिने स्थानीय राजन महर्जन बताउछन् ।

उनी भन्छन्, ‘असक्षम ठेकेदारले काम पाएपछि हामीले सास्ती पायौं ।’ स्थानीय मुख्य सडकको कछुवा हिँडाइ भएको स्थानीय मनिपाल कर्माचार्य गुनासो गर्छन् । ‘सडक बनाउँदा खरायो हिँडाइ हुनुपर्ने हो,’ उनले भने ।

चापागाउँको ज्योति विहारदेखि टुसालसम्म सात सय मिटर सडक ढलान गर्न महिनौ लाग्ने अवस्था देखिएको छ । सडक ढलान सुरु भएपछि टाहाखेलमा रहेको बसपार्क अहिले झ्यालीपाटी सडकमा सरेको छ । लेले-टीकाभैरवको बस छम्पी हुँदै लगनखेल जाने गरेको छ ।

टाहाखेल, झरुवारासी,चारघरे, न्यौपानेगाउँलगायतका यात्रु बस चढ्नकै लागि ४५ मिनेटसम्म हिँडेर आउजाउ गर्नुपर्ने बाध्यता छ । सडक विभागले करिब चार करोड रुपैयाँमा लगाएको सडक नवजानुका जेभीले ठेक्का पाएको हो ।

प्रतिक्रिया दिनुहोस्