Logo
Logo

व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा


252
Shares

दमौली । व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

Doctor preparing the coronavirus COVID-19 vaccine. Details of hands and syringe.

नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका आठ सय २७ बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । १६ महिनादेखि २३ महिनासम्मका सात जना बालबालिकाले खोप लगाउन छुटेकामा उनीहरुलाई पनि यही अवधिमा पूर्ण खोप लगाइएको सोतीले बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले घोषणा मात्रै ठूलो कुरा नभएकाले यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । “पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि नगरपालिका प्रतिबद्ध छ,” उनले भने ।

जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रक्रिया अगाडी बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि घिरिङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । भानु नगरपालिका, आँबुखैरेनी कार्यालय, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिकाले पूर्ण खोप सुनिश्चित घोषणाका लागि कार्यालयलाई अनुरोध गरेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

व्यास नपाद्वारा वडा विपद् समिति पुर्नगठन

व्यास नगरपालिकाले वडा विपद् समिति पुर्नगठन गर्ने निर्णय गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले कार्यविधि अनुसार वडा विपद् समिति पुर्नगठन गर्ने निर्णय गरेको हो । वडा विपद् समितिको संयोजकमा सम्बन्धित वडाका अध्यक्ष रहने व्यवस्था छ ।

बैठकमा व्यास नगरपालिका भित्र हालै आएको बाढी पहिराबाट भएको क्षति र तत्काल सम्बोधन गर्नुपर्ने वडागत विवरणको समिक्षा गरिएको छ । साथै वर्षात्को समयमा सतर्क रहन र कुनै विपद्जन्य समस्या भएमा ०६५–५६००३४ मा तत्काल सूचना दिन समेत नगरवासीमा अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । बैठकमा व्यास नगर सभामा प्रस्तुत बजेट कार्यक्रममा आएका औपचारिक अनौपचारिक सुझावहरुका सम्बन्धमा समिक्षा गरी आगामी नगर सभामा संशोधन प्रस्ताव पेश गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्